निर्देशक देव मनेरियाले अहिल्याबाई होल्करको जीवनमा आधारित फिल्म सन् २०२६मा ल्याउने तयारी गरेका छन्, मुख्य भूमिकामा अनुष्का शेट्टीको चर्चा बढेको छ।
What you should know
काठमाडौँ — भारतीय बक्स अफिसमा पछिल्लो समय 'बायोपिक' फिल्महरूको लहर नै चलेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीदेखि छत्रपति साम्भाजी महाराजसम्मका कथा पर्दामा आइसकेका छन् ।
साम्भाजी महाराजको जीवनमा आधारित विक्की कौशलको फिल्म 'छावा' ले सन् २०२५मा राम्रो चर्चा कमायो । बलिउडमा फेरि अर्को ऐतिहासिक पात्रको जीवनीमा आधारित फिलम बन्ने भएको छ।
इन्दौरकी प्रतापी महारानी अहिल्याबाई होल्करको ३००औँ जन्मजयन्तीको अवसर पारेर निर्देशक देव मनेरियाले उनको बायोपिक बनाउने घोषणा गरेका हुन् ।
फिल्मलाई सन् २०२६मा प्रदर्शन गर्ने तयारी गरिएको छ ।
फिल्मको घोषणासँगै मुख्य भूमिकामा कसले अभिनय गर्ला भन्ने कौतूहल बढेको छ ।
निर्देशक मनेरियाका अनुसार यस भूमिकाका लागि दक्षिण भारतीय चर्चित अभिनेत्री अनुष्का शेट्टीसँग कुराकानी भइरहेको छ । यद्यपि, निर्माण पक्षले आधिकारिक रूपमा उनलाई साइन गरिसकेको छैन ।
'बाहुबली २' जस्तो ब्लकबस्टर फिल्मकी मुख्य अभिनेत्री अनुष्काले यसअघि 'अरुन्धती', 'रुद्रमादेवी' र 'बाहुबली' का दुवै भागमा सशक्त भूमिका निर्वाह गरिसकेकी छन् ।
फिल्मको प्रि-प्रोडक्सनको काम धमाधम भइरहेको छ । निर्देशक देव मनेरिया र अभिनेत्री डैजी शाहले हालै सुटिङ लोकेसनका लागि वाराणसीको भ्रमण गरेका छन् ।
फिल्म धेरैजसो वाराणसीमा खिचिनेछ । केही भागहरू प्रयागराज, लखनऊ र कथाको मौलिकताका लागि मध्य प्रदेशको इन्दौरमा पनि छायांकन गरिनेछ ।
यस फिल्ममा निर्देशक देव आफैँले अहिल्याबाईका पति खण्डेराव होल्करको भूमिका निभाउनेछन् ।
अहिल्याबाई होल्कर इन्दौरकी राजमाता र रानी थिइन् । उनलाई कुशल प्रशासक, न्यायप्रेमी र समाजसेवामा समर्पित शासकका रूपमा चिनिन्छ ।
