लाइभ कन्सर्टमार्फत् विभिन्न सहर घुम्दै ‘कुमारी’ टिम 

माघ १ देखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा केहरसिं लिम्बु र ब्यान्डको प्रस्तुति सहित कन्सर्ट हुने भएको छ ।

पुस ९, २०८२

कान्तिपुर संवाददाता

'Kumari' team touring various cities with live concerts

काठमाडौँ — दिनेश राउत निर्देशित नयाँ फिल्म  ‘कुमारी’ आगामी माघ २३ गते रिलिज हुँदैछ । प्रेमकथामा आधारित यो फिल्ममा  मुख्य भूमिकामै नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारी छन् ।

दिनेशले यसपटक प्रचारप्रसारको नयाँ विधि अपनाएका छन् । देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने उनले बताएका छन् । उनी भन्छन्, ‘संगीतमार्फत् दर्शकसँग प्रत्यक्ष जोडिने अवसर पाउँछौँ । त्यसकारण हामीले कन्सर्ट शृङ्खला गर्न खोजेका हौँ ।’

कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि २३ गतेसम्म दाङ, पोखरा, काठमाडौं, नेपालगन्ज, चितवन र धरानमा कार्यक्रम हुने तालिका सार्वजनिक गरिएको छ ।

यी सबै कन्सर्टमा चलचित्रका प्लेब्याक गायक केहरसिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले लाइभ प्रस्तुति दिनेछ । यसअघि दुई गीतहरू 'कता छौ ...' र ‘तिमी बिना …’ सार्वजनिक भइसकेका छन् । 

निर्देशक राउतले ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्र निर्देशन गरिसकेका छन् । त्यसपछि उनले सामाजिक मुद्दाका कथाहरू ‘प्रसाद’, ‘प्रकाश’ ‘पुजार सार्की’, ‘महाभोज’मार्फत् भने ।

‘कुमारी’मार्फत् फेरि उनी प्रेमकथामै फर्किए । फिल्ममा अभिषेक र आकृतिसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मालगायत कलाकारको पनि अभिनय छ ।

कान्तिपुर

Link copied successfully