चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मीको असन्तुष्टि

विशेषगरी कार्यविधिको सातौं बुँदामा उल्लेख महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियमप्रति उनीहरुले आपत्ति जनाएका हुन् ।

पुस ८, २०८२

रासस

Filmmakers' dissatisfaction with film screening procedures

What you should know

काठमाडौँ — केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गत पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’प्रति चलचित्रकर्मीले असन्तुष्टि जनाएका छन् ।

सो कार्यविधिको सातौँ बुँदामा उल्लेख भएको महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई समेत जाँच गर्नुपर्ने नियम प्रति उनीहरुले आपत्ति जनाएका हुन् । 

उक्त बुँदामा लेखिएको ‘समितिले चलचित्र जाँच गरी प्रदर्शन गर्न अधिकार प्रत्यायोजन गरेको अवस्थामा बाहेक समितिबाट जाँचपास भएका चलचित्र मात्र महोत्सवमा प्रदर्शन गर्न पाइनेछ’ प्रति असन्तुष्टि व्यक्त गर्दै चलचित्रकर्मीले यसलाई सच्याउनुपर्ने धारणा राखेका छन् । चलचित्र निर्देशक केपी पाठकले नयाँ कार्यविधिले अन्तरराष्ट्रिय चलचित्र महोत्सवलाई असर पुर्‍याउने बताए ।

'महोत्सवमा सहभागी हुने चलचित्र विश्वभर जाँच पास हुँदैनन्, त्यो त सार्वजनिक प्रदर्शनका लागि लिइने इजाजत हो । यो प्रावधानले नेपालमा हुने अन्तरराष्ट्रिय चलचित्र महोत्सवलाई प्रत्यक्ष असर गर्छ,' निर्देशक पाठकले भने ।

चलचित्र निर्माता रामकृष्ण पोखरेलले चलचित्रको जाँचको सट्टा वर्गीकरण गर्ने नियम हुनुपर्ने बताए । 'अधिकांश देशमा चलचित्रलाई जाँच गर्ने नाममा काट्नुको सट्टा वर्गीकरण गरिन्छ । उक्त चलचित्र हेर्न बन्देज गरिएको उमेर समूहमा निगरानी बढाइन्छ तर नेपालमा महोत्सवमा प्रदर्शन हुन् आउने चलचित्रलाई जाँच गर्ने नियम ल्याइएको छ । यसले दीर्घकालीन रुपमा घाटा नै गर्छ,' उनले भने ।

नयाँ कार्यविधिमा ‘चलचित्रसँग सम्बन्धित प्रचलित कानुनको पूर्ण पालना गर्दै’ स्वयंले जाँच गर्ने पद्दतिको विकास गर्ने (सेल्फ सेन्सरसिप) लाई प्रोत्साहन गर्ने कुरा पनि उल्लेख छ । तर, कार्यान्वयनमा आएको नयाँ कार्यविधिले चलचित्रकर्मीलाई प्रोत्साहन नगर्ने चलचित्र समीक्षक समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाको भनाइ छ ।

'हामीले चलचित्रलाई प्रवद्र्धन गर्न अन्तरराष्ट्रिय महोत्सव निकै आवश्यक छ । त्यहाँ विश्वभरका चलचित्रकर्मी एकठाउँमा आएर आफ्नो देश चिनाउने सिर्जना प्रस्तुत गर्छन् । हामीले चलचित्र जाँचसम्बन्धी कानुन बनाउँदा अन्तरराष्ट्रिय अभ्यास पनि बुझ्नुपर्थ्यो,' उनले भने, 'अहिलेको अवस्थामा चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने कार्यविधि ल्याउनुपर्ने हो, तर चलचित्रकर्मीले नै असन्तुष्टि व्यक्त गरेकाले त्यसमा पूर्णविचार गर्नु नै उत्तम हो ।'

नयाँ कार्यविधि कार्यान्वयनमा आएसँगै यसअघिको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’ खारेज गरिएको छ । 

रासस

Link copied successfully