भारतमा कमेडियनहरूमाथिको बढ्दो धरपकडलाई पनि ठट्यौलो शैलीमा प्रस्तुत गरेका गुप्ताले पप कल्चरका चर्चित टीभी सो र फिल्महरूमाथि व्यंग्य गरेका थिए ।
What you should know
काठमाडौँ — पछिल्लो समय 'स्ट्यान्डअप कमेडी' अर्थात प्रत्यक्ष हास्य प्रस्तुतिकाे ख्याति नेपालमा बढ्दै गइरहेका बेला चर्चित भारतीय कमेडियन रवी गुप्ताले काठमाडौँमा आफ्नो प्रस्तुति दिए । शनिबार साँझ, प्रज्ञा प्रतिष्ठानमा खचाखच भरिएको दुई सो गरेका उनको प्रस्तुतिमा नेपालमा भएको जेन-जी प्रदर्शनको प्रसंग बाक्लै सुनियो ।
रवी मात्र नभएर उनका सहकर्मी सौरभ पाण्डेले पनि नेपालको राजनीतिक र सामाजिक पक्षहरूमा जेन-जीहरूको प्रभावबारे ठट्यौली शैलीमा प्रशंसा गरे । रवीले मञ्जमा उक्लनेबित्तिकै जेन-जी प्रदर्शनका कारण आफूले नेपालमा कार्यक्रम गर्न तीन महिना कुर्नुपरेको र अन्य देशका जेन-जीहरू नेपालका जस्तो आँटिलो नभएको बताए ।
विशेषगरी भारत र नेपालका पनि कतिपय विषयमा व्यंग्य गरेका गुप्ताको प्रस्तुति हेर्नेमा अधिकांश संख्या युवाहरूकै थियो । ‘कल कि चिन्ता नही कर्ता’ शीर्षकमा आयोजित कार्यक्रम खल्ती इभेन्ट्स र पिनाकल इन्टरटेन्मेन्टले व्यवस्थापन गरेका थिए । यसअघि व्यक्तीगत रूपमा नेपाल घुम्न आएका गुप्ताले यहाँको खानेकुरा र संस्कृतिको प्रशंसा गरेका थिए भने गएको बर्खा याममा खण्डवृष्टि हुँदा आफ्नो प्लेटको आधा भाग म:म नै भिजेको भन्दै ठट्टा गरे । नेपालीले हिन्दी बोल्ने शैली स्वादिलो लागेको भन्दै उनले आफ्नो चिरपरिचित व्यंग्य लवजमा आफ्ना नेपाली प्रशंसकसँगका केही रोचक संवाद सुनाए ।
विगत एक दशकदेखि स्ट्यान्ड अपमा सक्रिय रहेका गुप्ता भारतमा अहिले सबैभन्दा चर्चित कमेडियनमध्ये एक हुन् । आफ्नो यात्राको क्रममा भ्लगिङसमेत गर्न रुचाउने उनका प्रस्तुतिहरू स्थानीय विषय र शुद्ध हिन्दीमा हुने गर्छन् । उत्तर प्रदेशको प्रतापगढमा जन्मिएका र हाल दिल्ली बस्ने गुप्ता विशेषगरी आफ्नो नरम स्वभाव र दैनिक जीवनका सरल विषयहरूलाई हँसिलो ढंगले प्रस्तुत गर्ने कलाका लागि चिनिन्छन् ।
उनको एउटा भिडियो क्लिप ‘मे कल की चिन्ता नहीँ करता’ (म भोलिको चिन्ता गर्दिनँ) सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनको शैलीलाई ‘अब्जरभेसनल कमेडी’ भनिन्छ । गुप्ताको युट्युब च्यानलमा करिब २० लाख सब्स्क्राइबर र इन्स्टाग्राममा ३८ लाखभन्दा बढी फलोअर्स छन् । उनका भिडियो नेपालमा पनि चर्चित छन् ।
रवीजस्ता इन्टरनेटमा भाइरल भएका कयौँ भारतीय स्ट्यान्ड-अप कमेडियन पछिल्लो समय नेपालमा पनि कार्यक्रमका लागि आउन थालेका छन् । गत जनवरीमा अनुभव सिंह बस्सीले प्रज्ञामै ‘किसि को बताना मत्’ शीर्षकको कार्यक्रम गरे । त्यसअघि अविशेषक उपमन्युले ‘टक्सिक’ नामक आफ्नो चर्चित श्रृंखला काठमाडौँमा गर्दा टिकेट सोल्ड-आउट भएको थियो । जाकिर खान, कनन गिलजस्ता कमेडियन पनि नेपालमा आएका छन् ।
नेपालमा अझै पनि स्ट्यान्ड-अप कमेडी शहरी क्षेत्रको निश्चित जमातमा सिमित रहँदै आएको छ । भारतमा भने यो एउटा उद्योगकै रूपमा बिकसित भइसकेको छ । यसले मानिसको जीवनशैली, विज्ञापन बजार र सामाजिक विमर्शमा समेत प्रभाव पार्न थालेको छ । स्ट्यान्ड-अपका लागि अहिले ‘विशेष युग’ सरह रहेको कतिपयले विश्लेषण गर्ने गरेका छन् ।
अमेजन प्राइम, नेटफ्लिक्स ओटीटी प्लाटफर्महरूले भारतीय स्ट्यान्ड-अप सो र कमेडियनमा ठूलो लगानी गरिरहेका छन् । हिन्दी र अङ्ग्रेजीबाहेक मलयालम, तमिल, मराठी, पञ्जावी, बंगोलीजस्ता भारतका क्षेत्रीय भाषामा पनि स्यान्ड-अप गर्ने लहर चलेको छ । कमेडियनहरूले टिकेट बिक्री, युट्युब एड, ब्रान्ड साझेदारी, अन्तराष्ट्रिय कार्यक्रम, प्राइभेट कर्पोरेट प्रस्तुति लगायतबाट पनि आम्दानी गर्ने गरेका छन् ।
भारतीय स्ट्यान्ड-अप कमेडिका लागि ‘ग्लोबल एम्बासडर’ वा विश्वव्यापी दूतसरह मानिने चर्चित कमेडियन वीर दासलाई भारतीय हास्यव्यंग्य र अन्तर्राष्ट्रिय दर्शकबीचको सेतुका रूपमा पनि लिइन्छ । सन् २०२३ मा उनले कमेडी विधाबाट इन्टरनेसनल इमी अवार्डसमेत जितेका थिए । त्यसअघि सन् २०२१ मा अमेरिकाको जन एफ केनेडी सेन्टरमा भारतमा विद्यमान धार्मिक रुढिवाद, बढ्दो राजनीतिक कट्टरता र महिलामाथि हुने हिंसा लगायत विषयमा व्यंग्दा गरेपछि उनीमाथि भारतमा मुद्दासमेत दायर भएको थियो ।
भारतमा स्ट्यान्ड-अप कमेडियनहरूले आफ्नो हास्यव्यंग्य प्रस्तुतिका कारण कानुनी झमेला र आक्रमणको सामना गर्ने क्रम बढेको छ । वीर दाससँगै कुनाल काम्रा, तन्मय भट्ट, समय रैना, रणवीर अलाहवादिया लगायतले आफ्ना प्रस्तुतिकै कारण बारम्बार प्रहरी प्रशासनको सामना गर्नु परेको छ । साथै, केही समयअघि भारतीय जनता पार्टीका कार्यकर्ताहरूले कुनाल काम्राको कार्यक्रम छायांकन स्थल नै तोडफोड गरिदिएका थिए ।
आफ्नो प्रस्तुतिमा रवीले पनि हास्यव्यंग्यलाई रमाइलो रूपमा बुझिदिन र उजुर नगर्न आग्रह गरेका थिए । भिडियो खिचेर सामाजिक सञ्जालमा नहाल्न अनुरोध गर्दै उनले ठट्टाकै तालमा भने, ‘भिडियो हालिदिनु भयो भने तपाईंहरू त हाँसेर घर जानु हुन्छ, म भने अन्तै जानुपर्ने हुनसक्छ । दर्शकलाई पनि कलाकारसँगै झ्यालखाना लगेको त कतै सुनिएको छैन ।’
