गोविन्दा अभिनित ‘रंगीला राजा’ फिल्म १९ करोड लागतमा बनेको भए पनि बक्स अफिसमा जम्मा १८ लाख मात्र कमाएर पूर्णरूपमा असफल भयो ।
What you should know
काठमाडौँ — अभिनेता गोविन्दाले ८० को दशकको मध्यतिर बलिउडमा पाइला टेके । ९० को दशकमा त ठूलो पर्दामा उनले एकछत्र राज गरे ।
नृत्य, कमेडी र अभिनय तिनवटै कुरामा उनी प्रसिद्ध थिए । करिअरभरि एकपछि अर्को सफल फिल्म दिएका गोविन्दाको एउटा फिल्म भने यस्तो पनि रह्यो, जसले बक्स अफिसमा बजेटको एक प्रतिशतसमेत कमाउन सकेन ।
आज गोविन्दा आफ्नो ६२औँ जन्मदिन मनाउँदै छन् । यो घडीमा गोविन्दा आफ्नो सबैभन्दा सुपरहिट र फ्लप फिल्मबारे सम्झिन्छन् ।
६ वर्षअघि हलमा रिलिज भएको फिल्म ‘रंगीला राजा’ कहिले आयो, गयो यसबारे दर्शकले नै चाल पाएनन् । बक्स अफिसमा असफल भएपछि गोविन्दाले त्यसपछि कुनै पनि नयाँ फिल्ममा काम गरेनन् ।
गोविन्दाको जन्म अभिनेता अरुण कुमार आहूजा र गायिका निर्मला देवीको परिवारमा सन् १९६३ डिसेम्बर १ मा मुम्बईमा भएको थियो ।
सन् १९८६ मा अभिनय यात्रा सुरु गरेका गोविन्दाको करिअरको सबैभन्दा ठूलो फ्लप फिल्म नै ‘रंगीला राजा’ हुन पुग्यो । यो फिल्म सन् २०१९ मा रिलिज भएको थियो ।
‘रंगीला राजा’ का निर्माता पहलाज निहलानी हुन् भने निर्देशन पहलाज निहलानी र सिकन्दर भारतीले संयुक्त रूपमा गरेका थिए ।
फिल्ममा गोविन्दासँगै मिशिका चौरसिया, अनुपमा अग्निहोत्री, शक्ति कपूर, दिगांगना सूर्यवंशी र महेश आनन्दजस्ता कलाकारको अभिनय रहेको थियो ।
फिल्म निर्माणमा करिब १९ करोड रुपैयाँ खर्च गरिएको थियो । तर बक्स अफिसमा यो फिल्मले जम्मा १८ लाख रुपैयाँ मात्र कमायो ।
यसपछि गोविन्दाले फिल्म उद्योगबाट दुरी बनाएका थिए ।
