बलिउड फिल्म ‘धुरन्धर’मा हिंसात्मक दृश्यको अत्यधिक प्रयोग र कमजोर कथावाचनका कारण दर्शकको ध्यान बाँध्न असफल देखिएको छ ।
What you should know
काठमाडौँ — के तपाईंले कहिल्यै प्रेसर कुकर पड्केको दृश्य नियाल्नु भएको छ ? कुकर पड्किँदाको विध्वंश कल्पनुस् त । ढक्कन एकातिर, कुकर अर्कोतिर । कुकरभित्रको खानेकुरा सिलिङदेखि भूइँभरि छरपष्ट । यत्रतत्र कुकरका टुक्रा । कुकर पड्केजसरी यदि मानिस बमले पड्किँदो हो त कति टुक्रामा बाँडिने हुन् ? त्यसभित्रको खानेकुरा उछिट्टिएझैं शरिर चोइटिएर टुक्रा-टुक्रा हुँदाको दृश्य कति बीभत्स देखिन्छ होला ?
अहिले चर्चामा रहेको हिन्दी फिल्म 'धुरन्धर'मा यस्ता थुप्रै दृश्य छन् । जहाँ मानिस कहिले गोलीको छर्राजसरी टुक्रिन्छन् त कहिले प्रेसर कुकर पड्केजसरी पड्किन्छन् । इँट्टाले किरा मारेझैं मान्छे मारेको दृश्य त कति-कति ! तर, निर्देशक आदित्य धरले ती दृश्यलाई निकै बीभत्स ढंगले देखाएका छन् । कति दृश्य त हेर्नै नसकिने पनि छन् ।
फिल्मको सबैभन्दा बिझाउने पाटो नै यही हो । हुन त बलिउडले यस किसिमको फिल्म नबनाएका होइनन् । तर, रणवीर कपुरको 'एनिमल'पछि एक्सन विधामा यसरी हिंसात्मक दृश्य कसले बढी देखाउने भन्ने होडबाजी चलेको देखिन्छ । त्यसैको निरन्तरता हो रनवीर सिंह अभिनित 'धुरन्धर' पनि । जहाँ यस किसिमको हिंसात्मक दृश्यलाई अतिरञ्जनासहित देखाइएको छ ।
फिल्ममा यस्तो दृश्य देखाउन मिल्दैन भन्ने होइन । तर त्यसैलाई पनि सिर्जनशील र कलाका माध्यमबाट देखाउने शक्ति फिल्ममा हुन्छ । तर, निर्देशक अदित्यले कलाको त्यो सौन्दर्यलाई छोएका छैन । हिंसाका दृश्यलाई अतिरञ्जना गर्दा पनि यो फिल्म साँढे तीन घण्टामा लम्बिएको छ । निर्देशकले यस्ता एक्सन दृश्यको अतिरञ्जनामा भन्दा फिल्मको कथा, पात्रहरुको स्थापना र कथाको अवतरणमा ध्यान पुर्याइदिएको भए फिल्मले दर्शकको ध्यान बाँध्ने थियो ।
फिल्ममा हिंसाका दृश्य अनावश्यक रुपमा तन्काइएको छ । फिल्मको कथा पनि नौलो होइन । भारत पाकिस्तानबीचको दुष्मनी, बदला र देशभक्ति । आदित्यले त्यसमाथि 'अन्डरवर्ल्ड'को दुनियाँ थपिदिएका छन् । 'अन्डरवर्ल्ड'लाई पनि पाकिस्तानमै केन्द्रित गराएका छन् । जे होस्, अधिकांश देशभक्तिपूर्ण हिन्दी फिल्ममा झैं 'धुरन्धर'मा पनि पाकिस्तानलाई नै आपराधिक अखडाको रुपमा चित्रण गरिएको छ । हिंसा, अपराध र गुन्डागर्दी सबै पाकिस्तानमा हुन्छ, भारतीय नागरिक भने सँधै देशको रक्षाका लागि कटिबद्ध ।
निर्देशक आदित्यले पाकिस्तानसँग भारतको बिग्रिएको सम्बन्ध देखाउन सन् १९९९ को कांन्धार विमान अपरहरणको पृष्ठभूमी देखाएका छन् । पाकिस्तानले बन्दी बनाएको भारतीय नागरिक जोगाउन भारतले कुख्यात अपराधिलाई छोड्नु परेको घट्नाबाटै 'धुरन्धर'को कथा अगाडि बढ्छ । विमान अपहरण र त्यसपछिको सम्झौतासँग बदला लिन भारतीय इन्टिलिजेन्स प्रमुख अजय सन्याल(आर माधवन)ले पाकिस्तानको अन्डरवर्ल्डभित्र भारतीय जासुस हम्जा अली(रणवीर सिंह)लाई पठाउँछन् ।
विमान अपहरणसँगै भारतमाथि गरेका विभिन्न आक्रमणका विभत्स दृश्य देखाउँदै पाकिस्तानलाई उनकै भूमिमा मूल्य चुकाउने बाध्य बनाउन सन्यालले यो योजना रचेका हुन्छन् । त्यसै अनुरुप हम्जा पाकिस्तानको कराँची पुग्छन् । हम्जाको पाकिस्तान प्रवेशसँगै अन्डर्वल्ड र त्यहाँका गुन्डाहरुका कथा उघारिँदै जान्छ । तर, थुप्रै चरित्र, अनेकौं घट्ना र उपकथालाई जोड्न खोज्दा फिल्मको कथा अपूरो बनेको छ ।
रणवीर र रहेमान डकैत(अक्षय खन्ना)बाहेक अन्य पात्रहरुलाई फिल्ममा राम्रोसँग स्थापना नै गरिएको छैन । अन्डरवर्ल्डका अरु गुन्डाको पृष्ठभूमी फिल्ममा राम्रोसँग खुलाइँदैन । रहेमान डकैतमार्फत अन्डरवर्ल्डको दुनियामा हम्जा पुग्छन् । तर, त्यहाँ समानन्तर ढंगले प्रत्येक गुन्डाका कथा, व्यवसाय र राजनीतिप्रतिको झुकाव देखाइन्छ । तर, कुनै पनि चरित्रलाई फिल्मको मुख्य कथामा खासै केन्द्रित गराइएको छैन ।
एकैपटक धेरै कुरा भन्न खोज्दा कथा निकै अधुरो बनेको छ । कुन गुन्डा कुन पार्टीबाट उठ्दैछन् भन्ने नै पत्तो हुँदैन । फिल्मको सिक्वेलका लागि मुख्य चरित्र हम्जाकै पृष्ठभूमिलाई पनि अधुरो बनाइएको छ । फिल्मको अन्त्यमा उनीसँग जोडिएको प्रेमिका कहाँ पुग्छन्, अरु गुन्डा कहाँ पुगे केही देखाइँदैन । कथा वाचनमा गरिएको यस किसिमको लापरवाही यसअघि ‘उरी’ र ‘आर्टिकल ३७०’जस्ता फिल्ममा संलग्न भइसकेका निर्देशक आदित्यबाट अपेक्षा गरिएको थिएन ।
पहिलाका फिल्ममाझैं पाकिस्तानको चित्रणमा निर्देशक आदित्यले त्यो संवेदनशिलता पक्रेका छैनन् । पाकिस्तानलाई निकै असुरक्षित, हिंसात्मक र अपराधका हरेक गतिविधिसँग जोडिदिँदै त्यही परम्परागत शैलीमा नकरात्मक चित्रण गरिएको छ । तर, रोचक पक्ष यो फिल्ममा पाकिस्तानी पात्रका रुपमा चित्रण भारतीय कलाकारको अभिनयले भने फिल्ममा दर्शकलाई बाँधेर राख्ने प्रयास भएको छ ।
जासुस बनेका रणवीर सिंहको भावभंगी, बोलीचालीमा कहिलेकाहीँ पद्मावतको ‘खिल्जी’ झल्किए पनि अधिकांश दृश्यमा सिंहले आफूलाई चरित्र सुहाउँदो अभिनयमा अब्बल ठहराएका छन् । डकैतजस्तो खुंखार गुन्डाका रुपमा अक्षय खन्नाले गरेको अभिनय निकै दमदार छ ।
अर्जुन रामपालदेखि छोटो भूमिकामा देखिएका आर माधवनले ती चरित्रलाई पर्दामा सजिव बनाइदिएका छन् । पाकिस्तानीलाई निकै खराब चित्रण गरिए पनि यी कलाकारले ती चरित्रलाई असल तरिकाले निभाएका छन्, फिल्मको सकरात्मक पाटो यही हो ।
