‘अस्कर’को उत्कृष्ट १५ मा छानिएको ‘होमबाउन्ड’को चर्चा

करिब २५ करोड बजेटमा बनेको भारतीय फिल्म ‘होमबाउन्ड’ले अपेक्षित कमाइ गर्न नसके पनि अस्कर अवार्ड्सको उत्कृष्ट १५ मा छानिन सफल भएको छ

पुस २, २०८२

कान्तिपुर संवाददाता

Discussion of 'Homebound' selected in the 'Oscar's' top 15

What you should know

काठमाडौँ — अहिले भारतीय फिल्म ‘होमबाउन्ड’ फिल्म पारखी दर्शकमाझ रुचाइएको छ । व्यावसायिक हिसाबमा भन्दा पनि समीक्षात्मक हिसाबमा फिल्मको चर्चा चुलिँदै गएको छ ।

विशाल जेठवा, ईशान खट्टर र जान्हवी कपूर अभिनित यो फिल्म ९८औँ एकेडेमी अवार्ड्स (अस्कर) अन्तर्गत बेस्ट इन्टरनेशनल फिचर फिल्म विधामा टप–१५ मा पर्न सफल भएको छ ।

विश्वभरबाट सहभागी ८६ फिल्ममध्ये ‘होमबाउन्ड’ उत्कृष्ट १५ मा छानिएको हो । यस सूचीमा अर्जेन्टिनाको ‘बेलेन’, ब्राजिलको ‘द सिक्रेट एजेन्ट’, फ्रान्सको ‘इट वाज जस्ट एन एक्सिडेन्ट’, जर्मनीको ‘साउन्ड अफ फलिङ’, जापानको ‘कोकुहो’, दक्षिण कोरियाको ‘नो अदर च्वाइस’, नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’, स्पेनको ‘सिरात’ लगायतका फिल्म पनि छन् ।

नीरज घायवानद्वारा लिखित तथा निर्देशित ‘होमबाउन्ड’ २६ सेप्टेम्बर २०२५ मा प्रदर्शनमा आएको थियो ।

न्यूयोर्क टाइम्समा २०२० मा प्रकाशित बशारत पीरको लेखमा आधारित यो ड्रामा फिल्मलाई करण जोहरको धर्मा प्रोडक्सन्सले निर्माण गरेको हो ।

फिल्मले राष्ट्रिय प्रहरी परीक्षाको तयारीमा जुटेका बाल्यकालका दुई साथीको कथा भन्छ । फिल्ममा ईशान खट्टर मोहम्मद शोएब अली, विशाल जेठवा चन्दन कुमार वाल्मिकी र जान्हवी कपूर सुधा भारतीको भूमिकामा देखिएका छन् । 

भारतीय सञ्चारमाध्यममा उल्लेख रिपोर्टअनुसार ‘होमबाउन्ड’को बजेट करिब २५ करोड रुपैयाँ थियो । तर बक्स अफिसमा भने फिल्मले अपेक्षित प्रदर्शन गर्न सकेन ।

फिल्मले भारतमा कुल २ करोड २३ लाख र विश्वभर २ करोड ६५ लाख रुपैयाँ मात्र कमाइ गर्न सक्यो ।

कमाइमा कमजोर देखिए पनि ‘होमबाउन्ड’ले अन्तर्राष्ट्रिय मञ्चमा भने आफ्नो उपस्थिति दरिलो बनायो । 

कान्तिपुर

Link copied successfully