अक्षय कुमारको करिअरको टर्निङ प्वाइन्ट बनेको ‘जानवर’ फिल्म अजय देवगनको हातबाट अन्तिम समयमा गुमेपछि उनी केही निराश भएका थिए ।
What you should know
काठमाडौँ — अजय देवगन हाल २०२६ मा रिलिज हुने फिल्महरुमा व्यस्त छन् । यो वर्ष मात्रै उनको चार फिल्म रिलिज भएका थिए ।
त्यसमध्ये दुई असफल भए भने दुईले राम्रो व्यापार गरे । अहिलेका निकै व्यस्त कलाकारका सुरुवाती दिनहरु कस्ता थिए त ?
अजयले २६ वर्ष अगाडिका एक किस्सा अहिले पनि बिर्सन सक्दैनन्, जहाँ उनी निश्चित भइसकेको फिल्म अक्षय कुमारले अन्तिम क्षणमै लिएर गए । अजय र अक्षय एक–अर्कालाई ‘दोस्त’ भन्ने कलाकार हुन् । तर सन् १९९९ मा रिलिज भएको फिल्म ‘जानवर’ का लागि भएको प्रतिस्पर्धाको प्रसँग भने आजसम्म चर्चामा छ ।
यो फिल्मका लागि न अजय पहिलो रोजाइ थिए, न अक्षय । सुनिल दर्शनले पहिलो प्रस्ताव सनी देओललाई गरेका थिए । सनीले फिल्म गर्न सहमति जनाए पनि, ‘लन्डन’ फिल्मलाई लिएर निर्माणपक्षसँग परेको विवादका कारण उनी बाहिरिए ।
सनीपछि सुनील दर्शनले अजय देवगनलाई ‘जानवर’ का लागि फाइनल गरिसकेका थिए । दुवैबीच भेटेर कानुनी कागजात साइन गर्ने तयारीसम्म पुगेको थियो । तर यही बीचमा निर्देशक सुनील दर्शनलाई अक्षय कुमारको फोन आयो ।
त्यतिबेला अक्षय कुमारको करिअर उस्तो चम्किलो थिएन । लगातार केही फिल्म असफल भएका थिए उनका । तर उनले ‘जानवर’ गर्न तीव्र इच्छा राखे । निर्देशक उनीबाट प्रभावित भए र अन्ततः अक्षयलाई फिल्ममा साइन गराए ।
सुनिल दर्शन र अक्षयबीच यसअघि कहिल्यै भेट पनि भएको थिएन । ‘जानवर’ रिलिजपछि फिल्म हिट भयो । अक्षय कुमारका लागि यो ‘टर्निङ प्वाइन्ट’ बन्यो। करिश्मा कपूर र शिल्पा शेट्टीसहितको यो एक्शन–थ्रिलरले अक्षयलाई नयाँ उचाइ दियो ।
यता अजय देवगन भने त्यो बेला फिल्म गर्न तयार भइसकेको अवस्थामा पनि अवसर हातबाट गएपछि अलि निराश भए । पछि अजयका दिन पनि फिल्म क्षेत्रमा चम्किन थाले ।
