बलिउड स्टार कार्तिक र 'द ह्वेल' निर्देशक एरोनोफ्स्कीको भिडियो सार्वजनिक भएपछि प्रशंसकहरूले उनीहरूको सहकार्यको पर्खाइमा चर्चा बढाएका छन् ।
काठमाडौँ — बलिउड अभिनेता कार्तिक आर्यन हलिउडका प्रख्यात तथा अस्कर विजेता फिल्ममेकर ड्यारेन एरोनोफ्स्कीसँग सहकार्य गर्ने चर्चा बलिउड सञ्चारमाध्यममा चुलिइरहेको छ ।
कार्तिकले आफ्नो सामाजिक सञ्जालमा एरोनोफ्स्कीसँगको अनौपचारिक भेटघाटको भिडियो सार्वजनिक गरेलगत्तै दुवैबीचको सहकार्यबारे चर्चा भइरहेको हो ।
‘ब्ल्याक स्वान’, ‘रेक्विम फर ए ड्रीम’, ‘द रेसलर’ र अस्कर–विजेता ‘द ह्वेल’ जस्ता फिल्मका निर्देशक एरोनोफ्स्कीले कार्तिकको पोस्टमा टिप्पणी गर्दै भने, ‘के हामी यहीँ हाम्रो सहकार्य घोषणा गर्न सक्छौँ ?’
उनको टिप्पणीले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया पायो ।
कार्तिकले जवाफमा इन्स्टाग्राम स्टोरीमार्फत् एरोनोफ्स्कीप्रति सम्मान व्यक्त गर्दै लेखे, ‘ब्ल्याक स्वान’ र ‘द ह्वेल’ मेरा मनपर्ने फिल्म हुन् । तपाईं साँच्चिकै एक लेजेन्ड हुनुहुन्छ । चियाको कपमा भएको हाम्रो भेट निकै सुखद् रह्यो । जे कुराको पर्खाइमा छु, अब रोकिन चाहन्न ।’
दुवैबीचको डिजिटल संवादले उनीहरूको सम्बन्ध मात्र हैन, कार्तिकको बढ्दो अन्तर्राष्ट्रिय उपस्थितिलाई पनि प्रष्ट पारेको छ ।
आकर्षक व्यक्तित्व, सरल स्वभाव र बलियो पर्दा उपस्थिति भएका कार्तिक आजका दिनमा भारतका लोकप्रिय र विश्वसनीय स्टारमध्ये पर्छन् ।
