२९ मंसीरसम्म चल्ने महोत्सवमा २६ देशका ५० फिल्म प्रदर्शन गरिने
What you should know
काठमाडौँ — १३ औं संस्करणको नेपाल मानवअधिकार चलचित्र महोसत्व बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव उद्घाटन गरे ।
बिहीबार ओपनिङ फिल्मका रुपमा 'विथ ग्रेस' देखाइएको छ । जुलिया दाहर र डिना विन्डीले निर्देशन गरेको यस वृत्तचित्रमा १३ वर्षकी एक बालिकाले देखेको परिवार, समाजको कथा देखाइएको छ । जलवायु परिवर्तनले कृषक परिवारमा पार्ने समस्या यसमा देखाइएको छ ।
दोस्रो दिनदेखि समापनसम्म सबै चलचित्रहरु चलचित्र विकास बोर्डको हलमा देखाइने कार्यक्रम छ । महोत्सवमा यसपटक 'बाल अधिकार' लाई मुख्य थिम मानिएको छ ।कान्स, बर्लिनाले, भेनिस र बुसानजस्ता प्रतिष्ठित
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागिता जनाइसकेका चलचित्रहरु यस महोत्सवमा प्रदर्शन गरिनेछन् । २९ मंसीरसम्म चल्ने महोत्सवमा २६ देशका ५० फिल्म प्रदर्शन गरिने आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले बताए ।
‘कान्स फिल्म फेस्टिभल २०२५’ अन्तर्गत ‘पाल्मे डी ओर’ (लघु चलचित्र) विजेता ‘आई एम ग्ल्याड यु आर डेड नाउ’ तथा बजिका भाषामा बनेको पहिलो ‘फिचर’ फिल्म ‘आजुर’ यस महोत्सवका मुख्य आकर्षण हुन्।
ओस्कार विजेता निर्माता नानी वाल्करले निर्देशन गरेको नेपाली भाषाको चलचित्र 'शक्ति' पनि नेपालमा पहिलोपटक प्रदर्शनमा आउँदैछ ।
महोत्सवका दौरान विज्ञहरुको उपस्थितिमा समूहगत छलफल, फोटो प्रदर्शनी, लाइभ पेन्टिङलगायत विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । उद्घाटनको दिन फोटो पत्रकार दीपेन्द्र ढुंगानाको एकल प्रदर्शनी आयोजना भएको छ ।
