नेपालबाट अमेरिका पुगेका नेपालीले गर्ने संघर्षको कथा समेटिएको फिल्म फागुन १५ देखि प्रदर्शनमा आउनेछ ।
काठमाडौँ — नेपालीको विदेश जानुपर्ने नियतिमाथि अहिलेसम्म थुप्रै फिल्म बनेका छन् । यही विषयमाथि आधारित रहेर फिल्म बनाउने सूचीमा अर्को नयाँ फिल्म थपिएको छ । फिल्मको नाम हो - ‘प्रवासी जीवन’ ।
अभिनेता राजेश हमालको अभिनय रहेको यो फिल्म फागुन १५ देखि प्रदर्शनमा आउनेछ । फिल्ममा नेपालबाट अमेरिका पुगेका नेपालीले गर्ने संघर्षको कथा समेटिएको छ । श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशनमा बनेको यो फिल्ममा प्रवासी नेपालीको आरोह-अवरोह समेटिएको निर्देशक क्षेत्रीले जनाए ।
'प्रवासमा पुग्ने जोकोहीले यो कथामा आफू वा आफ्नो वरपरको दृश्यलाई पाउनु हुनेछ । हामीले भौतिक रुपमा देखिने दुःखका धेरै चर्चा गर्छौँ तर मानसिक रुपमा भोहिरहेको यातनालाई बेवास्ता गर्छौं । त्यसैले हामीले त्यो समय र त्यहाँबाट निस्किएपछिको सुन्दर भविष्यलाई फिल्ममा देखाएका छौं,' उनले भने ।
फिल्ममा अभिनेता हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारी लगायतको अभिनय छ ।
अमेरिकामा खिचिएको फिल्ममा फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् । अमृत बिसुवाले खिचेको फिल्मलाई राम अधिकारीले सम्पादन गरेका हुन् ।
