अनौपचारिक कुराकानीमा धेरैजसो निर्देशक खुलाउँछन्, ‘चल्ने अनुहार भयो भने लगानी सुरक्षित हुन्छ ।’ तर, ती अनुहारका फिल्म व्यापारिक हिसाबमा ‘हिट’ छन् त ?
What you should know
काठमाडौँ — नेपाली फिल्म किन चल्छ ? निर्माता र निर्देशकसँग अनौपचारिक कुराकानी गर्दा उनीहरू प्रायः भन्छन्, ‘चल्ने अनुहार भयो भने लगानी सुरक्षित हुन्छ।’ उनीहरूले ‘चल्ने अनुहार’ भन्नेबित्तिकै ‘स्टार’ कलाकारतर्फ औँल्याइरहेका हुन्छन्।
तर को कलाकार स्टार हो ? त्यसको मानक के हो ? र ‘स्टार’ भनिएका कलाकारले खेलेका फिल्महरू साँच्चै चलेका छन् कि छैनन् ? यही प्रश्नको उत्तर खोज्न हामीले २ वर्ष ४ महिना (२०८० साउनदेखि २०८२ मंसिर) सम्मको बक्स अफिस रिपोर्ट केल्यायौँ।
रिपोर्टले देखाउँछ– स्टार मानिएका कलाकारका एकाध फिल्म बाहेक अधिकांश फिल्मले गतिलो व्यापार गर्न सकेका छैनन्। यही अवधिमा चलेका १२१ फिल्ममध्ये दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल, अनमोल केसी, धीरज मगर, प्रदीप खड्का र पल शाहले अभिनय गरेका ४२ फिल्मको व्यापार तथ्यांक हामीले छुट्टै विश्लेषण गर्यौँ।
फिल्मले गर्ने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार (ओभरसिज) र डिजिटल राइट्सबाट कति कमाइ भयो भन्नेबारे एकीकृत तथ्यांक उपलब्ध नभएकाले यो विश्लेषण केवल चलचित्र विकास बोर्डले तयार पार्ने बक्स अफिस तथ्यांकका आधारमै गरिएको हो।
दुई वर्ष चार महिनामा दयाहाङ राईले १९ फिल्ममा अभिनय गरे । तर उनी अभिनीत दुई फिल्मले मात्र हल रिलिजबाट नाफा कमाए । निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ र मिलन चाम्स निर्देशित ‘अञ्जिला’ले मात्र ८ करोडमाथिका व्यापार गरे । बाँकी फिल्मलाई भने लगानी सुरक्षित गर्नै गाह्रो पर्यो ।
त्यसपछि धेरै कमाउनेमा ‘जारी–२’ छ । हालसम्म ‘जारी–२’ ले ६ करोड १९ लाख कमाएको छ । त्यो पनि ३ वर्षअघि ‘जारी’ को तुलनामा सिक्वेलको कमाइ निकै कम हो ।
अभिनेता विपिन कार्कीका फिल्महरूमा ‘महाजात्रा’ ले १५ करोड ६९ लाखभन्दा माथि र ‘ऊनको स्वीटर’ ले ११ करोड ७९ हजारभन्दा माथि कमाए । बाँकी पाँच फिल्मलाई भने लगानी सुरक्षित गर्नै हम्मे पर्यो ।
‘पशुपतिप्रसाद : भस्मे डन’ ले ७ करोड ३२ लाख मात्र कमायो । ९ वर्षअघि ‘पशुपतिप्रसाद’मा भस्मेको चरित्रलाई निकै रुचाइएपछि सिक्वेलमा भस्मेकै पात्रबाट कथा अगाडि बढाइएको थियो । तर फिल्मले औसत मात्र व्यापार गर्यो ।
विपिनको एक्सन फिल्म ‘कर्मा’ ले ३१ लाख मात्र कमायो । ‘तेल भिसा’ले २ करोड ४५ लाख, ‘एक भागवत् र एक गीता’ले ९८ लाख र ‘द रेड सुटकेस’ ले २० लाख जतिको व्यापार गर्यो । तर ‘द रेड सुटकेस’ ले समीक्षात्मक हिसाबमा राम्रो प्रशंसा बटुलेको थियो ।
आर्थिक वर्ष २०८०/८१ यता अभिनेता सौगात मल्लका सात फिल्म रिलिज भए । ‘पशुपतिप्रसाद-२ : भस्मे डन’ ले मात्र ७ करोड ३२ लाख कमायो । त्यो पनि अपेक्षाअनुसारको व्यापार भने थिएन ।
‘अगस्त्य’ ले २ करोड ४७ लाख र ‘हात्तीछाप’ ले १ करोड १८ लाखको व्यापार गर्यो । बाँकी फिल्मले त करोड पनि पुर्याउन सकेनन् । ‘जन्ते बाख्रो’ ले ३८ लाख, ‘द रेड सुटकेस’ ले २० लाख र ‘जार’ ले १८ लाख मात्र कमायो । ‘सिटामल’ ले पनि लगानी सुरक्षित गर्न सकेन ।
यद्यपि ‘जार’ र ‘द रेड सुटकेस’ ले समीक्षात्मक रूपमा मात्र होइन, सौगातको अभिनय कौशलका कारण पनि तारिफ बटुले ।
पल शाहका पाँच फिल्ममध्ये ‘पुजार सार्की’ र ‘मोहर’ ले मात्र औसत व्यापार गरे । ‘पुजार सार्की’ ले ७ करोड ३८ लाख र ‘मोहर’ ले ५ करोडमाथिको व्यापार गर्यो । त्यसबाहेक ‘रावायन’, ‘मायावी’ र ‘नम्बरी सुन’ ले लगानी सुरक्षित गर्न सकेनन् । ‘मायावी’ ले ७१ लाख मात्र कमाइ गर्यो । ‘रावायन’ ले १ करोड ५४ लाख र ‘नम्बरी सुन’ ले १ करोड ३८ लाखको कमाइ गरे ।
प्रदीप खड्काका तीन फिल्ममध्ये ‘पुजार सार्की’ले मात्र ७ करोड ३८ लाखको व्यापार गर्यो । ‘पीताम्बर’ र ‘एक्टर : टेक वान’ ले लगानी सुरक्षित गर्न सकेनन् ।
‘पीताम्बर’ ले ४ करोड ५६ लाख र ‘एक्टर : टेक वान’ ले १ करोड २४ लाख ७ हजार ८० को मात्र व्यापार गर्यो । ‘पीताम्बर’ मा प्रदीपको मुख्य भूमिका भए पनि सौगात मल्ल र दयाहाङ पनि महत्त्वपूर्ण भूमिकामा छन् ।
अभिनेता धीरज मगरका ‘खुस्मा’ र ’माइतीघर’ले मात्र ४ करोड आसपासका व्यापार गरे । तर नेपाली फिल्म निर्माता हलमा भएको यति व्यापारले मात्र सुरक्षित हुन सक्दैनन् । बाँकी ‘मैझारो’ ले १ करोड ४ लाख र ‘एक भागवत् र एक गीता’ले ९८ लाख ५० हजारको मात्र व्यापार गर्यो ।
‘छड्के–२’ ले कमजोर व्यापार गरेपछि अभिनेता अनमोल केसीले हत्तपत्त फिल्म गरिहालेनन् । उनले त्यसयता दुई वटा मात्र फिल्म गरे– ‘फर्की फर्की’ र ‘जेरी अन टप’ ।
‘फर्की फर्की’ले ४ करोड ८५ हजारको व्यापार गर्यो । तर ‘जेरी अन टप’ले भने १२ करोड २३ लाखको व्यापार गर्यो । अनमोलको करिअरकै सबैभन्दा धेरै कमाउने फिल्म ‘जेरी अन टप’ हो । उनलाई ‘स्टार’को ट्याग भिराए पनि अनमोलको फिल्मी करिअरमा हालसम्म १० करोडभन्दा माथि कमाउने यो एउटा मात्र फिल्म हो ।
‘स्टार’ का भरमा फिल्म चल्छ ?
‘स्टार’ भनिएका कलाकारले अभिनय गरेका ४२ फिल्मको व्यापार आँकडा हेर्दा नेपाली फिल्म व्यक्तिका भरमा मात्रै चलेको देखिँदैन। बजारमा ‘स्टार’ जसलाई भनिन्छ, उनीहरूले खेलेकै फिल्महरूले औसत कारोबार गरिरहेको तथ्यांकले देखाउँछ।
डेढ दशकअघिसम्म पोस्टरमा राजेश हमाल वा कुनै स्टारको तस्बिर राखेकै कारण फिल्म ‘सुपरहिट’ हुन्छ भन्ने बुझाइ निर्माता र निर्देशकमा थियो। तर समय उस्तै छैन। जस्तो कि, ८ वर्षपछि फिल्ममा कमब्याक गरेर राजेश हमाल मुख्य भूमिकामा रहेको ‘नरसिंह : अवतार’ले लगानीधरी सुरक्षित गर्न सकेन। २०८० चैत २९ मा रिलिज भएको दिवाकर भट्टराई निर्देशित फिल्म एक महिना पनि हलमा टिक्न सकेन। चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले १ करोड ७५ लाख ७३ हजार ७६ रुपैयाँ मात्र कमायो।
जबकी २०८१ साल कार्तिकमा रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारंगी’ले यो भन्दा फरक मानक स्थापित गर्यो। नेपालमा मात्रै ४६ करोडभन्दा माथि कमाएको यो फिल्म कुनै ‘सुपरस्टार’को भरमा चलेको थिएन। फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए अभिनेता विजय बराल। बराल तिनै अभिनेता हुन्, जो यस फिल्म अघि फिल्ममा सहायक चरित्रहरू मात्र सीमित थिए।
गत कात्तिकमा रिलिज भएको फिल्म ‘परान’ पनि त्यस्तै अर्को फिल्म हो। अभिनेता नीर शाह र महेश त्रिपाठीको मुख्य भूमिका रहेको यो फिल्म कुनै 'स्टार'को भरमा चलेको थिएन। बक्स अफिसले जारी गरेको पछिल्लो रिपोर्ट अनुसार परानले १६ करोडभन्दा माथिको व्यापार गरिसकेको छ।
‘पूर्णबहादुरको सारंगी’ र ‘परान’ मात्र हैन, चल्तीका अनुहार भएका अभिनेताहरूका फिल्म पनि दर्शकले कथा रुचाएका कारण चलेका छन्। दर्शकले कथा नरुचाउँदा उनीहरूका फिल्मले बक्स अफिसमा कमजोर प्रदर्शन गरेका छन्।
‘फेस भ्यालु’का पछि निर्माता–निर्देशक
तथ्यांकले देखाउँछ—‘स्टार’ भनिएकाहरूका एकाध फिल्मले मात्रै औसतभन्दा बढी व्यापार गरेको देखिन्छ। तर निर्माता र निर्देशकहरू भने मुख्य पात्रमा चल्तीका अनुहार खेलाउनकै लागि फिल्मको छायांकन मिति महिनौँसम्म पछि सार्न तयार देखिन्छन्। जसको मारमा परिरहेका हुन्छन् फिल्ममा अनुबन्धित भएका अन्य सहायक कलाकार।
‘एउटा समयका लागि प्रोजेक्ट साइन गरिएको हुन्छ। त्यो सकिएलगत्तै अर्को प्रोजेक्ट गर्ने भनेर वचन दिइसकिएको हुन्छ। लिड एक्टरको समय नभएकै कारण पहिलो गर्ने भनिएको फिल्म धकेलिँदै जान्छ। अनि हामी दोस्रो र तेस्रो प्रोजेक्टको काम गुमाउँछौँ,’ एक कलाकारले नाम नखुलाउने सर्तमा आफ्नो दु:खेसो सुनाए। ‘यसरी हामीलाई आर्थिक संकट हुन थाल्छ।’
निर्माता/निर्देशकले ‘स्टार’ कलाकारका लागि भनेर कहिलेकाहीँ अनुबन्धित कलाकार नै हटाइदिने गरेका पनि छन्। तर नयाँ आउन लागेका कलाकारहरू भने ‘करिअर’ बिग्रने डरले यस्ता विषयमा खुलेर आलोचना गर्न हिच्किचाउँछन्।
कहिलेकाहीँ त निर्माताहरू नै ‘स्टार’ कलाकार नभई लगानी गर्न हिच्किने अवस्था पनि छ। एक निर्देशकले आफूले लगानीकर्ताकै करमा कलाकारहरू बदल्न बाध्य भएको अनुभव सुनाए। ती निर्देशकले भने, ‘स्टार नभए फिल्म डुब्छ’ भनेर लगानीबाट हट्ने भए पछि पहिले अनुबन्ध गरेका कलाकारलाई पनि हटाउन बाध्य भएँ। यही कारणले फिल्मको छायांकन मिति महिनौँपछि धकेलियो।
फिल्म निर्देशक दिनेश राउत चल्तीका कलाकार खेलाउन रुचाउने निर्देशकमा पर्छन्। पछिल्लो समय ‘पुजार सार्की’ र ‘महाभोज’मा उनले ‘मल्टीस्टार’ नै लिए। ‘पुजार सार्की’मा—प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह; ‘महाभोज’मा—दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने। तर ‘महाभोज’ नराम्ररी असफल भयो। फिल्मले करोडभन्दा मुनि व्यापार गर्यो। मल्टीस्टार लिएर ठूलो खर्चमा निर्माण गरेको फिल्मको व्यापार निराशाजनक भएपछि दिनेश पछुताए पनि। ‘थिएटरमा जानुअघि बजारले त भ्यालु दिएकै थियो। तर थिएटरमा पुगेपछि कन्टेन्ट दर्शकले त्यो बेलामा नरुचाएकै कारण चलेन,’ राउत भन्छन्।
निर्देशकले ‘स्टार’ खोज्ने कुरामा प्रोड्युसरहरू बढी जिम्मेवार भएको दिनेशलाई लाग्छ। ‘प्रोड्युसरले निर्देशक र कथाभन्दा बढी विश्वास चलेको कलाकारमा गरे। त्यसकारण मेरै फिल्ममा पनि चल्तीका अनुहार लिने क्रम भइरह्यो,’ दिनेश भन्छन्। ठूलो फ्यान भएका कलाकार लिँदा प्रमोसन र मार्केटिङमा सजिलो हुने विश्वासकै कारण त्यस्तो हुने दिनेश बताउँछन्।
‘चलेको अनुहार लिँदा बजारले विश्वास गर्ने र त्यसले लगानी सुरक्षित हुने अनि आम्दानी हुने तरिकाले सोचेर फिल्म बनाउने गरिरहेको देख्छु,’ उनी थप्छन्। ‘प्रोड्युसरले समग्र फिल्मको प्लानिङमा यति बजेट लाग्छ, यो कलाकार हुँदा मार्केटले रिटर्न दिन्छ भनेर हिसाब गर्छन्। थिएटर बाहेकको मार्केट पनि त छ। तर हलसम्म आइपुगिसकेपछि दर्शकलाई को कलाकार छ भन्ने कुरासँग त्यति धेरै चासो नहुँदो रहेछ।’
त्यसकारण दिनेशले नयाँ फिल्म ‘कुमारी’ यसपालि अभिषेक खड्का र आकृति राजभण्डारी जस्ता नयाँ जेन-जि अनुबन्धित गरेर छायांकन गरे। ‘मलाई लाग्थ्यो कि मैले फ्रेस अनुहार लिएरै गर्नुपर्छ। के कुरामा आत्मविश्वास छ भने दर्शकले देख्दै नदेखेको अनुहार ल्याएर अझै विश्वास दिलाउन सकिन्छ,’ उनी भन्छन्।
कतिपय फिल्म निर्माताहरू भने ‘फेस भ्यालु’ भएका कलाकार लिएमात्रै हलवालासँग डिल गर्न सजिलो हुने अनुभव सुनाउँछन्। एक फिल्म निर्देशकले सुनाए, ‘राम्रा क्षमता भएका कलाकार त धेरै छन्। तर न मार्केटले पत्याउँछ। न हलले। त्यसकारण फेसभ्यालु पर्खिनुपर्छ।’ ती निर्देशकले लामो समयदेखि विपिन कार्कीको समय मागिरहेका थिए। विपिन कार्कीले निकै व्यस्त देखिएपछि उनी अरु विकल्पतिर लागे। ‘म आफैंसँग लगानीका लागि प्रशस्त पैसा छैन। फेसभ्यालु भयो भने बजारले पत्याउँछ। लगानी खोज्न पनि सहज हुन्छ,’ उनले भने।
हल सञ्चालक तथा वितरक नकिम उद्दिन शो बाँडफाँडको बेला सम्भावना बोकेका फिल्मको आधारमै निर्णय गरिने बताउँछन्। ‘पछिल्लो समय नेपालमा एकैपटक ३ वटा फिल्म रिलिज हुन्छन्। चिनिएको अनुहार भयो भने फिल्मले सम्भावना बोकेको छ भनेर अनुमान गर्न सकिन्छ। तर कम शो दिइएका फिल्मले पनि राम्रो गरे भने शो बढ्दै जान्छ,’ उनी प्रस्टाउँछन्।
उनका अनुसार, हल सञ्चालकका दृष्टिले फिल्म व्यापारका लागि प्रदर्शन गरिने हो। ‘हल पनि त पैसा कमाउन खोलेको हो। दयाहाङ–अनमोलको फिल्म आयो भने ती फिल्महरू सम्भावना बोकेका फिल्म हुन् भन्ने लाग्छ। एक किसिमको व्यापार छ भनेर बुझिन्छ,’ उनी भन्छन्। ‘तर कथा राम्रो भयो भने नयाँ अनुहारका फिल्म पनि चल्छन्। कथा राम्रो भएन भने चिनेकै अनुहारका फिल्म पनि चल्दैनन्।’
