मञ्चमा दुई पात्रलाई प्रस्तुत गर्दै मानव जीवनका जटिल सम्बन्ध, सपना र आकांक्षा, विगत र वर्तमान, सामूहिकता र एक्लोपना, परिवार र साथ थुप्रै विषय छुँदै प्रश्न गर्छ– के हामी वास्तवमै हामी हौँ? अर्थात् के हामी सामूहिकतामा छौँ या व्यक्तिपरक भइसक्यौँ ?
What you should know
काठमाडौँ — एकछिनमै हाँस्ने, एकछिनमै रुने ! कहिले शान्त, कहिले हतास । कहिले गम्भीर त कहिले रोमाञ्चक । सहज संवादबाट तुरुन्तै विचित्र संसार !
कौशी थिएटरमा मञ्चनरत नाटक 'के ? अस'ले समातेको विधा यति अमूर्त छ कि मञ्चमा देखिने दुई पात्र उत्तिकै अकल्पनीय, विचित्रका देखिन्छन् । 'एब्सर्ड' शैलीको यो नाटकले परम्परागत शैलीको कथा वाचन पक्रँदैन । तर, मञ्चमा दुई पात्रलाई प्रस्तुत गर्दै मानव जीवनका जटिल सम्बन्ध, सपना र आकांक्षा, विगत र वर्तमान, सामूहिकता र एक्लोपना, परिवार र साथ थुप्रै विषय छुँदै प्रश्न गर्छ -के हामी वास्तवमै हामी हौँ ? अर्थात् के हामी सामूहिकतामा छौँ या व्यक्तिपरक भइसक्यौँ ?
यो नाटकमा दुई पात्र मात्रै छन्, निकै भिन्न चरित्रका । झुत्रे पहिरन, धुलो र मैलोको संसारमा लिप्त भइसकेका पात्र छन्-असिम (विजय ताम्राकार) । उनी बस्ने घर आधा भत्किएको देखिन्छ । कुर्सी थोत्रै भइसक्यो । टेबल र भुईँ धुलोले भरिएको छ । भुईँभरि च्यातिएका कागज छरपस्ट छन् । सोफा पनि बिग्रेकै अवस्थामा छ । भान्सा र भाँडा फोहोर छन् । त्यही अँध्यारो संसारमा अभ्यस्त असिमको जीवनमा एकदिन लालटिन बोकेर आर्यन(इलम दीक्षित) आइपुग्छन् । असिमको दाँजोमा सफा पहिरन, हातमा सुटकेस तर हतास मन लिएर उनी फर्किएका छन् । कहाँ ? आफ्नै घर ! तर, त्यो घर के आर्यनकै हो त ? वर्षौँदेखि आमालाई स्याहार्दै आएका असिमका लागि त्यो घर के हो त ?
करिब एक घण्टा लामो यस नाटकले जीवनका सुन्दर पक्ष खोतल्दै लथालिङ्ग जीवन, भद्रगोल संसार देखाउँछ । नाटकको पहिलो दृश्यमै यी विषय देखाइएको छ । जहाँ यी दुई पात्र १५ वर्षपछि पहिलो पटक एकअर्कासँग साक्षात्कार हुन्छन् । दुईको यो भेट निकै रोचक अनि विचित्रको छ । रङ्ग पोतिएको हात, शान्त स्वभाव, हल्ला नरुचाउने असिमले बिस्तारै घरभित्रबाट बाहिर चिहाउन खोज्छन् । अनि लालटिन बोक्दै आर्यनले पनि भित्रको संसार नियाल्छन् । तर, आर्यनको स्वागत सामान्य हुँदैन । त्रसित अनुहार बोकेका असिमले सुरुवातमा आर्यनलाई विश्वास गरिहाल्दैनन् । चिनिहाल्न पनि सक्दैनन् । आर्यनको उपस्थितिले असिमको संसार केही क्षणलाई उज्यालो हुन्छ । तर, त्यसपछि खुल्दै जाने अँध्यारो पाटोले दुवैलाई बारम्बार झस्काइरहन्छ ।
यी दुई पात्रको सम्बन्ध, भेट र जीवनलाई बुझ्न नाटक नै हेर्नुपर्ने हुन्छ । अनि मात्रै थाहा हुन्छ, अंशबन्डाले थुप्रै अंशमा बाँडिएका सम्बन्ध ! हृदयभित्रको चोट, अनि सम्पत्तिप्रतिको लोभ । अंशबन्डाले कति भागमा बाँडिदिन्छ त सम्बन्ध ? झट्ट हेर्दा मिहिन देखिने तर जटिल यस्तै विषयमार्फत सामूहिकता र व्यक्तिपरक संसारतर्फ नाटकले बिस्तारै डोर्याउँछ । विदेशिएकाहरुका पीडा पनि नाटकमा समेटिएको छ ।आफ्नो देशभन्दा पर हुँदा सम्बन्धहरू कति पर बन्छन् ? के विदेशिएकाहरुले पारेको रिक्तताको खत विदेशबाट पठाउने पैसाले भरिएला ? विदेशिनुपर्ने नेपालीको नियति, उनीहरूका भोगाई र बाँचेको जीवनलाई आर्यन चरित्रमार्फत नाटकमा प्रवेश गर्छ । उनले सहजै बुझाइदिन्छन्, पिज्जा र मोमोभित्रको आत्मीयता । आफ्नो स्वाद र संस्कृतिप्रतिको तलतल ।
नाटकले कथा वाचनको परम्परागत शैली मात्रै भत्काउँदैन । मञ्च र दर्शकबीच सिर्जित अदृश्य पर्खाल(फोर्थ वाल) पनि भत्काउँदै वर्तमान समाजलाई व्यंग्य गर्छ । समाजकै डरले असिमले 'ब्रेनडेड' भइसकेकी आमाको स्याहार गर्दै आएका हुन्छन् । वर्षौं आफ्नो इच्छा र आकांक्षा दबाएर यसरी स्याहारसुसारमा लागेका असिमलाई आर्यनले यो सब गर्नुपछाडिको कारण सोध्छन् । त्यतिबेला असिमले भन्छ -समाजले के भन्ला भन्ने लाग्यो । अनि त्यतिबेला समाजलाई व्यंग्य गर्दै आर्यनले 'सोसाइटी' अनि 'कम्युनिटी' भन्दै व्यंग्य गर्दाको दृश्य निकै सशक्त छ । आर्यनले व्यंगात्मक शैलीमा 'सोसाइटी' शब्द प्रयोग गर्दा नाकले 'टी' आकार कोर्दै लेघ्रो तान्छन् । परिवार स्याहार्ने छोरालाई 'ज्ञानी' भन्ने यो समाजलाई व्यंग्य गर्दै आर्यनले भन्छ -तँ त ज्ञानी छोरा !
यी दुई पात्रले बुबालाई सम्झँदाको क्षण निकै रमाइलो छ । जब-जब उनीहरू बुबालाई सम्झन्छन् तब उनकै स्वर नक्कल गर्दै आफूहरूको विगततर्फ फर्कन्छन् । अनि त्यो विगत सम्झँदै जाँदा सम्झन्छन् त्यसले वर्तमानमा पारेको असर । आर्यनले त एकपटक रक्सीको मातमा घर फर्केको बुबालाई नालीमै धकेलिदिएका हुन्छन् । त्यसपछि के हुन्छ त ? यी दुईले बुबालाई सम्झँदै हातमा रक्सी लिएर गरिएको नक्कल वास्तवमै सुन्दर र मनोरञ्जनात्मक देखिन्छ । दुवैले मिलेर गाउने गीत, बाल्यकालको सम्झना अनि आफूहरूसँग जोडिएका सम्बन्धमाथि गर्ने चर्चा उतिकै रोचक देखिन्छ । नाटकमा थुप्रै ठाउँ दर्शक यी पात्रसँग हाँस्छन्, अनि कति ठाउँमा उनीहरूसँगै गम्भीर पनि बन्छन् । अधिकांश समय यी पात्रले मनोवैज्ञानिक सिगमण्ड फ्रायडले व्याख्या गरेका तीन प्रकारका चेतना (ईड, ईगो, सुपरईगो)लाई मञ्चमा पस्किरहन्छन् । नाटकको यही शैली नै सुन्दर र नौलो देखिन्छ ।
नाटकको सबैभन्दा सुन्दर पक्ष हो यसमा प्रयोग प्रप्स र सेट । आमाको प्रतीकका रूपमा ठिंग उभिएको रुखजस्तै आकार होस् या त्यसमा प्रयोग प्रकाश । भत्किएको पर्खालसहितको ढोका, बिग्रिएको टिभी, टेबल, सोफा र कुर्सीले मञ्चमा एउटा भव्य संसार खडा गरिदिन्छ । जुन मञ्चले विचित्रका पात्रमार्फत अद्भुत कथा प्रस्तुत गर्छ । त्यसमाथि असिम बनेका कलाकार विजय आनन्द ताम्राकारले उक्त पात्रभित्रको मनोदशा पस्कन जस्तो अभिनय गर्छन् त्यसले पनि मञ्चमा यी पात्र सजिव लाग्छन् । पात्रको मनोदशालाई बोलीमा, भावभंगीमा विजयले जीवन्त बनाइदिएका छन् । इलमले पनि आर्यन चरित्रको त्यो हतारो, छटपटी र अलमल पक्रन्छन् । इलम र विजयको संयुक्त परिकल्पना र प्रस्तुतिमा तयार यो नाटक यी दुवैको अभिनयले नै बलियो बनेको हो ।
