नेटफ्लिक्सले ७२ अर्ब डलरमा वार्नर ब्रोज किन्ने

हलिउडका दुई ठूला इन्टरटेन्मेन्ट कम्पनी, नेटफ्लिक्स र वार्नर ब्रोज डिस्कभरी एकै स्वामित्वअन्तर्गत आउने भएका छन् । नेटफ्लिक्सले ७२ अर्ब डलर (करिब ९.६ खर्ब रुपैयाँ)मा वार्नर ब्रोजको स्टुडियो र स्ट्रिमिङ व्यवसाय अधिग्रहण वा खरिद गर्ने घोषणा गरेको छ ।

मंसिर २२, २०८२

एजेन्सी

Netflix to buy Warner Bros for $72 billion

काठमाडौँ — स्ट्रिमिङ, टेलिभिजन र फिल्म क्षेत्रका यी ठूला कम्पनी एक हुँदा यसले मनोरञ्जन उद्योगकै पुन:संरचना गर्ने अनुमान गरिएको छ । नियामकको स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको भनिएको यस खरिद-बिक्री सम्झौता सम्पन्न भए, वार्नरअन्तर्गतको डीसी स्टुडियोज र टेलिभिजन तथा मोसन पिक्चर विभाग नेटफ्लिक्सको प्रोडक्सन शाखामा समाहित हुने एसोसिएटेड प्रेसले जनाएको छ ।

यो सम्झौताअघि वार्नरले आफ्नो सीएनएन, टीएनटी स्पोर्ट्स र डिस्कभरी च्यानलहरूलाई ‘डिस्कभरी ग्लोबल’ नामक छुट्टै कम्पनीमा विभाजन गरी स्टुडियो र स्ट्रिमिङ व्यवसाय (एचबीओ म्याक्स) भने नेटफ्लिक्समा गाभ्ने जनाएको छ । वार्नरले तीन वर्षअघि वार्नर ब्रोज डिस्करी स्थापना गर्दा नै स्ट्रिमिङ र स्टुडियो सञ्चालनलाई आफ्नो केबल व्यवसायबाट टुक्रयाउने घोषणा गरेको थियो । 

अब नेटफ्लिक्स र एचबीओ छुट्टाछुट्टै रूपमा सञ्चालन हुन्छन् वा एउटै ठूलो स्ट्रिमिङ प्लाटफर्मका रूपमा आउँछन् भन्ने स्पष्ट भइसकेको छैन । प्रयोगकर्तालाई भने फरक-फरक सब्स्क्रिप्सन लिइरहनु नपर्ने भएकाले सहज हुने ठानिएको छ । स्ट्रिमिङ प्लाटफर्महरूको संख्या धेरै हुँदा र उनीहरूले निरन्तर शुल्क बढाइरहँदा प्रयोगकर्तालाई आर्थिक भार पर्ने गरेको छ । 

अमेरिकामा ३० हजार भन्दा धेरै र अन्तर्राष्ट्रिय स्तरमा २६ हजारवटा मुभी स्क्रिन (हल) को प्रतिनिधित्व गर्ने ‘सिनेमा युनाइटेड’ लगायतले भने यस अधिग्रहणको विरोध गरेका छन् । यसले विश्वव्यापी रूपमै फिल्म प्रदर्शन बजारलाई प्रभावित पार्ने सिनेमा युनाइटेडको ठहर छ । ‘नेटफ्लिक्सले दाबी गरेको बिजनेस मोडलले फिल्म प्रदर्शनलाई सहयोग गर्दैन,’ सिनेमा युनाइटेडका प्रमुख माइकल ओ’लियरीले भनेका छन्, ‘फिल्म हलहरू बन्द हुनेछन्, हजारौँको रोजगारी गुम्नेछ ।’      

एचबीओ र एचबीओ म्याक्सका कार्यक्रमहरू थपिँदा ग्राहकले उच्च गुणस्तरीय कन्टेन्ट हेर्न पाउने र आफूहरूले 'सब्स्क्रिप्सन प्लान' पनि समायोजन गर्ने नेटफ्लिक्सले जनाएको छ । वार्नर ब्रोज स्टुडियोले निर्माण गरेका ‘गेम अफ थ्रोन्स’, ‘ह्यारी पोर्टर’, ‘सक्सेसन’, ‘डीसी युनिभर्स’ जस्ता चर्चित र प्रिमियम कन्टेन्ट एचबीओमा भएकाले वार्नरको विशाल कन्टेन्ट लाइब्रेरी र नेटफ्लिक्सको लाइब्रेरी एकै बन्डलमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।     

नेटफ्लिक्स र वार्नर गाभिँदा कन्टेन्ट निमार्ण एव‌ं वितरण एकै कम्पनीको नियन्त्रणमा आउने भन्दै कतिपयले यसको आलोचना गरेका छन् । हाल स्ट्रिमिङ सेवामा प्राइम भिडियोको बजार हिस्सा २१ प्रतिशत, नेटफ्लिक्सको २० प्रतिशत, एचबीओ म्याक्सको १३, डिज्नी प्लसको १३, हुलुको ११ र अन्यको २२ प्रतिशत छ । अन्यमा एप्पल टीभी प्लस (८ प्रतिशत), प्यारामाउन्ट (७ प्रतिशत), पिकक (२ प्रतिशत), डिस्कभरी (१ प्रतिशत) लगायत छन् । नेटफ्लिक्स र वार्नर गाभिएमा एक तिहाइ हिस्सा यिनले ओगट्ने देखिन्छ ।   

सन् १९२३ मा स्थापना भएको वार्नर ब्रोज हलिउडका ‘बिग फाइभ’ भनिने पुराना एवं प्रसिद्ध टेलिभिजन तथा फिल्म स्टुडियोमध्ये एक हो । अन्य चारमा डिज्नी, प्यारामाउन्ट, सोनी पिक्चर्स र युनिभर्सल छन् ।  प्रोड्युसर्स गिल्ड अफ अमेरिकाले यस्ता लिगेसी स्टुडियोहरू कन्टेन्ट लाइब्रेरी (फिल्म वा श्रृंखलाहरूको भण्डार) मात्र नभएर अमेरिकी संस्कृति र पहिचानसमेत भएको उल्लेख गरेको छ । तसर्थ, नेटफ्लिक्स र वार्नरले कर्मचारीहरूको जीविकोपार्जन र फिल्म वितरण बजार प्रभावित नहुने सुनिश्चित गरेर मात्र सम्झौता गर्न गिल्डले आग्रह गरेको छ ।

एजेन्सी

Link copied successfully