नारायणगोपालका प्रिय गीतहरू गुञ्जँदा स्थानीय र गायकहरू भावुक बने, स्मृतिमा जीवन्त बन्यो सांगीतिक साँझ ।
What you should know
चितवन — स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३५ औं पुण्यस्मृति दिवसको अवसरमा शुक्रबार साँझ नारायणगढको नारायणी कला मन्दिरमा नारायणगोपालले गाएका विभिन्न गीतहरूले गुञ्जिए ।
त्यहाँ थियो कला मन्दिरको पुरानो हार्मोनियम, जसमा कुनै बेला नारायणगोपालका औंलाहरू दौडिएका थिए । त्यो हार्मोनियमलाई छोपेको रातो च्यादर हटाएर ‘नारायणगोपाल स्मृति साँझ’को उद्घाटन भएको थियो ।
कार्यक्रम सञ्चालक सुरक्षा श्रेष्ठले सो हार्मोनियमको सन्दर्भ जोड्दै भनिन्, ‘यो हार्मोनियम हाम्रा लागि खास छ । २०२८ सालमा नारायणगोपाल, दावा ग्याल्मो, डेजी बराइली, दुर्गा खरेल लगायत नारायणगढमा कार्यक्रम गर्न आउनुभएको थियो । जब नारायणगोपालले गाउन सुरु गर्नुभयो, उहाँकै आफ्नै हार्मोनियम पर सारेर कला मन्दिरको यो हार्मोनियमको तालमा गीत गाउँदै जानुभयो ।’
त्यसैले कला मन्दिरले यो हार्मोनियमलाई निकै जोगाएर राखेको छ ।
प्रेक्षालयको अग्रभागमा नारायणगोपालको भव्य तस्बिर थियो । सयपत्रीको माला ओढिएको उक्त तस्बिरसँगै राखिएको त्यो पुरानो हार्मोनियमलाई ढाकेको च्यादर दुई प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जन र २ का वडाध्यक्ष मनोज रानाभाटले उघारे ।
हार्मोनियम खुला भएपछि बाद्यवादनको टोलीले गिटार, तबला, किबोर्डबाट ताल झिक्यो । अनि विश्व प्रधान र प्रविनकुमार श्रेष्ठले ‘जाग लम्क चम्क हे नौजवान हो’ गुञ्जाउँदै ‘नारायणगोपाल स्मृति साँझ’को सुरुआत गरे ।
अनामिका मल्ल चितवनको पहिलो एफएम रेडियो स्टेसन सिनर्जी एफएमले ६० को दशकमा सञ्चालन गरेको ‘सिनर्जी राइजिङ स्टार’को दोस्रो सिजनको विजेता हुन् । विश्व प्रधानसँगै अनामिकाले ‘माया गर्नेको चोखो माया पनि देखियो’ गाएर दुई दशकअघि कला मन्दिरको त्यही प्रेक्षालयबाट सुरु भएको सुरिलो स्वरलाई पुनःताजगी गराइन् । ‘नारायणगोपाल स्मृति साँझ २०८२’ का दुई मुख्य गायकमध्ये अनामिका एक थिइन् । अनामिका, निरञ्जन प्रधान, विश्व प्रधान र प्रविनकुमार श्रेष्ठले सातवटा गीत सुनाएपछि मञ्चमा उक्लिए अर्का मुख्य गायक सुरजकुमार थापा ।
सुरजले हार्मोनियम बजाउँदै बाद्य टोलीको साथमा सुरु गरे, ‘तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि ...।’ यसरी नारायणगोपालले उबेलाको गाएका, संगीत दिएका र नारायणगोपालका समकालीनहरूले गाएका कालजयी गीतहरू पस्कँदै कला मन्दिरले स्वरसम्राटलाई सम्झियो । कला मन्दिरका पूर्व अध्यक्ष अमर प्रधानले २०५८ सालदेखि ‘नारायणगोपाल स्मृति साँझ’ सुरु भएको बताए ।
कला मन्दिरका वर्तमान अध्यक्ष रोहित श्रेष्ठ दुई दशकभन्दा बढी समयदेखि लगभग नियमित जस्तै स्मृति साँझ गर्दै आएको बताए । स्थानीय प्रतिभाका साथै स्थापित गायकलाई सहभागी गराएर गीत–संगीतको जगेर्ना र नारायणगोपालको सम्झना गर्न कला मन्दिर लागेको उनको भनाइ छ । कला मन्दिरको यो स्वरूपका लागि नारायणगोपालको प्रत्यक्ष–अप्रत्यक्ष भूमिका पनि जोडिएको छ ।
नारायणी कला मन्दिर आफ्नो भव्य प्रेक्षालयका लागि परिचित छ । २०१९ सालमा स्थापना भएको कला मन्दिरले यो प्रेक्षालय नहुँदा सिनेमा हलमा कार्यक्रम गर्नु पर्थ्यो । २०२८ सालको त्यो कार्यक्रम पनि सिनेमा हलमै भएको थियो । कला मन्दिरका पूर्व अध्यक्ष प्रसाद श्रेष्ठ सम्झन्छन्, ‘त्यो बेला नारायणगोपालको कार्यक्रमका लागि दुई दिन सिनेमा हल बुक भएको थियो ।’
पहिलो दिन मान्छे खचाखच थिए । दोस्रो दिनका लागि पनि त्यस्तै उत्साहजनक उपस्थिति रह्यो । तर कार्यक्रम सुरु हुने बेलामा सिनेमा हलका मालिकले हल दिन्न भनेको नमिठो प्रसंग श्रेष्ठले अझैसम्म बिर्सेका छैनन् । यो घटनापछि कला मन्दिरका पदाधिकारीले आफ्नै हल बनाउने निधो गरे ।
हल मालिकलाई जसो–तसो सम्झाइ बुझाइ र बिन्ती गरेर त्यो बेला कार्यक्रम पूरा गरे । कार्यक्रम सम्पन्न गरेर उनीहरू जग्गा खोज्न लागे । प्रयास गरेपछि लालपुर्जासहित नै जग्गा प्राप्त भयो । त्यसपछि भवन बनाउने आँट पलायो, भन्छन् श्रेष्ठ । १४ कट्ठा जमिन र त्यसमा बनेको कला मन्दिरको भव्य हल त्यही कार्यक्रमको देन हो, भन्छन् प्रसाद श्रेष्ठ । त्यसैले कला मन्दिरले नारायणगोपाललाई बिर्सन सकेको छैन ।
