धमाधम छायाँकन चलिरहेका नयाँ फिल्म

कबड्डी देखि बाटुलो जुनसम्म र लालीबजार देखि क, का, कि, की सम्म । यतिबेला देशका विभिन्न स्थानमा दर्जन भन्दा धेरै नेपाली फिल्मको छायांकन चलिरहेको छ ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

New film in full swing

What you should know

काठमाडौँ — यतिबेला हलहरुमा ‘परान’, ,‘जेरी अन टप’ ‘जारी २’ जस्ता फिल्महरूले दर्शकलाई तानिरहेका छन् । बिहीबारबाट मात्रै फिल्म ‘अभिमन्यु’ पनि हलहरूमा प्रदर्शन भइरहेको छ ।

सार्वजिनक भएका फिल्मका अलवा कैयन फिल्म यतिबेला निर्माणको चरणमा छ । केही फिल्म हालै खिचेर निर्माण टिम फर्किएका छन भने केही छायाँकनकै क्रममा छन् । 

फ्लोरमा गएका फिल्म

अहिले रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’को नयाँ सिरिजको पनि छायाँकन भइरहेको छ । निर्माण टिमका अनुसार यो फिल्मको छायाँकन अन्तिम चरणमा पुगेको छ । फिल्ममा यसपटक चर्चित पात्र वीरकाजीको जीवनमा नयाँ ट्वीस्ट हुने बताइएको छ ।

अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जुन’को पनि छायाँकन सुरु भइसकेको छ । यो फिल्मलाई भुवन केसीले निर्देशन गरिरहेका छन् । यो फिल्मलाई लेखक सामिप्यराज तिमल्सेनाले लेखेका हुन् ।

अहिले हिट सिरिज ‘जात्रा’ निर्माण गर्ने षड्कोण आर्टसको ब्यानरमा नयाँ फिल्म ‘लालीबजार’को छायाँकन पनि बर्दियामा भइरहेको छ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

फिल्ममा यम थापाको लेखन तथा निर्देशन छ । फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्रीले निर्माण गर्दैछन् । निर्देशक प्रदीप भट्टराई भने यो फिल्मको कार्यकारी निर्माता छन् ।

कमेडियन विकी अग्रवाल र श्रद्धा प्रसाईको निर्देशनमा नयाँ फिल्म ‘क, का, कि, की’को छायाँकन भइरहेको छ । अहिले यो फिल्मको छायाँकन अन्तिम चरणमा छ ।

यो फिल्ममार्फत् अभिनेत्री तृप्ति नाडरकले १७ वर्षपछि कमब्याक गर्दैछिन् । फिल्ममा तृप्तिसँगै गौरी मल्ल र रेखा थापा पनि छन् । अभिनेता महेश त्रिपाठीको पनि यो फिल्ममा मुख्य भूमिका छ ।

प्रवीण श्रेष्ठको निर्देशन रहेको फिल्म ‘बब डाइ’को पनि यतिबेला छायाँकन भइरहेको छ । निर्देशक श्रेष्ठ १० वर्षपछि निर्देशनमा फर्किएका हुन् ! उनले पछिल्लो पटक मोक्ष फिल्म निर्देशन गरेका थिए । ‘बब डाइ’को छायाँकन काठमाडौंको चन्द्रागिरीबाट सुरू भएको थियो । काठमाडौंको कीर्तिपुर तथा चन्द्रागिरी आसपासका क्षेत्रमा फिल्मको छायाँकन भइरहेको छ । फिल्ममा कलाकार सौगत मल्ल, सिम्रन पन्त लगायतको अभिनय छ ।

लक्ष्मण  रिजालको निर्देशन रहेको फिल्म ‘काजी’को पनि यतिबेला छायाँकन चलिरहेको छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा लगायतका कलाकार छन । यो फिल्म चैत २७ बाट रिलिज हुँदैछ ।

माइकल चन्दको कथा र निर्देशन रहेको फिल्म ‘राम नाम सत्य’को पनि छायांकन चलिरहेको छ । फिल्ममा सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी लगायतका कलाकार रहेका छन् ।

निखिल उप्रेतीले निर्देशन र निर्माण रहेको फिल्म ‘आचार्य’ पनि अहिले छायाँकनकै क्रममा छ ।

फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारी, सञ्चिता लुइँटेल, उषा उप्रेती सहित बलिउड र दक्षिण भारतीय कलाकारको समेत अभिनय रहनेछ ।

‘सेभेन सिज’को निर्माण रहेको फिल्म ‘रोल नं वान’को पनि यतिबेला छायाँकन चलिरहेको छ । यो फिल्ममा विशेषगरी नयाँ अनुहारका बाल कलाकाहरूको मुख्य भूमिका रहनेछ ।

यो फिल्मलाई जोन योञ्जनले निर्दशन गरिरहेका छन् । 


कान्तिपुर संवाददाता

Link copied successfully