कान्तिपुर टिभीमा प्रसारण हुने कार्यक्रम बुधबार राति ९ देखि १० बजेसम्म चल्नेछ र पहिलो चरणमा १७ एपिसोड तयार भइसकेका छन् ।
काठमाडौँ — अभिनेत्री प्रियंका कार्की 'होस्ट' रहेको कुकिङ शो 'सेलिब्रेटी किचन' कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ । मंगलबार टेलिभिजनका प्रमुख सञ्चालक अधिकृत(सीओओ) सुरजसिंह ठकुरी र 'सेलिब्रेटी किचन'का प्रड्युसर महेश पोख्रेलबीच कार्यक्रमलाई कान्तिपुरबाट प्रसारणमा ल्याउने सम्झौता भएको हो ।
महेशका अनुसार अब यो कार्यक्रम आगामी हप्ताको बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म प्रसारण हुनेछ । अहिलेसम्म कार्यक्रमको १७ एपिसोड खिचिसकेको पोख्रेलले जनाए । 'सेलिब्रेटी किचन शोले कान्तिपुर टिभीसँग सम्झौता गरेको छ । पहिलो चरणमा हामीले १७ सो खिचिसक्यौं,'उनले भने,'खाना र जीवनशैली जोडिएको यो बिल्कुलै नयाँ शो हो ।'
कार्यक्रममा सेफ प्रकाश कटुवालको निर्देशनमा प्रियंकाले नेपालीदेखि थुप्रै विदेशी स्वादका परिकार बनाउनेछन् । र, कार्यक्रममा उपस्थित अतिथिले त्यसलाई चाखेर आफ्नो प्रतिक्रिया दिनुपर्नेछ । कुकिङ शो भए पनि यो कार्यक्रमले खाना बनाउने तरिकासँगै उपस्थित अतिथिसँग जीवनशैली, खाना खाने शैलीलगायतका थुप्रै विषयमा कुराकानीसमेत हुने जनाइएको छ ।
अहिलेसम्म ३५ जना कलाकारलाई प्रियंकाले कार्यक्रममा बोलाइसकिन् । मालिन मिडिया एन्ड इभन्टको प्रोडक्सनमा तयार भएको यो कार्यक्रमलाई २५ भन्दा बढी एपिसोडमा निर्माण गर्ने तयारी रहेको महेशले सुनाए ।
