‘कुमारी’बाट कलाकारहरु अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा डेब्यु गर्दै छन् ।
काठमाडौँ — फिल्म निर्देशक दिनेश राउत नयाँ फिल्म ‘कुमारी’मार्फत् विशुद्ध प्रेम कथामै फर्किएका छन् ।
यसअघि लगातार सामाजिक मुद्दाका विषयमा ‘प्रसाद’, ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ फिल्म निर्देशन गरेका राउत पुन: प्रेम कथातर्फै फर्किएको सोमबार सार्वजनिक भएको ‘कुमारी’को गीत ‘कता छौं मेरो फूल’बाट नै बुझ्न सकिन्छ ।
गीत सार्वजनिकसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ । फिल्म आगामी माघ २३ गतेबाट देशभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।
फिल्मको मुख्य भूमिकामा कलाकारहरु अभिषेक खड्का र आकृति राजभण्डारी छन् । दुवै कलाकार यसै फिल्ममार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन् ।
यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो ।
गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा लोकप्रिय छ ।
साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि फिल्ममा देखिनेछन् ।
‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथा भन्ने सफल निर्देशक मानिन्छन् ।
फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका छन् । फिल्मलाई विकास सुवेदीले लेखेका छन् । फिल्मको छायांकन निर्देशन भने सुसन प्रजापतिले गरेका छन् । फिल्ममा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ ।
