महारानीको जात्रा : राज्यलाई भड्खालोमा पुर्‍याउने नेतृत्वमाथि प्रश्न

कान्तिपुर थिएटरमा मञ्चनरत ‘महारानीको जात्रा’ नाटकले राजनीति र नेतृत्वको असंवेदनशीलता, अहंकार र राज्यप्रतिको उदासीनतामाथि गहिरो प्रहार गर्छ ।

मंसिर १५, २०८२

रीना मोक्तान

Queen's procession: Questions on the leadership that is leading the state into chaos

What you should know

काठमाडौँ — स्वभावले निकै चञ्चल । अधीर अनि अहम्‌ले भरिएकी महारानीलाई एक दिन हात लाग्छ 'रमाइलो छ' पत्रिका ! ८ पाना लामो समाचारमा नजिकको राज्यको राजकुमारी सोफियाको राज्यभिषेकको खबर छापिएको हुन्छ ।

पति ब्रायनसहितको तस्बिर यति चर्चित सेलिब्रिटी पत्रिकामा छापिएको देखेपछि महारानीलाई छटपटी सुरु हुन्छ ।

उनीभित्रको ईर्ष्याले यति उकुसमुकुस पैदा गरिदिन्छ कि उक्त पत्रिकामै छापिन महारानीले बिहे गर्नेसम्मको घोषणा गर्छिन् । स्टोर रुममा फ्याँकिसकेको श्रीपेच खोजेरै भए पनि दोस्रोपटक राज्यभिषेकको तयारी थाल्न दरबारलाई अह्राउँछिन् । अब यस्ती अहमकारी महारानीका लागि कहाँबाट खोज्नु राजा ? कहाँबाट पाउनु पत्तो, फ्याँकिसकेको श्रीपेचको ? तब सुरु हुन्छ, दरबारमा जात्रा । खास अर्थमा महारानीको जात्रा !

कान्तिपुर थिएटरमा मञ्चनरत नाटक 'महारानीको जात्रा'ले यस्तै एउटा शाषकको कथा समेट्छ, जो राज्यको शासनभन्दा बाहिरी चमकधमकमै अल्झिएकी छिन् । उनले पहिरिने पहिरन त्यसकै उदाहरण हो- चम्किलो बैजनी पहिरन । अपरिपक्व, असंवेदनशील र दुरदृष्टिरहित नेतृत्त्वले राज्यलाई कस्तो भड्खालोमा पुर्‍याउँछ ? 'महारानीको जात्रा' बलियो व्यंग्य हो ।

महारानीलाई राज्य, राज्यमा बस्नेहरुको कुनै फ्रिक्री छैन । उनी त नितान्त आफूलाई मात्रै केन्द्रमा राख्छिन् । आफ्नो उद्देश्य, योजना र सपनाकै पछि दौडिन्छिन् । तर, उनको त्यो सपनाभित्र राज्य कतै अटाउँदैन । राज्यको लाभ हुने, राज्यमा हुनेहरुका जीवनलाई सपार्नेभन्दा पनि उनीहरुकै जीवनमा झन् संकट थपिदिने काम महारानीले दोहोर्‍याइरहन्छिन् ।

Queen's procession: Questions on the leadership that is leading the state into chaos

दिपल बरालको निर्देशन र परिकल्पनामा तयार भएको यो नाटकले नेपाली राजनीति, अनि राज्य सञ्चालनमा पुगेका त्यस्ता नेतृत्त्वलाई व्यंग्य गर्छ, जसले महारानीले भन्दा ठूल्ठूला जात्रा खडा गरिदिए । त्यस्ता अहम्‌कारी नेतृत्त्व जसका कारण देश जल्यो, अस्थिरता कायम रह्यो । वर्तमान नेपाली समाज, नेपाली राजनीति र नेतृत्त्वलाई प्रश्न गर्ने यो नाटक मंसिर २० सम्म मञ्चन हुनेछ ।

नाटकले वर्तमान परिस्थिति मज्जाले पक्रे पनि नाटकले केही पक्ष समात्न सकेको छैन । जस्तै, यसमा प्रयोग द्विअर्थी संवाद । नाटक रमाइलो बनाउने नाममा थुप्रै ठाउँमा द्विअर्थी संवादको प्रयोग गरिएको छ । तर, दर्शकलाई जबरजस्त हँसाउनकै लागि यी शब्दलाई संवादमा राखिएको भान हुन्छ । खासमा हाम्रा नेतृत्त्वले कसरी जनता हँसाइहेछ भन्ने परिस्थिति समेटिदिएकै भए पनि दर्शक हँसाउन सकिन्थ्यो । यस्ता द्विअर्थी संवाद र अतिरञ्जनाले भरिएको दृश्यले नै कति ठाउँमा नाटकले बोकेको गह्रौं मुद्दा सतही बनेको छ । निर्देशकले यी संवादलाई ठाडो भाषामा भन्नुको साटो घुमाउरो शैलीमै भनिएको भए नाटकले उठाएको गम्भीर विषयको गहिराइमा दर्शक पुग्ने थिए । डाक्टरदेखि प्रधानमन्त्री र पण्डित पात्रले बोल्ने द्विअर्थी संवादमा त्यो संवदेनशीलता पक्रिएको भए सुनमा सुगन्ध थपिने थियो । 

Queen's procession: Questions on the leadership that is leading the state into chaos

यो नाटकमा सूत्रधार (कथावाचक) को प्रयोग निकै पट्यारलाग्दो छ । खासमा नाटकमा जसरी कथा अगाडि बढ्छ, त्यसमा खासै सूत्रधारको आवश्यकता देखिन्न । त्यसैले हुनुपर्छ नाटकमा यो चरित्रको स्थापना, कथा वाचनमा यो पात्रले पार्ने प्रभाव महत्त्वपूर्ण छैन । नाटकमा थुप्रै चरित्र छन्, सबै चरित्रलाई उतिकै महत्त्व दिइएको छ । जनसम्पर्क विभाग सम्हालेकी पात्रले उक्त चरित्रलाई सुन्दर शैलीमा मञ्चमा प्रस्तुत गर्छिन् । प्रहरी बनेका चरित्रदेखि 'रमालो छ'का सम्पादक अनि चन्दुलगायतका पात्रले दर्शक हँसाइरहन्छन् । महारानीको चरित्रमा उषा रजक बेजोड लाग्छिन् । उनले एक अहम्‌ले भरिएको शाषकभित्रको दम्भ, अहंकारलाई आफ्नो शारीरिक हाउभाउदेखि बोलिने संवादमार्फत प्रकट गरिदिएकी छन् । 

यो नाटकको सुन्दर पक्ष भनेको यसले तोडेको संवाद कहने तरिका हो । खासमा यो नाटकमा पात्रहरु अतिरञ्जित संवादमा बोल्छन् । उनीहरु बोलीचालीको भाषामा होइन, त्यसैलाई अतिरञ्जना गरेर बोलिरहेका हुन्छन् । यथार्थलाई भुलेर अतिरञ्जनातर्फ लम्किरहेको नेतृत्त्वलाई व्यंग्य गर्न नाटकले समाएको शैली निकै रोचक छ ।

एकाध दृश्यमा त महारानी बनेकी उषाले समात्ने यो शैलीले दर्शक हसाउँदै विषयवस्तुको गाम्भीर्यतर्फ दर्शकलाई गज्जबले डोर्‍याउँछ । नाटकको अन्त्य निकै शसक्त र बलियो विम्बहरुले भरिएको छ । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully