आठ वर्षपछि निर्देशनमा फर्किएका लक्ष्मण निर्देशित यो फिल्ममा विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका छ ।
काठमाडौँ — निर्माणाधिन फिल्म ‘काजी’ चैत २७ देखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन तय गरेको हो ।
पोस्टरमा अभिनेता विपिन कार्कीको नयाँ अवतार देखिन्छ । पोस्टरमा उनीसँगै अभिनेत्री केकी अधिकारी देखिन्छन् ।
रामप्रसाद रिजालको प्रस्तुति रहने यो फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । यो फिल्ममा विपिन र केकीसँगै अन्य कलाकार गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।
‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरेका तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माणमा जुटेका लक्ष्मणले ८ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । चिन्तन राजभण्डारीले खिचेको यो फिल्ममा कालिप्रसाद बास्कोटाको संगीत छ ।
