सन्दीप रेड्डी वाङ्गाको फिल्म ‘स्पिरिट’ बाट बोबी देओल बाहिरिएपछि दक्षिण कोरियाका सुपरस्टार डन लीको प्रवेश पक्का भएको छ ।
काठमाडौँ — साउथ अभिनेता प्रभासका हातमा अहिले धेरै फिल्म छन् । आगामी वर्षको सुरुवातमा उनी ‘द राजा साब’मा देखिँदैछन् ।
सन् २०२४ मा रिलिज भएको ‘कल्की २८९८ एडी’मा प्रभासको कामको राम्रो चर्चा भयो । अहिले उनको अर्को फिल्म ‘स्पिरिट’को छायांकन भइरहेको छ ।
यो फिल्मलाई सन्दीप रेड्डी वाङ्गाले निर्देशन गरिरहेका छन् । फिल्ममा पहिले मोहनलालसहित रणवीर कपुरले पनि केमियो गर्ने चर्चा थियो ।
बलिउड अभिनेता बबी देओल पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिने कुरा थियो । तर अहिले उनी यो प्रोजेक्टबाट बाहिरिइसकेका छन् ।
वाङ्गाको पछिल्लो फिल्म ‘एनिमल’मा रणवीर कपुरको अपोजिट बबी देओल नै मुख्य भिलेन थिए । फिल्मले विश्वभरबाट ९१५ करोडको कमाइ गरेको थियो । यही कारण ‘स्पिरिट’का लागि पनि वाङ्गाले बबीलाई नै सोचेका थिए ।
तर पछि निर्देशकले बबीको ठाउँमा नयाँ अनुहार ल्याउने योजना बनाए । बलिउड सञ्चारमाध्यमका अनुसार फिल्ममा दक्षिण कोरियाका सुपरस्टार डन लीको इन्ट्री पक्का भइसकेको छ ।
उनीसँगै तृप्ति डिम्री, विवेक ओबेरोय, प्रकाश राज, कञ्चनालगायत कलाकार पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । पहिले डन लीलाई प्रस्ताव गरिएको भूमिका नै बोबी देओललाई दिने सोच थियो ।
यो फिल्म आगामी ०२६ मा रिलिज हुनेछ ।
