मुख्य भूमिकामा कामेश्वर चौरसिया रहेको फिल्म दुई भाषामा प्रदर्शन हुँदै छ, जसको टिजर नेपाली दर्शकसँगै हिन्दी दर्शकका लागि पनि आएको छ।
काठमाडौँ — जेन–जी आन्दोलनले प्रत्यक्ष प्रभाव पारेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शनको नजिक आइपुगेको छ । यो फिल्म मंसिर १८ मा प्रदर्शनमा आउने तयारी छ । प्रदर्शन नजिक आइपुगेसँगै निर्माण पक्षले फिल्मको हिन्दी भर्सनको टिजर पनि सार्वजनिक गरेको छ ।
हिन्दी भर्सनमा फिल्म हेर्ने दर्शक लक्षित गर्दै यो टिजर सार्वजनिक गरिएको हो । यो फिल्म एकसाथ नेपाली र हिन्दी भर्सनमा नेपालसहित भारतमा प्रदर्शन हुनेछ ।
टिजरमा फिल्मका मुख्य कलाकार कामेश्वर चौरसिया देखिन्छन् । सस्पेन्स थ्रिलर विधाको यो फिल्ममा उनीसँगै सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको मुख्य भूमिका छ ।
सुशान्त गौतमले निर्देशन गरेको यो फिल्मलाई मुकेश खनालले लेखेका हुन् । विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेको यो फिल्ममा शरद महतोको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन छ ।
