चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघु चलचित्र प्रतियोगिता सम्पन्न

महोत्सवमा भारत, बंगलादेश र केन्याका चलचित्र समेत प्रदर्शन गरिएको थियो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

The 4th International Women's Film Festival and the 6th Short Film Competition concluded

What you should know

काठमाडौँ — आइवर्ट नेपाल (इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन नेपाल च्याप्टर) द्वारा आयोजित चौथो अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव तथा छैटौँ लघु चलचित्र प्रतियोगिता सम्पन्न भएको छ । महिला सशक्तिकरण, सिर्जनशीलता र कलात्मक अभिव्यक्तिलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रहरूमा भारतबाट ‘ब्याक स्टोरी’, बंगलादेशबाट ‘एक्स्ट्रा गर्ल फ्रम् द सिल्भर स्क्रिन’ र ‘द लाइफ अफ अक्टोपस फिसरम्यान’ तथा केन्याबाट एक चलचित्र प्रदर्शन गरिएको थियो ।

त्यसैगरी, छैटौँ लघु चलचित्र प्रतियोगितामा अन्तिम छनोटमा परेका ९ लघु चलचित्रमध्ये पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी माइलाज गार्डेन’ प्रथम, सरिता साहको ‘पुतला’ दोस्रो र निशा मानन्धरको ‘बडी नट माइन्’ तेस्रो भएका छन् । आकांक्षा जिसी भुजेलको खोजमूलक वृत्तचित्र ‘डस्ट टु डिस्क्लोज’ ले भने विशेष अवार्ड प्राप्त गर्यो ।

प्रतियोगितामा छानिएका सबै चलचित्र १५ मिनेटभीत्रका थिए । प्रतियोगिताका चलचित्र निर्माता अनुपा श्रेष्ठ, पत्रकार तथा वृत्तचित्र निर्माता देवकी बिष्ट र निर्देशक समुन्द्र भट्ट निर्णायकका रूपमा रहेका थिए ।

यस वर्षदेखि आइवर्ट नेपालले मोबाइलबाट निर्माण भएका लघु चलचित्रहरूको पनि प्रतियोगिता आरम्भ गरेको छ । नागार्जुन नगरपालिकाको दस वटै वडाहरूमा नागार्जुन नगरपालिका र इमेज एकेडेमीसँग सहकार्यमा गत असारमा आयोजित मोबाइल फिल्म मेकिङ तालिममा सहभागीहरूले बनाएका ६ लघु चलचित्रमध्ये चण्डिका केसीको ‘ओ नेगेटिभ’ प्रथम, अनुशा पौडेलको ‘मेनोपज’ दोस्रो र दिपा बलामीको ‘द मिस्ड कल’ तेस्रो भएका छन् । विजेताहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । मोबाइल चलचित्रतर्फका निर्णायकहरू आइवर्ट नेपालका बोर्ड सदस्यहरू रहेका थिए ।

महोत्सवकी निर्देशक संगीता श्रेष्ठले नेपाली चलचित्र उद्योगमा महिला निर्देशकहरू निकै कम रहेका अवस्थामा यस्ता महोत्सव र प्रतियोगिताले महिला निर्देशक तथा फिल्म मेकरहरूलाई उत्साह र अवसर प्रदान गर्ने बताइन् । आइवर्ट नेपालकी अध्यक्ष इच्छा गुरुङले महिला पत्रकारहरू, चलचित्र निर्माणमा रुचि राख्ने महिलाहरूको क्षमता अभिवृद्धि, उनीहरूको सिर्जनाको सम्मान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच बढाउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

कान्तिपुर

Link copied successfully