लन्डनमा सम्पन्न अवार्ड कार्यक्रममा छक्का पञ्जा ५ उत्कृष्ट फिल्म घोषित हुँदा दीपाश्री उत्कृष्ट निर्देशक, स्वस्तिमा र प्रदीप पपुलर एक्ट्रेस–एक्टर बने ।
What you should know
काठमाडौँ — ‘दोस्रो इन्फा फिल्म अवार्ड २०२५’मा अभिनेता प्रदीप खड्काले 'पपुलर एक्टर'को अवार्ड उचालेका छन् । इन्टस् माइ ट्यालेन्टको प्रस्तुति र इन्फा इभेन्ट युकेको आयोजनामा लन्डनमा आयोजित अवार्ड कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरीले ‘खुस्मा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।
अवार्ड कार्यक्रममा अभिनेता प्रदीपसँगै 'पपुलर एक्ट्रेस'को विधामा अभिनेत्री स्वस्तिमा खड्काले अवार्ड पाइन् । त्यस्तै 'छक्का पन्जा ५' उत्कृष्ट फिल्म घोषित हुँदा यही फिल्मकी निर्देशक दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । विजय बरालले 'पूर्णबहादुरको सारङ्गी'बाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड उपासनाको पोल्टामा परेको हो ।
उत्कृष्ट पटकथाको अवार्ड भने दीपकराज गिरीले 'छक्का पञ्जा ५'बाट उचाले । त्यस्तै 'द आउट ल : दफा २१९'बाट साहिल खानले उत्कृष्ट सम्पादनको अवार्ड जिते । छायाँकारमा पुरुषोत्तम प्रधानले 'पिताम्बर'बाट अवार्ड हात पारे । 'पिताम्बर'बाटै अभिनेता प्रमोद अग्रहरी 'उत्कृष्ट खलपात्र' घोषित भए । उनी अवार्ड उचाल्न उपासना, प्रदीपलगायतसँग लन्डन पुगेका थिए ।
अवार्ड कार्यक्रममा 'कार्साङ'बाट जितु नेपालले सह-अभिनेता, सृजना सुब्बा(अञ्जिला) र ऋचा घिमिरे (तेल भिसा) ले सह-अभिनेत्रीको अवार्ड उचाले । नव अभिनेता/अभिनेत्रीको अवार्ड भने विवेक कर्माचार्य र सृजना निङलेखुले जिते । चुल्ठे काजी र श्री श्रेष्ठले उत्कृष्ट 'द्वन्द्व निर्देशक'को अवार्ड पाए । सुनिल श्रेष्ठ र गम्भीर विष्टले 'छक्का पञ्जा ५'बाट नृत्य निर्देशकतर्फको अवार्ड उचाल्दा गायिका शान्ति श्री परियारले 'रुकुमै कोट'का लागि उत्कृष्ट गायिकाको अवार्ड पाइन् । त्यस्तै 'पूर्णबहादुरको सारङ्गी'को 'रैयाँ चाँदीको'बोलको गीतबाट उत्कृष्ट गायकको अवार्ड पाए । सङ्गीतकारतर्फ थानेश्वर गौतमले 'रात किन हुन्छ हजुर' (अञ्जिला)बाट अवार्ड पाए ।
फिल्म 'सतीदेवी' र निर्देशक कृषा चौलागाईंलाई भने कार्यक्रममा स्पेशल मेन्सन दिइयो । 'द आउट ल : दफा २१९' र 'पिताम्बर'बाट अभिनेता सुमन भन्डारी र अभिनेत्री दिव्या रायमाझीलाई 'इन्करेजमेन्ट' अवार्ड पाउँदा 'छक्का पञ्जा ५'बाट अभिनेता दिपकराज गिरी र 'ह्रस्व दीर्घ'बाट अभिनेत्री नीता ढुंगानाले 'पब्लिक च्वाइस अवार्ड' अवार्ड पाए ।
त्यस्तै जुरी अवार्डतर्फ मिलन चाम्स 'अञ्जिला'बाट उत्कृष्ट निर्देशक, 'लाज शरणम'बाट महेश त्रिपाठी उत्कृष्ट अभिनेता, 'कर्साङ'बाट दीया मास्के उत्कृष्ट अभिनेत्री, केदारप्रसाद घिमिरे 'कमेडी एक्टर अफ दि इयर', केकी अधिकारीलाई विशेष योगदान सम्मान, 'पूर्णबहादुरको सारङ्गी'लाई 'ब्लकबस्टर मुभी अफ दि इयर' र 'तेल भिसा'लाई 'डायस्पोरा मूभी अवार्ड', तेरिया मगरलाई 'पर्फमर अफ दि एयर' घोषित भए ।
अवार्ड उचाल्न नेपालबाट फिल्मकर्मीको ठूलो समूह लन्डन पुगेको थियो । आयोजक समितिमा इन्फा टिममा युकेबाट आशिष पन्त, टंक भट्टराई, राज पाण्डे तथा नेपालतर्फ सनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा, मनिष कार्की छन् । गौरी मल्लको संयोजकत्वमा रमेश बुढाथोकी र करुण थापाको ३ सदस्यीय जुरी मण्डलले २०८१ साल आसार मसान्तपछि प्रदर्शनमा आएका फिल्म छनोट गर्दै यो वर्ष लन्डनमा अवार्ड वितरण गरिएको हो ।
यो वर्ष अभिनेत्री शर्मिला मल्ललाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । फुटबलर एन्जिला तुम्हाम्फे सु्ब्बा र कविता नेपालीलाई विशेष प्रेरणा सम्मान प्रदान गरिएको थियो । अवार्ड कार्यक्रममा कलाकारहरु दिपकराज गिरि तथा दिपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरे माग्नेबुढा तथा सितादेवी तिमिल्सिनाको कमेडी प्रस्तुतिसँगै तेरिया मगर, कविता नेपाली, समर्पण लामा, उषा उप्रेती एलिसा शर्मालगायतको विभिन्न प्रस्तुति समेटिएका थिए ।
