जावेद अख्तरले ‘शक्ति’ र ‘मिली’ फिल्ममा अमिताभ बच्चनले स्टारडमभन्दा बढि चरित्रमा ध्यान दिएको भन्दै ती अभिनयले आफूलाई अत्यन्त भावुक बनाएको बताए।
काठमाडौँ — बलिउड अभिनेता अमिताभ बच्चनका थुप्रै उत्कृष्ट फिल्म छन् । ‘जन्जिर’, ‘सत्ते पे सत्ता’, ‘डन’, ‘कुली’, ‘नसीब’, ‘मोहब्बतें’, ‘शहंशाह’, ‘अग्निपथ’, ‘कभी खुशी कभीगम’, ‘शोले’, ‘मुकद्दरका सिकंदर’देखि लिएर ‘दीवार’, ‘सुहाग’, ‘बागवान’, ‘लावारिस’, ‘शराबी’, ‘सरकार’, ‘पा’, ‘सूर्यवंशम’ र ‘सिलसिला’सम्म ।
भारतका प्रसिद्ध लेखक जावेद अख्तरका नजरमा भने अमिताभ बच्चनको सबैभन्दा उत्कृष्ट अभिनय दुई फिल्ममा छन् । जावेदले ‘कौन बनेगा करोड़पति’ मा अमिताभकै अगाडि उनका फिल्मबारे भनेका थिए ।
जावेदका अनुसार अमिताभ बच्चनको सबैभन्दा उत्कृष्ट अभिनय ‘शक्ति’ फिल्ममा देखिन्छ । यस फिल्ममा दिलीप कुमारले अमिताभका बुबाको भूमिका निर्वाह गरेका थिए ।
जावेदका अनुसार अमिताभले यस फिल्ममा आफ्नो स्टारडमलाई चरित्रभन्दा अगाडि कहिल्यै आउन दिएनन् । जसकारण उनका लागि यो अभिनय विशेष रह्यो । जाबेदको नजरमा अमिताभको अर्को फिल्म ‘मिली’ हो ।
अख्तरका अनुसार ‘मिली’ मा अमिताभका दृश्यहरू यति प्रभावशाली थिए कि उनी गहिरो रूपमा प्रभावित भएका थिए ।
अमिताभ बच्चन र जावेद अख्तरले सहकार्य गरेका फिल्महरू अहिले पनि दर्शकहरू सम्झन्छन् ।‘दीवार’, ‘शोले’, ‘डन’ र ‘जन्जीर’ जस्ता ऐतिहासिक फिल्ममा दुवैको योगदान अविस्मरणीय छ ।
जावेद अख्तरले अमिताभका लागि धेरै अविस्मरणीय गीत पनि लेखेका छन् ।
