‘वाराणसी’ नामक फिल्ममा महेश बाबू र प्रियंका चोपडा पहिलोपटक एकसाथ देखिन लागेका छन्, जसको बजेट करिब १ हजार करोड रुपैयाँ छ।
काठमाडौँ — एस.एस. राजामौलीले ‘बाहुबली’ र ‘आरआरआर’ जस्ता सफल फिल्मपछि अब ‘वाराणसी’ नामक फिल्म बनाउँदै छन् । फिल्ममा महेश बाबू र प्रियंका चोपडा पहिलोपटक एकसाथ देखिँदैछन् ।
पहिले ‘एसएसएमबि२९’ नामले परिचित यो फिल्मको शीर्षक शनिबार हैदराबादमा आयोजित एक भव्य कार्यक्रममा सार्वजनिक गरिएको हो । यो फिल्म करिब १ हजार करोडमा बन्दैछ ।
महेश बाबू तेलुगू फिल्म उद्योगमा उच्च पारिश्रमिक लिने अभिनेतामध्ये पर्छन् । ५० वर्षीय महेश एक फिल्मका लागि ६० देखि ८० करोड रुपैयाँसम्म लिने गर्छन् । उनी हैदराबादको जुबिली हिल्समा अवस्थित करिब ३० करोड बराबरको महँगो घरमा बस्छन् ।
साथै, उनको लग्जरी कार कलेक्शनमा रेंज रोभर, मर्सिडिज–बेंज, अडी तथा ३ करोड मूल्यको लैम्बोर्गिनी ग्यालार्डोसमेत छन् । यस्तै, ६.५ करोड रुपैयाँ लागतको भ्यानिटी भ्यानसमेत उनका सम्पत्तिमा पर्दछ । त्यसैगरी, साउथ सिनेमाबाट सुरुआत गरे पनि प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो छुट्टै पहिचान बनाएकी छन् ।
‘वाराणसी’का लागि उनले ३० करोड बराबरको पारिश्रमिक लिएकी छन् । प्रियंका हाल पति निक जोनससँग न्यूयोर्कस्थित एक शानदार घरमा बस्छिन् । उनका सवारीसाधनमा मर्सिडिज–बेंज एस–क्लास, पोर्श, अडी क्यू7, बीएमडब्ल्यू 5 सिरिज तथा करिब २.५ करोड मूल्यको रोल्स–रोयस पनि छन् ।
यी सबै कारणले महेश बाबू र प्रियंका चोपडाको जोडीसहित राजामौलीको ‘वाराणसी’ भारतीय सिनेमामा अत्यधिक प्रतिक्षित र इतिहासकै महंगा परियोजनामध्ये एक बनेको छ।
