रिमा, एलिजा लगायत थुप्रै कलाकारले समाजसेवा र परिवर्तनको उद्देश्यले विभिन्न दलमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेका छन् ।
What you should know
काठमाडौँ — एक पार्टी- एक कलाकार ! अहिले निर्वाचन आयोगमा दर्ता गराउने नयाँ पार्टीमा संलग्न अनुहार हेर्दा सबैले यही नारा पच्छ्याएजस्तो देखिन्छ । हरेक नयाँ पार्टीमा कलाकार जोडिएकै छन् । कतिको नाम अझै सार्वजनिक हुँदै जाला ! हालै अभिनेत्री एलिजा गौतम 'जनादेश पार्टी नेपाल'को उपाध्यक्ष भइन् । अभिनेत्री/कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा ऊर्जामन्त्री कुलमान घिसिङले गठन गरेको 'उज्यालो नेपाल पार्टी'मा प्रवेश गरिन् । अभिनेत्री निशा अधिकारी 'गतिशील लोकतान्त्रिक पार्टी'को केन्द्रीय सदस्य भइन् ।
निर्वाचन आयोगअघि पार्टीले दिएको सदस्यता प्रमाणपत्र समाउँदै खिचेको दृश्य हेर्दा लाग्छ, पार्टीका लागि पनि कलाकार नभई नहुने सदस्य हुन् । कलाकारलाई हेर्दा लाग्छ, उनीहरू पनि खोला किनारमा बल्छीमा माछा पर्ने मछुवाझैं यही मौकाको पर्खाइमा छन् । आखिर नाम र दाम कमाइसकेका कलाकार कलाकर्म नै छाडेर राजनीतिमा किन प्रवेश गर्दैछन् त ? आउनूस्, उनीहरूबाटै जानौं ।
जेनजी आन्दोलनपछि रीमासँग थुप्रै पार्टी ठोक्किन आइपुगे । राजनीतिमै आउने भएपछि राम्रो नेतृत्व रहेको पार्टी रोजौं भनेर कुलमानको दलमा आएको उनले सुनाइन् । 'राजनीतिमा आउने नै भएपछि आफ्नो आइडल कसलाई मान्ने भन्ने हुन्छ । उहाँले त आफ्नो कर्मले आफूलाई प्रमाणित पनि गरिसक्नु भएको थियो, त्यसैले उहाँको पार्टीमा जोडिएँ,' रीमा सुनाइन् ।
हुन त रीमाका लागि कलाकारिता फस्टाइरहेकै क्षेत्र थियो र छ । तर, राजनीतिमा आउनैपर्छ भन्ने बाध्यकारी अवस्थाले आफूलाई यता डोर्याएको उनी सुनाउँछिन् । खासमा जेनजी आन्दोलनबीच रिमालाई एक किसिमले असह्य अनुभव भएको थियो । केही कुरा राम्रोसँग नियाल्न पनि सकिरहेकी थिइनन् । यदि म नै निर्णायक क्षेत्रमा भइदिएको भए के-के परिवर्तन ल्याउन सकिन्थ्यो होला ? रीमाको मनमा यस्तै कुरा खेलिरहँदा नै राजनीतिमा प्रवेश गर्नुपर्छ भन्ने लागेको उनले बताइन् । 'लामो समय त हामीले आफ्नै पेसामा बितायौं । तर यसबीचमा कति प्रधानमन्त्री फेरिए । तर, उनीहरू फेरिँदा पनि हाम्रो जिन्दगी त फेरिएन,' रीमा सुनाउँछिन्, 'हाम्रा लागि केही गर्देलान् भनेर बसेर हुन्न रहेछ । हाम्रा लागि अरूले गर्छ/गर्दैन थाहा छैन । तर, अबको पुस्ताका लागि हामीले गरिदिनुपर्छ भन्ने अनुभव भयो । त्यो नै राजनीतिमा आउने मेरो ट्रिगर पोइन्ट थियो ।'
जनताको मनमा विश्वास कसरी जगाउने ? रीमालाई लाग्छ उनी संलग्न पार्टीदेखि हरेक नयाँ गठित दलका लागि यो प्रश्नको उत्तर दिनु चुनौती हो । 'हामीभन्दा अगाडि यो देशमा पार्टी नै नभएको, काम नै नभएको भन्ने होइन । तर उहाँहरूले राम्रोसँग काम गरिदिनु भएको भए हामी होमिनु पर्थेन,' रीमाले भनिन्, 'जनतालाई भनेका कुरा हामी गर्न सक्छौं भन्ने विश्वास दिलाउन सक्नु नै चुनौती हो अहिलेको । हामीले अहिलेसम्म हेरेको/देखेको राजनीतिले ठूलो कुरा गर्यो तर वास्तविक अर्थमा जनतासामु उनीहरूले त्यो सेवा पुर्याउन नै सकेनन् । त्यसैले गर्छु भनेको कुरा गरेर देखाउनु नै हाम्रो चुनौती हो ।'
धेरैलाई लाग्न सक्ला राजनीतिमा प्रवेश गरेपछि रीमाले स्टेज कार्यक्रम कसरी सम्हाल्छिन् ? तर, अहिले आफ्नो करिअर भन्दा पनि जिम्मेवारी प्रमुख भइदिएको रीमा सुनाउँछिन् । त्यसैले पनि उनका लागि अब फिल्म, स्टेजभन्दा राजनीति प्रमुख हो । उनी भन्छिन्, 'सायद राजनीतिक चेतना र सहभागिताले कलालाई हेर्ने मेरो बुझाइ झनै गहिरो हुनेछ भन्ने नै हो । तर, अहिलेको मेरो जिम्मेवारी भनेको जनताको सेवा र राजनीतिक जिम्मेवारी हो ।'
सुशासनको स्थापना, भ्रष्टाचारको अन्त्य, समृद्धि र विकासजस्ता जनादेश पार्टी नेपालले बोकेको सिद्धान्तले आफूलाई राजनीतिमा तानेको एलिजाको भनाइ छ । युवालाई सम्मानपूर्वक रोजगारीको अवसर पनि आफ्नो पार्टीको मूल उद्देश्य रहेको उनी सुनाउँछिन् । टेलिभिजनको निर्देशक हुँदै कलाकारितामा लागेकी एलिजालाई समाज सेवाको भावले नै राजनीतिमा प्रवेश गराएको बताउँछिन् । कसैको सहयोगबिना उनी संलग्न एलिजा फाउन्डेसनले समाज सेवा गर्दै आयो । तेह्रथुम, डडेल्धुरादेखि विभिन्न क्षेत्रका महिलालाई यही फाउन्डेसनद्वारा उनले सहयोग गर्दै आइरहेकी थिइन् । जेनजी आन्दोलनपछि 'केही परिवर्तन' ल्याउनैपर्छ भन्ने जोशले आफूलाई राजनीतितर्फ तानेको एलिजा सुनाउँछिन् । 'यो भर्खरै जन्मिएको पार्टी हो । अध्यक्षमा रमण कर्ण हुनुहुन्छ । अझै पनि धेरै कलाकारसँग हाम्रो पार्टीले कुरा गरिरहेको छ,' एलिजा सुनाउँछिन्, 'कलाकारदेखि समाजसेवी सबैलाई जोडेर एकजुट भई अगाडि बढ्ने सोचेका छौं ।'
एलिजा पहिल्यैदेखि राजनीतिमा आउने चाह राख्थिन् । आमा नै राप्राको केन्द्रीय सदस्य हुन् । आमाको सक्रिय राजनीतिले एलिजालाई सानैदेखि राजनीतितर्फ आकर्षित गर्थ्यो । 'मेरो पति पनि वरिष्ठ पत्रकार हुनुहुन्छ । म खासमा राम्रो समयको पर्खाइमा थिएँ । अब यति राम्रो पार्टीको उपाध्यक्ष भइसकेपछि महिलाका लागि काम गर्न पाउँदा म धेरै खुसी छु,' उनले सुनाइन् ।
एलिजा र रीमा मात्रै होइन, राजनीतिमा कलाकारको प्रवेश लामो समयदेखि उपेक्षित बन्दै आएको नेपाली कला क्षेत्रका लागि सकारात्मक खबर हो । नीतिगत तहमा फिल्मकर्मी नपुग्दा यो क्षेत्रमा सरकारको नजर नपुगेको भन्नेहरूका लागि पनि राजनीतिक प्रवेशले केही आशा जगाइदिएको छ । तर, धमाधम पार्टी प्रवेश गरिरहेका कलाकार संलग्न दलले कला र साहित्यका फाँटमा के परिवर्तन ल्याउलान् भन्ने पर्खाइको विषय नै भइहाल्यो ।
फिल्म क्षेत्र, कलाकारको विषय आफ्नो प्राथमिकतामा रहे पनि अहिलेका लागि राजनीतिमा सांस्कृतिक संवेदना बढाउने नै आफ्नो जिम्मेवारी रहेको रीमा सुनाउँछिन् । 'वास्तवतमा भन्ने हो भने समाजमा समावेशीकरण भयो, समाज लोकतान्त्रिक भयो भने कला स्वतन्त्र हुन्छ। हो, म सबै कलाकारको त्यो स्वतन्त्रता, सुरक्षा र मान/सम्मान दिलाउनका लागि प्रयासरत रहनेछु,' रीमाले भनिन्, 'तर, अहिलेलाई राजनीतिमा सांस्कृतिक संवेदना कसरी भर्ने ? विविधता झल्कने प्रतिनिधिहरूको सहभागिता कसरी गराउने भन्ने नै मेरो प्राथमिकता हो ।'
दुई डुंगाको यात्राले गन्तव्य नपुर्याउने हुँदा कलाकारितालाई थाँती राखेर आफू अब 'जनादेश पार्टी नेपाल'बाटै महिला हक/हितका लागि काम गर्ने एलिजा सुनाउँछिन् । 'हाम्रो पार्टी भर्खर जन्मेको हो, आउने दिनमा धेरै काम गर्ने मन छ । महिलाका हक/हितका लागि म काम गर्नेछु । रुकुम र डोल्पाका महिला, बलात्कृत महिलाले अझै न्याय पाएका छैनन् । म यही पार्टीका माध्यमबाट महिलाका लागि काम गर्नेछु,' एलिजाले भनिन् ।
अभिनेत्री रेखा थापा कलाकार राजनीतिमा आउनु सकारात्मक रहेको बताउँछन् । ‘उहाँहरू राजनीतिमा आउनु एकदम राम्रो हो । उहाँहरू कलाकारभन्दा पनि पहिले त यो देशको नागरिक हो । यो देशको नागरिकको हैसियतले देश रुपान्तरणका लागि त जो कोही पनि आउँछन् । कलाकार आए भन्दैमा ठूलो आँखा बनाउनुपर्ने वा सानो आँखा बनाउनुपर्ने खास कारण नै छैन,’ उनले भनिन्, 'त्यसैले यसलाई खिसिट्युउरी गर्नुपर्ने, यसले सक्दैन/ सक्छ भन्नुभन्दा पनि एक व्यक्तिका रूपमा, सचेत नागरिकका रूपमा उहाँहरूलाई स्वागत गर्नुपर्छ ।'
हुन त जेनजी आन्दोलनअघि पनि कलाकार राजनीतिमा थिएनन् भन्ने होइन । थुप्रै कलाकार विभिन्न दलसँग आवद्ध नै थिए । रेखा र करिश्मा मान्धरहरूको आगमनले भने लामो समय मिडियामा स्थान पाइरह्यो । अभिनेत्री रेखाले त राप्रपाबाट चुनावसमेत लडिन् । तर, यसरी राजनीतिमा आउँदा सत्ताले सधैं देशका गहनालाई आफ्नो स्वार्थका लागि प्रयोग गरिएको, मनोरञ्जनका साधनका रूपमा मात्रै हेरेको भन्ने टिप्पणी पनि सुनिए ।
अभिनेत्री रेखा थापा यो टिप्पणीको खण्डन गर्दै कलाकार प्रयोगमा नआएको विचार राख्छिन् । रेखाको अनुभवले भन्छ, कुनै कलाकार राजनीतिमा आयो भन्दैमा नेतृत्त्व तहमै पुग्नु पर्दैन । ‘राजनीतिमा आउने बित्तिकै प्रधानमन्त्री बन्नुपर्छ, राष्ट्रपति बन्नुपर्छ भन्ने होइन नि ! म यो देशको राजनीतिमा प्रत्यक्ष रूपमा दख्खल राख्छु, अथवा यो देशको हरेक परिस्थितिलाई नजिकबाट नियाल्छु भन्ने पनि त सन्देश हो नि त,’ रेखाले सुनाइन्, 'कलाकार कसरी प्रयोग भए ? वर्षौंवर्ष कार्यकर्ता भएकाहरूले पनि त चान्स पाएका छैनन् नि ! उनीहरूलाई नजरअन्दाज गर्ने अनि चिनेको अनुहार आउने बित्तिकै प्रधानमन्त्री बन्नुपर्छ भन्ने मेरो मान्यता होइन । त्यो त सहायक कुरा हुन् ।'
रेखा थापाहरू राजनीतिमा गए, के भयो त परिवर्तन ? भन्ने प्रश्नसँग उनी आफैं पनि ठोक्किएकी छन् । तर, सत्य र सकारात्मक कामका लागि समय लाग्ने रेखा सुनाउँछिन् । ‘समाजसेवामा नाम चिनिएकाहरू आज भगवान् हुँदा भोलि उनीहरू नै राक्षस पनि बनेका छन् । क्याबिनेट सम्हालेका संचारकर्मी जो राजनीतिमा आए, उनीहरूले के गरे भन्ने पनि त देखियो त,’ रेखा भन्छिन्, 'त्यसैले म चाहन्छु हरेक जनताले आत्मालोचना गर्न जरुरी छ । नेतालाई मात्रै गाली गर्नुभन्दा एकपल्ट हामीले कसलाई भोट दिएर देश कस्तो अवस्थामा पुग्यो भन्ने पनि नियाल्नुपर्छ भन्छु ।'
निर्माता रवीन्द्रसिंह बानियाँ कलाकार राजनीतिमा आउनु स्वागतयोग्य विषय रहेको बताउँछन् । ‘कलाकार कसैको हुनुहुन्न भन्ने कुराचाहिँ कलाकारिता गर्दा हो । तर, योगदान कसरी दिने भन्ने पक्षमा त कसैले कलाबाट भन्दा पनि राजनीतिबाट दिन सक्छु भन्ने लाग्यो भने उहाँहरू राजनीतिमा आउन सक्नुपर्छ । राजनीतिमा आउन सबैको हिम्मत पनि हुँदैन,’ उनी भन्छन्, 'अर्काले हाम्रो एजेन्डा बोकिदेला भनेर अरूलाई किन भरिया बनाउनू ? आफ्नो एजेन्डा लिएर आफैं जाने नि ! जसलाई लाग्छ, राजनीतिबाट बढी योगदान दिन सक्छु त्यता गए भइगो । कलाकारले केही गर्नु हुँदैन, पवित्र भएर बस्नुपर्छ भन्ने हुँदैन । पवित्र त सोच हुनुपर्छ ।'
रवीन्द्र हस्तक्षेपकारी भूमिकाका लागि पनि कलाकार राजनीतिमा आउनुपर्ने बताउँछन् । तर, कलाकारले आफू ‘मार्केटिङ टुल’ बन्नबाट बच्नुपर्ने पनि उनको सुझाव छ । ‘यदि आफ्नो स्पष्ट धारणा छ भने गएर त्यसलाई स्थापित गर्नुपर्छ भन्ने लाग्छ । तर, लहलहैमा गएर लाग्नु भएन,’ रवीन्द्रले भने ।
हुन त अझै पनि कलाकारले राजनीति गर्नु हुँदैन भन्ने मान्यता पनि कति फिल्मकर्मीमा देखिन्छ । कतिले कला र राजनीति फरक आयाम हुन् भन्ने दृष्टिकोणबाट हेर्छन् । तर, कतिले कला आफैंमा राजनीति हो भन्ने भाष्यमा विश्वास गर्छन् । कला र साहित्यले जहिल्यै दमनविरुद्ध आवाज उठाउने हुँदा कलाकारको राजनीति प्रवेशलाई सकारात्मक कोणबाट हेर्न्छन् निर्देशक मनोज पण्डित ।
‘कला र साहित्यले आफ्नो माध्यमबाट जहिल्यै राजनीतिक रूपले दबिएकाहरूको आवाज उठाउँछ । जब-जब सत्ताले दासत्व थाेपर्न थाल्छ, तब कलाको एउटा दृष्टिकोण जागृत हुन्छ र त्यसले आवाज उठाउँछ । फेरि अर्कोतर्फ सत्ताले कलाकारलाई आफ्नो साधनका रूपमा प्रयोग गर्छ । आफ्नो शक्तिलाई हाइज्याक गर्नलाई सत्ताले कलाकारलाई प्रयोग गर्छ,’ मनोजले भन्छन्, 'कहिलेकाहीँ हाम्रा कलात्मक साधनहरूले मात्रै स्वतन्त्रताको आवाज उठाएर नपुगेको अवस्थामा कला, साहित्यकर्मी सडकमा उत्रन्छन् । कलाकार बढी मानवीय रूपले संवेदनशील हुने हुँदा त्यो दासत्वविरुद्ध जान्छन् । त्यसैले उनीहरू राजनीतिक रूपमा संगठित भएर आउँछन् ।'
