संगीत क्षेत्रमा प्रवेश गरेको २५ वर्ष पुरा भएको अवसरमा प्रकाशले 'बुढा बुढी' ल्याएका हुन् ।
काठमाडौँ — ‘नाइ मलाई त्यहि केटी चाहिन्छ’ बोलको चर्चित गीतका सर्जक गायक प्रकाश पौडेलले नयाँ गीत बजारमा ल्याएका छन्। उनले ‘बुढा बुढी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
ज्योतिषीको परिचयसमेत बनाएका गायक प्रकाश पौडेलले लामो अन्तरालपछि सांगीतिक क्षेत्रमा यही गीतबाट कमब्याक गरेका हुन्।
पहिलो एल्बम ‘थ्रि मच’देखि अहिलेसम्म ६ एल्बम सार्वजनिक गरिसकेका प्रकाशले अन्य गीतहरू ‘कसैलाई नभन्नु ल’, ‘डक्टर साब भिटामिन लेख्दिनु’, ‘तितेपाती तितेपाती’, ‘घाँस काट्ने खुर्के’, ‘हास्ने गीत हाहाहा’, ‘सलाम वालेकुम’, ‘भुडें’, ‘भोली छुट्टी’लगायत चर्चित गीतहरू यसअघि बजारमा ल्याइसकेका छन्।
संगीत क्षेत्रमा प्रवेश गरेको २५ वर्ष पूरा भएको अवसरमा प्रकाशले ‘बुढा बुढी’ सार्वजनिक गरेका हुन्। ‘बुढा बुढी’को म्यूजिक भिडियोलाई निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन्। म्यूजिक भिडियोमा कलाकारहरू साक्षी लम्साल र कमल सिंहका साथमा गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, सुधिर सापकोटा लगायतको अभिनय छ।
