मौलिक मिठास गुमेको 'जारी २'

पहिलेको ‘प्रडुसर्स कट’मा देखिएको अधुरोपन निर्देशकको १४ मिनेट लामो ‘डिरेक्टर्स कट’मा सम्बोधन गरिएको छ र कथालाई गहिरो बनाइएको छ ।

कार्तिक २७, २०८२

रीना मोक्तान

'Jari 2' loses its original sweetness

What you should know

काठमाडौँ — डिस्क्लेमर- स्पोइलर आउँदैछ, पढ्नुअघि सोच्नु होला ! मानौं, रुख कथा हो । अनि तपाईं कथा कोर्ने व्यक्ति । अब तपाईंले रुखको चित्र कोरिरहँदा जरा बनाउनु पर्ला । त्यसमा हाँगा जोडिदिनु पर्ला, पात पलाएको देखाउनै पर्ला । फल फलेको देखाउने हो भने पनि तपाईंकै हातमा ! तर, एउटा सग्लो रुख बनाउन तपाईंले रुखका विभिन्न भागहरु कोर्न मेहनत त पक्कै गर्नुहुन्छ !

तर, तपाईंले पात मात्रैको चित्र कोरिदिनु भयो भने त्यसलाई रुख मान्ने कसरी ? त्यसलाई रुखका रुपमा पनि तपाईंले व्याख्या गर्न सक्नुहोला । तर, त्यसमा रुखको स्वरुप हुन्न । खासमा त्यो त रुखको अपूरो चित्र मात्रै हुनेछ । त्यसअर्थमा तपाईंले त रुखको अपूरो कथा मात्रै पो सुनाउँदै हुनुहुनुन्छ कि ? पूरा कथा सुनाउन त सग्लै रुख पो बनाउनु पर्‍यो, उसको यात्रा देखाउनु पर्‍यो । यसरी कथालाई अपूरै, अधुरै कोरिदियो भने के होला ? 

हो यस्तै भएको थियो, उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ’को ‘प्रडुसर्स कट’मा ! मंगलबारदेखि निर्देशकको दृष्टिकोणबाट सम्पादन गरिएको भर्सन हलमा लाग्यो । अर्थात् अब तपाईंहरुले ‘डिरेक्टर्स कट’मात्रै हेर्न पाउनु हुनेछ । आउनुस्, अब यी दुई भर्सनमा फिल्म कस्तो देखिन्छ ? खोतलौं । 

निर्माताको दृष्टिकोणबाट सम्पादित फिल्मको भर्सन अपूर्ण थियो । फिल्ममा माओवादी जनयुद्धले एक दम्पत्तिको जीवनमा, उनीहरुका सम्बन्धमा, उनीहरुले बाँच्दै आएको समाज र संस्कृतिमा कस्तो असर पार्‍यो भन्ने देखाउन खोजिएको छ । तर, कथा कोर्दै जाँदा उपेन्द्रले ती दम्पत्ति र संस्कार त छोएका छन् । संस्कार र संस्कृतिले सुन्दर बनेको त्यो समाज अनि त्यहाँका जीवनमा युद्धले छेडेको घाउहरु पनि देखाएका छन् । तर, नेपाली समाजले भोगेको यो कालखण्ड देखाइरहँदा उनले उक्त कथालाई अपूरै देखाए । कथाको ‘आर्क’(कथा वाचन शैली) पूरा नहुँदा ‘जारी २’को ‘प्रडुसर्स कट’ अपूर्ण देखिन्थ्यो । यस्तो लाग्थ्यो कथा वाचकलाई कथा भन्दै गर्दा बीच्चैमा बिछट्टै झ्याउ लाग्यो, अनि कथाको पूर्णविराम गरिदिए । 

खासमा सन् २०२३ मा प्रदर्शनमा आएको ‘जारी’, त्यसमा प्रस्तुत कथा र कथा वाचनको शैली मौलिक थियो । लिम्बू समाजको संस्कार र संस्कृतिको लेपन, दम्पति जीवनमा आउने उतारचढाव र मसिनो धागोमा उनीएको सम्बन्धका विभिन्न आयमलाई पालम र च्याब्रुङको धुनमा पस्किएको थियो । त्यसमा लिम्बू समाज, उनीहरुका जीवन पद्दति मिसाइएको थियो । तर, त्यतिबेला हाङमा(मिरुना मगर) र नामसाङ(दयाहाङ राई)को जीवनमा मात्र एउटै समस्या थियो – निसन्तानपन । त्यही समस्याले उनीहरुका दम्पति जीवनमा आउने आरोह-अवरोह मिसाएर निर्देशक सुब्बाले ‘जारी’को कथा सुनाए । त्यही मौलिक स्वादलाई दर्शकले रुचाइदिए, बद्लामा करोडौंको नाफा उपेन्द्रको पोल्टामा पर्‍यो । 

त्यसैले होला, यो पटक त्यही स्वादलाई दोब्बर बनाउन निर्देशकको टोली हतारिएको देखिन्छ । के–मा कथा सक्न ! त्यसैले यहाँ च्याब्रुङ चाँडै च्यातिन्छ । फेरि, हाङमा र नामसाङको जीन्दगीमा पनि त्यही तेज गतिमा माओवादीको प्रवेश हुन्छ । खासमा ‘जारी’मा कतै पनि माओवादी र गोलीको गन्ध थिएन । सिक्वेल बनाउनु उद्दतहरुलाई कथा त चाहियो । अब के कथा जोड्ने त ? माओवादी जनयुद्ध ! जनयुद्धले बनाएको चोट, च्याब्रुङ च्यातिँदा सम्बन्धित समुदायमा पर्ने दुखाई सरह नै हो । तर, सम्बन्ध र च्याब्रुङ, माओवादी, मित्रता अनि दम्पति, थुप्रै विषयलाई एकसाथ भन्न खोज्दा कथा वाचनको उही मौलिक मिठास ‘जारी २’ले गुमाएको छ । 

हुन त माओवादीलाई फिल्ममा सुरुदेखि नै छिटपुट देखाइन्छ, तर त्यसको कथा समानन्तर नबग्दा यो विषय जबरजस्त राखिएको भान हुन्छ । 

जस्तै, ‘जारी’मा कतै माओवादीको नामोनिसान भेटिन्न । त्यसैले ‘जारी २’मा हाङमा र नामसाङको जीवनमा माओवादीको प्रवेश झ्वाट्ट भएजस्तो देखिन्छ । निर्देशक सुब्बाले उक्त कुरालाई प्रिक्वेलमै निर्माण गरिदिएको भए, उक्त कथाको स्थापना अझै विश्वासिलो बनाइदिएको भए, माओवादीको प्रवेश अकस्मात हुन्थेन । माओवादी भित्रिएसँगै च्याब्रुङ र पालमको संगीत सुनिने ठाउँमा अब गोली र बन्दुकको कर्कस सुनिन्छ ।  

 ‘जारी २’मा हाङमा र नामसाङको जीन्दगी भने अपूरो छैन । छोरीको आगमनले जीवन पालमको गतिमा अगाडि बढिरहेको हुन्छ । तर, जसै माओवादीको प्रवेश हुन्छ, उनीहरुको संसार भताभुङ्ग हुन थाल्छ । यता मंगलसेनले बिहे गर्छ । मंगलसेनको बिहे, उनको परिवार र दम्पत्ति जीवनलाई पनि फिल्ममा अलि बढी स्थान दिइएको छ । नामसाङले च्याब्रुङ बजाउन सिकेको छ, पालम गाउन जानेको छ । भनौं भने पालमले उसलाई तानेको छ । हाङमाको भाइ (अनिल सुब्बा)ले पनि बिहे गरिसकेको छ ।

हाङमा र नामसाङबीच हुने झगडा यथावत छ । बुढाबुढीको झगडा परालको आगो ! शैलीमा निर्देशकले यी दुईबीच यो पटक पनि एकअर्कासँग झगडिरहने बहाना बनाइदिएका छन् । त्यसैले दुईबीच ‘जारी’मा झैं एकअर्कासँग नोकझोंक चलिरहन्छ । मैती अनिल सुब्बा दिदीको सुरक्षाका लागि एक हुल केटाहरु बोकेर भेनालाई लखेटिरहन्छन् । मंगलसेनसँगै नामसाङले थुप्रै अरु साथीहरु पाएका छन् यसपटक । बुद्धि तामाङदेखि विष्णु मोक्तानको समूहले नामसाङको गुट पनि ठूलो बनाइदिएको छ ।

तर, जसै गाउँमा माओवादी छिर्छ । तब सेना र माओवादीको युद्धबीच यी पात्रहरुको जीवनमा संकट आउँछ । च्यातिएको च्याब्रुङमार्फत संस्कृतिमा परेको प्रभाव देखाउन खोजिएको छ । गाउँ अचानक सुनसान देखिन्छ । मेलापात घट्दै जान्छ । अनि परिवर्तन, मुक्ति, लिम्बूवानजस्ता ठूला शब्दले गाउँलाई रणभुल्लमा पारिदिन्छ । गाउँले चेपुवामा पर्छन् । अनि सेना र माओवादीको चेपुवामा च्यापिन्छ अर्को एउटा सम्बन्ध – हाङ्मा र नामसाङ । जसमसी (जय मसिह – जय येशु) गर्दै क्रिश्चियन पनि भित्रिन्छ । 

नामसाङलाई माओवादीले लान्छ, कथाको लय यहीँबाट बिग्रिएको छ । यता हाङमा उनको खोजीमा रातोदिन डाँडाकाँडा धाइरहन्छिन् । जंगल, खोलामा नामसाङको पद्चाप खोजी हिँड्छिन् । तर, उनको उक्त यात्रालाई दर्शकले खासै अनुभव गर्नै सक्दैन ।

उनले पति खोजीका लागि गरिएको दु:ख दर्शकले समानुभूत गर्दैन । कारण, गाउँबाट हराउनुअघि दोस्रो बिहे गर्ने ध्याउन्नमा रहेका पति, चर्को विवादबीच अचानक हराएको नामसाङलाई खोज्न हिँडेको दृश्य उति विश्वास लाग्ने शैलीमा स्थापित छैन । अर्को त यी दुई दम्पत्ति र माओवादीको रस्साकस्सी देखाइरहँदा गाउँका अरु पात्र कहाँ छन् ? के गर्दैछन् त्यता खासै समय खर्चिन्न । एक/दुई दृश्य मात्रै देखाइएको छ । मूलत निर्देशकले यहाँ पति खोज्दै हिँडेकी हाङ्माको पीडा र तडपन देखाउन खोजेजस्तो देखिन्छ । तर, पति खोज्दै हिँडेकी हाङ्माको आँशु र खोजीले खासै दर्शकको मन छुँदैन ।

सबैभन्दा बिझाउने पाटो त यसरी पति खोज्दै हिँडेकी हाङ्मा जब एकदिन घर फर्किन्छिन्, अचानक पति घर फर्किसकेको देखाइन्छ । तर, माओवादीले कसरी नामसाङलाई फिर्ता गरिदियो ? त्यसको खास उत्तर दर्शकले पाउँदैन । फेरि, छ्यापछ्याप्ती सेना पुगिरहने गाउँमा माओवादीले छोडिदिएको नासाङलाई सेनाले टुलुटुलु हेरि मात्रै रहलान् त ? लामो समय माओवादी र सेनाको कथा देखाइरहँदा यो अन्तिम दृश्यमा भने यी दुई पक्ष त्यसै हराउँछन् । कामरेड सुनिता(ऋचा शर्मा)लाई के भयो ? उनले कसरी नामसाङलाई छोडिदिए ? यी सबै कथालाई त्यतिकै हतारोमा अवतरण गराइएको छ- ‘प्रडुसर्स कट’मा । तर, १४ मिनेट थप गरिएको ‘डिरेक्टर्स कट’मा भने यी सबै प्रश्नको जवाफ छ । त्यसैले पनि फिल्मको यो भर्सन ‘प्रडुसर्स कट’भन्दा सुन्दर छ । यसमा माओवादीको प्रवेश, सँस्कृति र पहिचानको मुद्दा छ । युद्धको सुन्दर रंग छ । 

क्रिश्चियन धर्मलाई भने जबरजस्त जोडिदिएको छ । हुन त निर्देशकले माओवादीसँगै भित्रिएको क्रिश्चियन देखाउन खोजेका होलान् । तर, यही विषयलाई पनि कविताको लयमा भन्न सकिन्थ्यो । अब क्रिश्चियन धर्मले मंगलसेनको दम्पति जीवनमा आएको समस्या त देखाउन खोजेका छन् । तर, यो धर्म के सम्बन्धहरु बिथोल्न मात्रै आएको थियो त ? संस्कृति मास्नै मात्रै आएको थियो त ? यो विषयलाई केवल देखाउनका लागि मात्रै स्थान दिइएको देखिन्छ । यदि यही धर्मले मंगलसेनको दम्पत्ति जीवनमा समस्या ल्याएको हो भने त्यो सम्बन्ध जोगाउन उनीहरुले के गरे त ? हाङ्मा र नामसाङको कथा प्राथमिकतामा राख्दा यी दुईको जीवनमा आएको क्रिश्चियन धर्म र परिवर्तन अधुरै लाग्छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully