अहिले हलमा फिल्मको 'डिरेक्टर्स कट' भर्सन लागिरहेछ ।
काठमाडौँ — गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को टिमले पूर्वमा दर्शकको सकरात्मक प्रतिक्रिया बटुलेको छ । अहिले फिल्मका कलाकारसहितको निर्माण टोली दर्शक भेट्न पूर्व पुगेका छन् ।
फिल्मका निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरुना मगर दर्शक साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका हुन् । फिल्म लिम्बू सँस्कृति र सँस्कारमा आधारित छ । सोमबार झापाको दमक र बिर्तामोड पुगेको यो समूह मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हल भ्रमणमा पुगेको थियो ।
मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याइएको छ । यसअघि फिल्मको 'प्रडुसर्स कट' देखाइएको थियो । ‘डिरेक्टर्स कट’को अर्थ हो, निर्देशकको दृष्टिकोणबाट सम्पादन गरिएको फिल्म । फिल्ममा अभिनेता दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका छ ।
फिल्ममा अन्य कलाकारहरु बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।
