व्यवसायिक घरानाको लगानी आउँदा फिल्म क्षेत्रलाई के फाइदा ?

लगानीको अभावमा संघर्षरत फिल्मकर्मीलाई कर्पोरेट घरानाको सहभागिताले सिर्जनशीलता, गुणस्तर र दीर्घकालीन व्यवसायिकतातर्फ बढ्ने आशा जगाएको छ।

कार्तिक २६, २०८२

रीना मोक्तान

What are the benefits to the film industry when investment from business houses comes?

What you should know

काठमाडौँ — नेपाली फिल्म क्षेत्र किन उद्योगका रुपमा विकास भएन ? अझै पनि करोडमाथिको फिल्म बनाउन निर्माताले घर/जग्गा नै दाउमा राख्नुपर्छ । आखिर करोड खर्चर फिल्म बनाउँदा किन सधैं निर्माताले नै यो जोखिम मोल्नुपर्ने ? यदि सर्वोश्व लगानी गरिएको फिल्म नै डुब्यो भने उक्त लगानीकर्ता फिल्म निर्माणमा दोहोरिएलान् कि नदोहोरिएलान् ? नदोहोरिए, फिल्ममा लगानी कसले गर्ला ? फिल्म निर्माणलाई सहज बनाउन कस्ता व्यवसायिक समूह यो क्षेत्रसँग आकर्षित हुनुपर्छ त ? फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने जिम्मेवारी क-कसको हो ? 

फिल्म क्षेत्रमा लामो समयदेखि चल्दै आएको बहसमा उठ्ने प्रश्न हुन् यी । यी प्रश्चको उत्तरमा एउटै जवाफ सुनिन्छ- फिल्म निर्माणमा निजी क्षेत्र पनि आकर्षित हुनुपर्‍यो । व्यवसायिक घरानाले फिल्म निर्माणमा हात हाले फिल्मकर्मीले स्वतन्त्र रुपले फिल्म बनाउन सक्नेछन् । स्वतन्त्र ? फिल्म बनाउन पैसा खोज्ने दबाब नभएपछि निर्देशकले सिर्जनशील पाटो मात्रै सम्हालेर फिल्म बनाउन पाउँछन् । खासमा नेपालमा अहिले पनि फिल्ममा निस्फिक्री लगानी गरिदिनेकै कमी छ । फिल्म बनाउनुअघि निर्देशकलाई निर्माता खोज्ने तनाव हुन्छ ।

फिल्मको लगानीकर्ता खोज्दा-खोज्दै थकित प्रतिभाहरुले अझै आफ्ना सुन्दर कथाहरुलाई पोल्टामै बोकेर हिँडिरहेछन् । यस्तो अवस्थामा ती प्रतिभालाई फिल्म बनाउने वातावरण बनाउन कसले मद्दत गर्नुपर्ला ? चलचित्र विकास बोर्डसँग फिल्ममा लगानी गर्ने ठूलो बजेट छैन । अनि यस्तो समयमा फिल्मकर्मीसँग निर्माताको अघिपछि कुद्ने बाहेकको विकल्प हुन्न । फेरि त्यसरी सहजै कहाँ निर्माता भेटिने हुन् र ? व्यवसायिक फिल्म निर्माण त्यसकारण पनि कतिका लागि फलामको चिउरा सावित भइरहेछ । त्यसैले फिल्मकर्मीका लागि व्यवसायिक घरानाको लगानी महत्त्वपूर्ण बनेको हो । 

तर, नेपालमा निजी क्षेत्र फाट्टफुट्ट मात्रै फिल्म निर्माणमा झुल्किरहन्छन् । सधैं झुल्किरहुन् पनि कसरी ? व्यवसायिक क्षेत्रले फिल्म निर्माणमा ठूलो बजार देखेकै छैन । बजारका मामलामा कछुवाको गतिमा नेपाली फिल्म उकालो चढिरहेको देखिन्छ ।

पाँच दशक लामो फिल्म इतिहासमा बल्लतल्ल ‘पूर्णबहादुरको सारङ्गी’ले आधा अरबको बजार देखाइदियो । यस्तो परिस्थितिमा व्यवसायिक घराना गोल्छा समूह पनि ‘परान’मार्फत् फिल्म निर्माणमा होमिनु नेपाली फिल्मकर्मीकर्मीका लागि उत्साहको विषय बनेको छ । गोल्छा समूहका शेखर गोल्छाले रञ्जित आचार्यसँग मिलेर ‘बाइस्कोप प्रोडक्सन’ खोल्दै फिल्म निर्माणमा डेब्यू गरेका छन् । बक्स अफिस रिपोर्टले भन्छ-बाइस्कोपले पहिलो फिल्ममा गरेको लगानी खेर गएन । फिल्म अहिले यसरी घर-घर प्रवेश गरेको छ कि,  पहिलो/दोस्रो दिन कम सो प्राप्त गरेको ‘परान’ हाउसफूल दर्शकसहित चलिरहेछ । 

अब प्रश्न उठ्छ, लगानीका थुप्रै सम्भावित क्षेत्र छाडेर गोल्छा समूह फिल्मतर्फ किन तानियो ?

विशुद्ध व्यवसायिक रुपले फिल्मतर्फ तानिए पनि आफूभित्रको कथा भन्ने हुटहुटीले ‘बाइस्कोप सिनेमा’मार्फत् फिल्म क्षेत्रमा प्रवेश गरेको निर्माता गोल्छा सुनाउँछन् । उनी लगानी बढेसँगै नेपाली फिल्मको गुणस्तर बढ्नेमा ढुक्क छन् ।

‘पक्कै पनि कर्पोरेट हाउस आउँदा फिल्मको लगानी बढ्छ । लगानी बढ्यो भने फिल्म गुणस्तरको बढ्छ । नेपाली फिल्म सिर्जनशील थियो तर, लगानीको कमी छ भन्ने लाग्थ्यो । तर, लगानी बढायो भने सिर्जनशील पाटोमै प्रभाव बढ्ने हुन्छ,’ गोल्छा सुनाउँछन्, ‘हो, अझै पनि धेरै लगानी गर्ने बजार छैन यहाँ । लगानी गरिएको रकम उठाउने स्थिति छैन । तर, राम्रो व्यवस्थापन र लगानी गरियो भने बजार पनि बढ्न सक्छ भन्ने सोचले हामीले ‘बाइस्कोप सिनेमा’ भन्ने कम्पनी बनाएका हौं ।’ 

गोल्छालाई थाहा छ, नेपालको फिल्म बजार एकदमै सानो छ । ९० प्रतिशत फिल्मले अझै पनि लगानी उठाइरहेको हुँदैन । फिल्मको गुणस्तर बढ्न नसक्दा बजारको अवस्था यस्तो रहेको गोल्छा तर्क गर्छन् । त्यसैले गुणस्तरीय फिल्म बनाउँदै लामो दौडको यात्रा गर्न आफू यो क्षेत्रमा आइपुगेको उनी सुनाउँछन् ।

‘गुणस्तरीय फिल्म बनाएन भने कसले हेर्छ फिल्म ? अहिलेको समयमा फिल्मबाट पैसा कमाउन अझै गाह्रै देखिन्छ । तर, मैले फिल्म निर्माणमा ‘लङ टर्म भिजन’ नै राखेको छु,’ उनले थपे । गोल्छाका अनुसार ‘बाइस्कोप सिनेमा’ले तीन पक्षमा ध्यान दिएर फिल्म निर्माण गर्नेछ । पहिलो –‘कपि पेस्ट’ फिल्म नबनाउने । दोस्रो- नाच/गान वाला दृश्य नराख्ने । जसलाई एक्सन हेर्नुछ, नाचगान हेर्नुछ उनीहरुले हलिउड/बलिउड हेर्न पाइहाल्छन् । अर्को त पारिवारिक कथामा फिल्म बनाउने, जसले राष्ट्रिय विषय पनि समेटोस् ।

‘परानको कथा सुनेपछि मलाई लाग्यो –यो त नेपाली समाजसँग मिल्दो छ । अनि बजारमूखी विषय पनि छ । विकास होस् या राष्ट्रिय मुद्दाहरु होस् त्यहाँ पैसा भएन भने त्यो दिगो हुन्न । त्यो आधारमा हामीले ‘परान’को कथालाई रोज्यौं । फेरि फिल्मको कथा राम्रो थियो, पारीवारिक विषय थियो । नेपालको जल्दो-बल्दो विषय पनि यसमा समेटिएको छ,’ गोल्छा परानको कथा रोज्नुका कारण सुनाउँछन् । 

गोल्छासँग मिलेर रञ्जित आचार्यले सन् २०१७ मै ‘बाइस्कोप सिनेमा’मार्फत् फिल्म बनाउने सोचेका थिए । तर, रञ्जितका अनुसार त्यतिबेला सोचेजस्तो स्क्रिप्ट हात लागेन । उनीहरुले थुप्रै स्क्रिप्ट सुने । अन्तमा 'परान'को कथाले तानेपछि फिल्म निर्माणमा डेब्यू गरे । प्रिज्म एडभर्टाइजिङका सिइओसमेत रहेका रञ्जित फिल्ममा व्यवसायिकता ल्याउनुपर्छ भनेरै गोल्छासँगको सहकार्यमा निर्माणमा होमिएका हुन् । २ वर्षअघि दीपक आचार्य 'काकु'ले रञ्जितसँग सम्पर्क गरेर एउटा फिल्मको कथा सुनाएका थिए । त्यही कथामाथि नै 'परान' बनेको हो ।

व्यसायिक घराना फिल्ममा आउनुपर्छ - फिल्मकर्मी

'परान'मार्फत् व्यवसायिक घराना फिल्म निर्माणमा होमिँदा फिल्मकर्मी उत्साहित देखिन्छन् । व्यवसायिक घराना जोडिँदा लगानी, बजारदेखि व्यवसायीकरण बढ्ने हुँदा यस्तो समूह फिल्म क्षेत्रमा आउनुपर्ने धारणा राख्छिन्, अभिनेत्री रेखा थापा ।

‘फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनसमेत उहाँहरुसँग मार्केटिङको आइडिया हुन्छ । त्यसैले व्यवसायिक घराना त फिल्म निर्माणमा आउनैपर्थ्यो । म त निकै खुशी छु, गोल्छा समूह फिल्म क्षेत्रमा आउनुहुँदा, उहाँहरु आउन अझ ढिला भयो,’ रेखाले भनिन्, ‘एउटै फिल्मबाट यहाँ करोडौंको व्यापार भएको छ । यो बजारलाई बढाउन, विस्तारित गर्न र उद्योगका रुपमा विकास गर्न उहाँहरुको आगमन सकरात्मक छ, म त उहाँहरुलाई स्वागत पनि भन्न चाहन्छु ।’ 

निर्मातासमेत रहेकी रेखाको अनुभवले भन्छ- यस्तो घराना लगानीमा आइपुग्दा सिर्जनशील व्यक्तिमा आर्थिक भार हुँदैन । उनीहरुले फिल्मको विषयवस्तुमा मनग्य मिहेनत गर्ने समय पाउँछन् । ‘कर्पोरेट समूहले लगानी गर्दा फिल्म बनाउनेलाई पैसा खोज्ने चिन्ता हुँदैन । जोखिमको डर हुँदैन । गुणस्तरीय फिल्म बनाउन ध्यान पुर्‍याउन सक्छ,’ रेखा थप्छिन् । 

व्यक्तिगत रुपले लगानी गर्नु र व्यवसायिक घरानाले फिल्म बनाउनुमा फरक देख्छन्, निर्माता रविन्द्रसिंह बानिया । ‘हामी त घिसिपिटी फिल्म बनाउँछौं । तर, ठूलो घराना आइदिनु भयो भने उहाँहरु लङ टर्म जाने योजनासहित आउनुहुन्छ । उहाँहरुलाई १/२ वटा फिल्म घाटा हुँदा पनि केही हुँदैन । दिगो लगानी हुँदा व्यवसायिकता पनि बढ्दै जान्छ,’ रविन्द्रले भने, ‘हामी त इमोसनमा आएर लगानी गर्छौं । तर, त्यो भन्दा पनि व्यवसायिक भएर लगानी गर्दा त्यसले प्रतिफल राम्रो दिन्छ ।’ रविन्द्र यस किसिमको घरानाले फिल्म बनाउँदा देशभित्रकै प्रतिभालाई प्रयोग गर्नुपर्ने तर्क राख्छन् । रविन्द्र भन्छन्, ‘फिल्ममा मात्रै लगानी गर्नेहरु त छँदैछन् । तर, व्यवसायिक घरानाले फिल्म बनाउँदा दक्ष जनशक्तिमाथि पनि लगानी हुनुपर्छ ।’ 

रविन्द्रका अनुसार फिल्म क्षेत्रका विभिन्न पक्षहरु जस्तै, दक्ष जनशक्तिलगायतका क्षेत्रमै पनि व्यवसायिक घरानाको लगानी हुनुपर्छ । नयाँ निर्देशकदेखि कलाकारलाई स्थान दिनुपर्छ । भएका कलाकारको क्षमता अभिवृद्धिकै लागि पनि लगानी खर्चिनुपर्छ । जसरी व्यापारिक घराना जोडिएपछि विदेशमा ठूला-ठूला स्टूडियोहरु खुले । त्यसरी नै 'बाइस्कोप सिनेमा', दीर्घकालीन बन्न, फिल्म क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न फिल्मबाहेक यस्तै विभिन्न आयाममा उनीहरुको लगानी हुनुपर्ने रविन्द्रको धारणा छ ।

'भोलि २० करोडको फिल्म बनाउने आइडिया फुर्ला । खुम्चिनु पर्थ्यो पहिला भने उहाँहरु आएपछि त्यसलाई पनि साकार गर्न सकिन्छ । १० रुपैयाँ लिएर जुवा खेल्नु र बिहानसम्म टिकेर बस्न सक्ने पैसा लिएर बसेको जुवाडेमा फरक पर्छ नि । अहिले हामी १० रुपैयाँ वालामा पर्छौं, जसको त्यत्ति पैसा सिध्धियो भने टाप कस्नुपर्छ,' रविन्द्र भन्छन् । 

रविन्द्रले भने झैं बाइस्कोपले पनि दक्ष जनशक्तिमा लगानी सोच नबनाएको होइन । गोल्छा बाइस्कोपमा विदेशका कलाकार प्रयोग गरे पनि प्राविधिकमा नेपाली प्रतिभालाई नै स्थान दिइने अडान लिन्छन् । 'हामी जोखिम मोल्न सक्ने अवस्थामै छौं । एउटा फिल्म फ्लप भएर मलाई असर गर्दैन । त्यो जोखिम मोल्ने क्षमता हामीसँग छ । त्यसैले हामी नयाँ प्रतिभा खोज्दैछौं । हो, हामी स्थापित कलाकारलाई पनि फिल्ममा लिनेछौं । तर, जहाँसम्म हुन सक्छ हामी नयाँ कलाकार लिएर पनि ‘एक्सपेरिमेन्ट’ गर्नेछौं,' गोल्छाले भने । ‘परान’मै पनि उनीहरुले नयाँ निर्देशकलाई विश्वास गरेर ४ करोड ३० लाखको जोखिम मोलेको देखिन्छ । 

व्यवसायिक घरानाले फिल्मको लगानी मात्रै नभइ फिल्म क्षेत्रकै लगानीमासमेत ध्यान दिनुपर्नेमा जोड दिन्छन्, निर्माता बानिया । 'उहाँहरु लामो समय यहाँ टिक्नुहुन्छ कि भन्ने लोभ हो हामीलाई । फकाएर हुँदैन, सम्भावना पनि देखिनुपर्‍यो यो क्षेत्रमा । अरु क्षेत्र भन्दा यहाँ ९० प्रतिशत जोखिम छ । उहाँहरुले गर्ने लगानीलाई सरकारले सुनिश्चितता गरिदिनु पर्‍यो,' रविन्द्र भन्छन्, 'मनोरञ्जन त सफ्ट पावर नै हो नि । यो क्षेत्रलाई सबै उद्योग, सरकारले बुझिदिनुपर्‍यो । यो उद्योगले त छोटो समयमै पनि आम्दानी दिलाउँछ ।'

अभिनेत्री थापा व्यवसायिक घरानाले पनि फिल्म क्षेत्रलाई गम्भीर लगानीका रुपमा सोच्दै दीर्घकालीन यात्रा तय गर्नुपर्ने बताउँछिन् । 'अलि गम्भिर भएर लाग्दा करोडौंको व्यापार हुन्छ त यहाँ । कब्बड्डी, छक्का-पञ्जाको संस्करणले कमायो । त्यसैले उहाँहरुजस्तो लगानीकर्ताले फिल्म निर्माणमा निरन्तरता दिनुहोला भन्ने सुभकामना छ मेरो,' रेखाले भनिन् । 

हुन त यसअघि पनि चौधरी ग्रुपको सिजी इन्टरटेन्टमेन्टले 'भिसा गर्ल' भन्ने फिल्ममार्फत निर्माणमा डेब्यू गरेको थियो । तर, त्यसयता देशको यति ठूलो व्यवसायिक घराना निर्माणमा दोहोरिएन । त्यतिबेला अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठले चौधरी ग्रुपसँग निर्माण प्रस्ताव पुर्‍याएका थिए । उनीहरुले फिल्ममा लगानीमा त गरे, तर 'भिसा गर्ल' फ्लप भयो । त्यसयता सिजीले फिल्म बनाउने विषय उठिरह्यो, तर कहिल्यै त्यसको ठोस नतिजा देखिएन । बसन्त चौधरीलाई फिल्ममा लगानी गर्न उत्प्रेरित गरेकी अभिनेत्री ऋचा शर्मा उनीहरुजस्ता व्यवसायिक समूह फिल्म निर्माणमा आउनुपर्ने बताउँछिन् । 

'ठूलो कर्पोरेट हाउस फिल्ममा आउनु त एकदम राम्रो हो । उहाँहरुले त स्टूडियो नै खोलेर वर्षको १०/१२ फिल्म बनाउने, नयाँ प्रतिभालाई स्थान दिन सक्नुभयो भने त्यो त नेपाली फिल्म क्षेत्रकै लागि राम्रो विषय हो नि त । कर्पोरेट शैली उहाँहरुले यता ल्याउनुभयो भने झन गजब्ब,' ऋचाले भनिन्, 'उहाँहरुले बनाउनु भएको फिल्म चल्यो भने अरुले पनि यो क्षेत्रमा बजार देख्नुहुन्छ । त्यसले अरु कर्पोरेट हाउसलाई पनि आकर्षित गर्ला । त्यो त हाम्रो लागि पनि सुखद कुरा हो ।' 

चौधरी ग्रुप किन फिल्म निर्माणमा दोहोरिएन त ? ऋचालाई पनि खास कारण थाहा छैन । 'हामीले त सबै कुरा पारदर्शी राखेका थियौं । तर, उहाँहरु किन आउनु भएन थाहै भएन । तर, चौधरी ग्रुप पनि फिल्म निर्माणमा फर्कनुपर्छ,' ऋचाले भनिन् । 

हुन त विनोद चौधरीको व्यक्तिगत  लगानीमा 'बासुदेव' बनेकै हो । बसन्त चौधरीले सिजी इन्टरटेन्टमेन्टमार्फत 'भिसा गर्ल' बनाए । प्रतक्ष/अप्रतक्ष रुपमा कति व्यवसायिक व्यक्तिले फिल्ममा लगानी गरिरहेकै पनि छन् । ‘गुण ग्रुप’मा राजेन्द्र शाक्य रेखाका फिल्ममा जोडिरहेकै व्यापारी हुन् । हलको सबैभन्दा ठूलो च्यानल क्यूएफएक्सले पनि केही वर्षअघि फिल्म बनाएकै हो । 'भिसा गर्ल' निर्देशक प्रचण्डमान श्रेष्ठ यस्ता घरानाले विशुद्ध लगानी मात्रै नभई ‘कर्पोरेट संरचना’लाई नै भित्र्याउन सक्नुपर्ने विचार राख्छन् ।

'कर्पोरेट स्ट्रक्चरमा फाइनान्स हेर्ने, स्क्रिप्ट लेखक र क्रियटिभ हेड राखेर आउनु कर्पोरेट शैली हुन जान्छ । तर, एकछिन लगानी गरेर हेरौं न भन्ने शैलीमा त आजभन्दा थुप्रै पटक व्यापारी आइसके नि,' प्रचण्डले सुनाए, 'तर, कर्पोरेट हाउस आउनु त अमेरिकामा डिज्नी, जियो आइपुगेकोजस्तो आउनुपर्छ । जहाँ, उनीहरुले स्टूडियो खोलेर क्रियटिभ हेडहरु राख्छन् । जहाँ स्क्रिप्टको हेडलाई स्क्रिप्ट सुनाउन सकियोस्, त्यो स्क्रिप्टमाथि उनीहरुले सर-सल्लाह दिएर फिल्ममै परिणत होस् ।’

प्रचण्ड थप्छन्, 'फिल्म निर्माणको कल्चरमा कर्पोरेट शैली आउनुपर्‍यो अब । अहिलेसम्म फिल्ममा लगानी मात्रै भएको छ, कर्पोरेट इन्भेस्टमेन्ट आइसकेको छैन ।' व्यवसायिक घराना फिल्म निर्माणमा आउँदा कर्पोरेट कल्चर(व्यवसायिक सँस्कृति)को विकास फिल्म क्षेत्रमा बढ्नेमा फिल्मकर्मीको आशा छ । 

के-हो त 'कर्पोरेट कल्चर' ? 

खासमा यो पटक 'कर्पोरेट कल्चर'को केही प्रतिशत अभ्यास 'बाइस्कोप'ले गरेको रहेछ । खासमा 'बाइस्कोप'मा दीपक आचार्यलगायत थुप्रै समूह स्क्रिप्ट सुनाउन पुगेका रहेछन् । तर, कथा सुनाउने बित्तिकै ‘परान’माथि फिल्म बनेको होइन । दीपकलाई गोल्छा र आचार्यले कथाको ‘प्रिजेन्टेसन’ दिन लगाएका थिए । फेरि, फिल्म बनाउने जुन हतारो व्यवसायिक फिल्ममा हुनेगर्छ । त्यसरी हतारमा फिल्म बनाउने योजना उनीहरुको थिएन । त्यसैले उनीहरुले समय लगाएर फिल्म गरे । फिल्म निर्माणको निश्चित अवधि तोकिएको थियो, त्यहि समयावधिमै फिल्म प्रदर्शनमा आयो । 

छायांकनकै क्रममा कलाकारलाई चिसो लाग्ला भन्ने डर भएपछि दुई सेड्यूलमा फिल्म खिचिएको थियो । बजेट बढ्ने चिन्ता ‘बाइस्कोप सिनेमा’लाई थिएन । आर्थिक कारोबारमा पारदर्शीता अपनाएका थिए । ‘हो, हामी पहिलो कर्पोरेट हाउस होइनौं जो फिल्म निर्माणमा होमिएको छ । तर, मलाई लाग्छ एउटा प्रोडक्सन कम्पनी नै बनाएर आउने हामी पहिलो हौं । तर, कर्पोरेट हाउस फिल्म निर्माणमा आउँदा त्यहाँ फरकपन देखिन्छ । हामीले गर्ने सम्झौता सबै पारदर्शी हुन्छन् । हामी पारदर्शी रुपले नै काम गर्न चाहन्छौं । सायद यो पनि फिल्म क्षेत्रका लागि नौलो विषय होला,’ गोल्छा दाबी गर्छन्, 'हामीले ‘बाइस्कोप सिनेमा’लाई प्रोडक्सन हाउसको रुपमा विकास गर्ने, अनि फिल्म निर्माण गरिरहने सोचेका छौं । वर्षमा २-३ फिल्म बनाउनेछौं । समग्रमा एउटा विश्वासिलो प्रोडक्सन हाउस नै निर्माण गर्न चाहन्छु ।'

गोल्छाका सह-निर्माता रञ्जित आफूहरुले फिल्ममा जोडिएका २५/३० जनालाई ‘प्यानकार्ड’ बनाएपछि मात्रै पारिश्रमिक दिएका थिए । ‘बाइस्कोप सिनेमाको व्यवसायिकरण गर्नुपर्छ भन्दै गर्दा हामीले टिडियस तिरिरहेका छौं, हरेक व्यक्तिको । यहाँ त त्यसको चलन नै थिएन । कलाकारले जति लिनुहुन्छ त्यसमा १५ प्रतिशत थपेर टिडियसको पारिश्रमिक दिने । टिडियससँगै अन्य जुन करसहित हामीले ६०/६५लाख तिरेका छौं । कतिले त्यो रकम बचाउँदै आएका पनि थिए । तर, हामी आर्थिक कारोबारमा पारदर्शीता चाहन्छौं । त्यसैले बिल सिस्टमबाट काम गर्दैछौं,’ रञ्जितले भने ।

आफूहरुले फिल्मकर्मीको पारिश्रमिक समयमै दिएको ठोकुवा गर्छन् । ‘काम गरे अनुसारकै पारिश्रमिक दिने गर्छौं । सम्झौता अनुसार समयमै दिने संस्कृति सुरु गरेका छौं । अहिलेसम्म केही प्राविधिक बाहेक सबैको बाँकीको अन्तिम किस्ताको पारिश्रमिक बुझाइसकेको छ,’ रञ्जितले भने ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully