एउटा फिल्म फ्लप हुँदैमा असर हुँदैन : शेखर गोल्छा 

मैले लगानी गर्ने फिल्ममा महिलालाई वस्तुकरण गरेर देखाइने छैन ।

कार्तिक २५, २०८२

रीना मोक्तान

A film flop doesn't affect it: Shekhar Golchha

What you should know

काठमाडौँ — बेला-बेलामा नेपाली फिल्म क्षेत्रमा व्यावसायिक घराना फिल्ममाथि लगानी गर्न आइपुग्छन् । यसपटक गोल्छा समूहका शेखर गोल्छा ‘परान’मार्फत फिल्म निर्माणमा जोडिएका छन् । ‘बाइस्कोप सिनेमा’मार्फत रञ्जित आचार्यसँग मिलेर शेखरले फिल्ममाथि लगानी गरेका हुन् । अहिले यो फिल्म हलमा प्रदर्शनरत छ । नयाँ निर्माता गोल्छासँग उनको डेब्यू अनुभव, 'बाइस्कोप सिनेमा' र फिल्म क्षेत्रप्रतिको झुकावमाथि कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

तपाईंलाई फिल्म निर्माणमा आउन के कुराले उत्प्रेरित गर्‍यो ? नेपालमा फिल्म क्षेत्रको बजार विस्तार हुन नसक्नुमा अझै पनि व्यावसायिक क्षेत्रले यसमा बजार नदेख्नु प्रमुख रहेको कारण देखाउँछन् फिल्मकर्मी । तपाईंलाई के लाग्छ ? 

पक्कै पनि कर्पोरेट हाउस आउँदा फिल्मको लगानी बढ्न सक्छ । लगानी बढ्यो भने गुणस्तर बढ्छ भन्ने विश्वास सबैले लिएका छन् । कलाकारदेखि प्राविधिकको पारिश्रमिकमै पनि वृद्धि हुन्छ  । नेपाली फिल्म सिर्जनशील त छँदै थियो ।तर, यता लगानीको कमी छ भन्ने थाहा थियो । लगानी बढायो भने सिर्जनशील पक्षमा पनि प्रभाव बढ्छ नै ।  हो, अझै पनि धेरै लगानी गरिहाल्ने बजार स्थापित भइसकेको छैन । लगानी गरिएको रकम उठाउने स्थिति छैन । तर, राम्रो व्यवस्थापन र लगानी गरियो भने बजार पनि बढ्न सक्छ भन्ने सोचले हामीले ‘बाइस्कोप सिनेमा’मार्फत यो क्षेत्रमा आएका हौं । 

यो कम्पनी बनाउँदा रञ्जित र मैले २/३ वटा कुरा सोचेका थियौं । पहिलो– हामी ‘कपि पेस्ट’ फिल्म बनाउने छैनौं । दोस्रो- अनावश्यक वा यथार्थ नदेखिने नाच्ने/गाउने दृश्य नराख्ने । जसलाई एक्सन हेर्नुछ, नाचगान हेर्नुछ भने हलिउड/बलिउड हेरे भइहाल्यो । हामी उनीसँगै किन प्रतिस्पर्धा गर्ने ? केही नयाँ गरौं न भनेर हामीले 'बाइस्कोप सिनेमा' सुरु गर्‍यौं । हामीले यसबीच थुप्रै फिल्मका स्क्रिप्ट हेर्‍यौं तर कुनैमा चित्त बुझेन । तर, ‘परान’को कथा सुनेपछि मलाई लाग्यो –यो त नेपाली समाजसँग मिल्दो छ । अनि बजारमूखी विषय पनि छ । विकास होस् या राष्ट्रिय मुद्दाहरु,  त्यहाँ पैसा भएन भने त्यो दिगो हुन्न । त्यो आधारमा हामीले ‘परान’को कथालाई रोज्यौं । फेरि फिल्मको कथा राम्रो थियो, पारीवारिक विषय थियो । नेपालको जल्दो-बल्दो विषय पनि यसमा समेटिएको छ । 

स्क्रिप्टमा कस्तो विषय खोज्नु हुन्छ ? किन ? 

मैले नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसी आई)को अध्यक्ष हुँदा देशको सबै ठाउँमा पुग्ने मौका पाए । मलाई के लाग्छ भने, देशको सबैभन्दा ठूलो समस्या भनेकै –युवाले देशमा भविष्य नदेख्नु हो । उनीहरु विदेश जाँदा परिवारमा एक किसिमको 'कोलाट्रल ड्यामेज' हुन्छ । यही विषयलाई कसरी अरु कसैलाई भिलेन नबनाई देखाउन सकिएला त ? भन्ने थियो । यो त नेपाली समाजको ठूलो समस्याकै रुपमा देखिएको छ । त्यसैले फिल्म 'परान'को कथा मलाई एकदम मनपर्‍यो । महासंघको अध्यक्ष हुँदा मैले भन्ने पनि गरेको थिएँ कि, यसरी युवाका लागि देशमै अवसर सिर्जना गर्न नसक्नु त हामीजस्ता नीजी क्षेत्रकै पनि असफलता हो भनेर । धेरै आन्दोलन यसकै नतिजा होजस्तो लाग्छ । फिल्मको कथा मेरो त थिएन । तर, मलाई त्यसले छुयो अनि लगानी पनि गरें । 

मैले नेपाली मौलिकताको कुरा सधैं गरेको छु । महासंघको अध्यक्ष हुँदा जुन महोत्सवहरुमा म पुग्थें । त्यहाँ हुने मनोरञ्जनात्मक कार्यक्रममा हाम्रा नेपाली गीत बज्थेनन् । हिन्दी गीतमै भीड झुमिरहेको हुन्थ्यो । 'भल्गर' आइटम डान्स गर्दा आफैलाई लज्जित हुने अवस्था हुन्थ्यो । मैले सँधै आयोजकहरुलाई यस्तो नगर्न अनुरोध गर्थें । त्यसो भन्दा भीड तान्न यसो गर्नैपर्छ भनेर आयोजकले भन्थे । तर, मैले कतिजनालाई –यसो गर्ने हो भने मलाई नबोलाउनुस् भनेरै भन्थें । यसो गर्दा हामीले आफ्नो मौलिकता बिर्सन्छौं । मौलिकता नै बिर्सियो भने हामी विनाशतर्फ अगाडि बढ्छौं । आफ्नो सँस्कृति हुँदाहुँदै किन अर्काको गीतमा नाच्नु पर्‍यो भनेर प्रश्न पनि गर्थं । त्यसैले मौलिक कथा मेरो प्राथमिकता हो । 

व्यवसायकै लागि थुप्रै अन्य क्षेत्रमा लगानी गर्ने अवसर थिए होलान् । तर, फिल्ममै किन आउनुभयो ? 

यसमा दुई कारण छन् । पहिलो– व्यावसायिक कारण नै भइहाल्यो । व्यावसायिक दृष्टिकोण नराखेर अरू दृष्टिकोरण राख्छु भनें भने त्यो सही नदेखिएला । हो, मैले मेरो संस्थाबाट १० औं हजारलाई रोजगारी दिएको छु । म उच्च कर तिर्ने व्यक्तिहरुमध्येमै पर्छु । तर, मलाई कथाले तान्छ । कुनै पनि व्यक्तिको जीवनमा म कथा आवश्यक ठान्छु । कथा भयो भने ‘डलनेस’ हुँदैन । त्यसैले 'स्टोरी टेलिङ'लाई मैले पहिल्यैदेखि महत्त्वपुर्ण पक्षका रुपमा हेर्दै आएको छु । चाहे त्यो मार्केटिङमा होस् चाहे बिजनेसमै । मलाई लाग्यो, मभित्रै पनि कथा वाचनको केही छ । ‘परान’को कथा मेरो होइन । तर, अब बन्ने फिल्मको कथाको रुपरेखा नै मैले लेखेको छु । म के विश्वास गर्छु भने जुन कथामा म विश्वास गर्छु त्यो कथालाई म नै सुनाउनेछु, अथवा मै भन्नेछु । व्यवसायिक रुपले फिल्मले कस्तो गर्ला ? त्यो अर्कै विषय हो । 

पहिला पनि व्यावसायिक घराना ‘चौधरी ग्रुप’ले फिल्म निर्माण गर्‍यो । तर, फिल्मले सोचेजस्तो व्यापार गरेन ।  अहिलेसम्म उनीहरू फिल्म निर्माणमा फर्किएनन् । व्यावसायिक घराना फिल्म निर्माणमा निरन्तर लागिरहन के गर्नुपर्छ होला ? ‘परान’ले लगानी मात्रै सुरक्षित गरेर नाफा कमाएन भने ‘बाइस्कोप सिनेमा’ले पनि फिल्म बनाउन छोड्ने हो ? 

हो, हामी पहिलो कर्पोरेट हाउस होइनौं जो फिल्म निर्माणमा होमिएको छ । तर, मलाई लाग्छ एउटा प्रोडक्सन कम्पनी नै बनाएर आउने हामी पहिलो हौं । तर, कर्पोरेट हाउस फिल्म निर्माणमा आउँदा त्यहाँ फरकपन देखिन्छ । हामीले गर्ने सम्झौता सबै पारदर्शी हुन्छन् । हामी पारदर्शी रुपले नै काम गर्न चाहन्छौं । सायद यो पनि फिल्म क्षेत्रका लागि नौलो विषय होला । हामीले ‘बाइस्कोप सिनेमा’लाई प्रोडक्सन हाउसको रुपमा विकास गर्ने, अनि फिल्म निर्माण गरिरहने सोचेका छौं । हुन सक्छ वर्षमा २-३ फिल्म बनानेछौं ! मैले यसमा ‘लङ टर्म भिजन’ नै राखेको छु । १/२ वटा फिल्मको सफलता र असफलतालाई म हेर्ने छैन । समग्रमा एउटा विश्वासिलो प्रोडक्सन हाउस नै निर्माण गर्न चाहन्छु । जसले परिवार बसेर हेर्न मिल्ने फिल्म बनाइरहनेछ । म हरेक वर्ष २-३ फिल्म बनाउने तयारी गर्दैछु, बाइस्कोपबाट । 

अब नेपालको फिल्म बजार एकदमै सानो छ । ९० प्रतिशत फिल्मले अझै पनि लगानी उठाइरहेको छैन । यसको २/३ कारण छन् । एउटा त हाम्रो फिल्मको गुणस्तर नै बढेको छैन । गुणस्तरीय बनाउन सकिएको भए नतिजा अर्कै हुन्थ्यो कि ? ३ करोडको जनसंख्या त छ हामीकहाँ । डायसपोरामै समेत ठूलो बजार देखिन्छ । तर, गुणस्तरिय फिल्म बनाएन भने कसले हेर्छ फिल्म ? अहिलेको समयमा फिल्मबाट पैसा कमाउन अझै गाह्रै देखिन्छ । तर, मैले फिल्म निर्माणमा ‘लङ टर्म भिजन’ नै मैले राखेको छु । 

फिल्मकर्मीले निजी क्षेत्रलाई लगाउँदै आएको आरोप छ -  निजी क्षेत्रले कहिल्यै फिल्ममा बजार देखेन, फिल्मलाई ‘सीएसआर’ को रूपमा पनि हेरेनन् । तपाईं यस्तो आरोप सुन्न नसक्नु भएर फिल्म निर्माणमा आउनु भएको हो वा विशुद्ध व्यवसाय नै सोचेर आउनु भयो ? 

हाम्रो संस्थाको बलियो ‘सीएसआर’ छ । अस्पतालदेखि शिक्षामा थुप्रै प्रोजेक्टमा छन् । तर, मैले फिल्मलाई सिएसआरको रुपमा हेरेको छैन । मेरो लागि यो विसुद्ध व्यवसायिक भेन्चर हो । साथसाथै, कथा भन्ने जुन मेरो ‘प्यासन’ छ । राष्ट्रिय मुद्दामा बोल्न सकिने विषयमाथि फिल्म बनायो भने यसले मलाई खुशी पनि बनाउनेछ । ‘परान’ व्यवसायिक रुपले सफल होला वा नहोला भन्ने कुराले मैले भविष्यमा के गर्नेछु भन्ने निर्धारण गर्ने छैन । भविष्यमा हामी अझै धेरै फिल्म बनाउँदै जाने नै छौं । एउटा फिल्मको कथामा त काम नै सुरु भइसक्यो । 

‘परान’ बनाउँदाको डेब्यू अनुभव कस्तो भयो ? 

हामीले योजना गरे अनुसार निर्धारित समयमै बनाएको फिल्म हो यो । जुन दिन हामीले फिल्म बनाउने र प्रदर्शनमा ल्याउने घोषणा गरेका थियौं, त्यही मितिमा फिल्म प्रदर्शनमा ल्यायौं । त्यो आधारमा यसमा धेरै मेहनत लागेको छ । फिल्म मेकिङको मसँग अनुभव छैन, फिल्मको सुटिङमा पनि गइँन । म हाम्रो फिल्मका कलाकारलाई समेत चिन्दिनँ । त्यसको अर्थ मैले उहाँहरुलाई कम भन्न खोजेको होइन । मेरो लागि फिल्म भन्दा पनि फिल्मको स्टोरी टेलिङ महत्त्वपुर्ण हो । फिल्मको कथा मैले भनेजस्तो बन्यो, त्यसमा म खुशी छु । 

अब ‘बाइस्कोप’ले बनाउने फिल्म कस्तो विधा, कस्ता विषयका हुनेछन् ?

बाइस्कोपले बनाउने फिल्ममा त्यही तीन कुरालाई मध्यनजर गरिनेछ । भल्गारिटी हुनेछैन । कपिपेस्ट नभई मौलिक नेपाली फिल्म बनाउनेछौं । अर्को त हामी बाहिरबाट प्राविधिक वा निर्देशक लिने छैनौं । कलाकारसम्म हामी बाहिर देशको राख्न सकौंला, आवश्यक परे । तर, हामी हाम्रै दक्ष जनशक्ति प्रयोग गर्नेछौं । जुन शैलीमा हामीले फिल्म बनाउने सोचेका छौं, त्यही अनुरुपले यथार्थवादी फिल्म बनाउनेछौं । २/४ गीत राखेर बनाइएको फिल्म त हिन्दी छँदै छन् । नेपाली विषयवस्तुको फिल्म बनाउने नै हाम्रो ध्यान हुनेछ । मैले लगानी गर्ने फिल्ममा महिलालाई वस्तुकरण गरेर देखाइने छैन । यो पारिवारीक कथा समावेश फिल्म नै हामीले बनाउनेछौं । 

‘परान’मा नयाँ निर्देशकलाई विश्वास गर्नुभयो । अब तपाईंहरूले यसरी नै नेपाली फिल्म क्षेत्रको प्रतिभालाई बाइस्कोपमा स्थान दिने हो ? 

मैले जहिले पनि नयाँ प्रतिभालाई स्थान दिँदै आएको छु । मेरो संस्थामै म्यानेजर एकदम नयाँ हुनुहुन्छ । अहिले उनीहरु उच्च तहमा छन् । गरिरहेकै कुरा दोहोर्‍याउनु मेरो रुचीको विषय होइन । त्यसैले यो पटक ‘परान’को कथासँग नजिक रहेको निर्देशकलाई रोज्यौं । आफूसँग नजिक भएको कथालाई सही ढंगले भन्न सकिन्छ भन्ने हो । ‘परान’को कथा निर्देशकसँग निकै नजिकको थियो । त्यसैले नयाँ निर्देशकलाई विश्वास गर्ने जोखिम हामीले मोलेकै हौं । मलाई के लाग्छ भने, हामी जुन स्थानमा छौं । हामी जोखिम मोल्न सक्ने अवस्थामै छौं । एउटा फिल्म फ्लप भएर मलाई असर गर्दैन । त्यो जोखिम मोल्ने क्षमता हामीसँग छ । त्यसैले हामी नयाँ प्रतिभा खोज्दैछौं । हो, हामी स्थापित कलाकारलाई पनि फिल्ममा लिनेछौं । तर, जहाँसम्म हुन सक्छ हामी नयाँ कलाकार लिएर पनि ‘एक्सपेरिमेन्ट’ गर्नेछौं । 

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully