प्रायको अनुमान शाहरुख खान, सलमान खान, आमिर खान, अमिताभ बच्चन र रजनीकान्त हुन सक्छ ।
काठमाडौँ — भारतीय फिल्ममा कलाकारहरूको पारिश्रमिक नेपालको तुलनामा धेरै उत्कृष्ट छ । भारतमा अहिले करोडौँ पारिश्रमिक लिने अभिनेताहरू थुप्रै छन् ।
तर पहिलो पटक फिल्ममा १ करोड पारिश्रमिक कसले लिए त ? प्रायको अनुमानमा शाहरुख खान, सलमान खान, आमिर खान, अमिताभ बच्चन, र रजनीकान्तका अनुहार देखापर्छन् होला । तर पहिलो पटक करोड पारिश्रमिक लिने अभिनेता हुन्, चिरञ्जीवी ।
चिरञ्जीवीले सन् १९७८ मा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । सुरुवाती दिनमा उनले खलनायक र एन्टी–हिरोका भूमिकाबाट निकै प्रशंसा कमाए । तर सन् १९८३ मा रिलिज भएको फिल्म ‘कैदी’ले उनलाई ठूलो सफलता दिलायो ।
त्यो वर्षको सबैभन्दा बढी कमाउने तेलुगु फिल्म बनेको ‘कैदी’ले उनलाई स्टार बनायो । सन् १९९२ मा आएको फिल्म ‘आपदबन्धवु’ ले चिरञ्जीवीको करिअरमा अर्को इतिहास रच्यो । यो फिल्मका लागि उनले १.२५ करोड रुपैयाँ पारिश्रमिक पाएका थिए ।
यसरी उनी भारतका पहिलो अभिनेता बने, जसले एक फिल्मका लागि एक करोडभन्दा बढी पारिश्रमिक लिए ।
हाल चिरञ्जीवी अझै पनि फिल्ममा सक्रिय छन् । नयनतारासँगको उनको नयाँ फिल्म ‘माना शंकर वर प्रसाद गारू’ आगामी संक्रान्तिमा रिलिज हुने तयारीमा छ ।
अहिले उनी एक फिल्मका लागि ५० देखि ६५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन्, । जबकि विश्वम्भरा फिल्मका लागि उनले ७५ करोड रुपैयाँ मागेको बताइन्छ ।
४५ वर्षको आफ्नो लामो करिअरमा उनले १ सय ५६ भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। अभिनयसँगै नृत्यमा पनि उनीले निकै प्रशंसा पाएका छन् ।
