फिल्म ‘पाँच पाण्डव’को शुभमुहूर्त

वसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले)लगायतका कलाकार रहनेछन् ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Auspicious time for the film 'Panch Pandavas'

काठमाडौँ — फिल्म ‘पाँच पाण्डव’को मंगलबार काठमाडौंको गणेशथानमा शुभमुहूर्त गरिएको छ ।

शुभमुहूर्तमा फिल्मका अधिकांश कलाकार पुगेका थिए । वसन्त निरौलाले निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले)लगायतका कलाकार रहनेछन् ।

फिल्म नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माण पक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै, छविलाई फिल्मसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ ।

फिल्ममा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसाबले हरिवंश युधिष्ठिर हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

पाण्डवहरूले द्रौपदीसँग विवाह गरेका थिए । यो फिल्ममा द्रौपदी को हो ? पाण्डवहरूको बाबु पाण्डु को हो ? आमा कुन्ती को हो ?

निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । फिल्मका अन्य केही कलाकारहरू अन्य केही फाइनल गर्क बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।

काली रानी फिल्मस्‌को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । पौडेल चर्चित फिल्म ‘प्रसाद’ का लेखकसमेत हुन् ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् । हरिवंश आचार्यलगायत रुचाइएका र अग्रज कलाकार रहेकाले फिल्मको बजेट उच्च रहने र निर्माणमा बजेटका कारण कुनै कम्प्रमाइज हुन नदिने प्रस्तुतकर्ता श्रेष्ठले बताए ।'हाम्रो चलचित्रमा कलाकारको राम्रो लाइनअप तपाईंहरूले देखि नै सक्नुभयो । हामी चलचित्र पनि दर्शकले रुचाउने बनाउने छौँ,' उनले भने, 'हामी एक सफल र दर्शकले सम्झिरहने ऐतिहासिक चलचित्र बनाउने छौँ ।'

यसअघि गतवर्ष नवीनले फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए ।

कान्तिपुर

Link copied successfully