एलिनाको स्टाटसपछि सामाजिक सञ्जालमा आयोजक 'फ्लाई नेपा' लाई लिएर विवादमात्रै भइरहेको छैन, आयोजक संस्थाको दाबी भन्दै सामाजिक सञ्जालमै एलिनामाथि प्रश्न पनि उठिरहेको छ। कतिपयले यही मेसोमा एलिनाको व्यक्तिगत जीवनका अप्रासंगिक कुरामा टिप्पणी समेत गरिरहेका छन्।
काठमाडौँ — ‘अब गाउँछ अमेरिका’ नामक सांगीतिक यात्रा सकेर अमेरिकाबाट फर्किँदा गायिका एलिना चौहानको मन हाँसिरहेको थिएन । गत कात्तिक ११ मा उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको स्टाटसबाट त्यही कुरा झल्किन्थ्यो ।
उनले यात्राका क्रममा कलाकारहरूलाई नोकरझैँ व्यवहार गरिएको बताउँदै लेखिन्, ‘कसैले कैदीझैँ महसुस गर्यो, कसैले अपमान सहनु पर्यो । एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन । कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्छ । नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्।’
एलिनाको स्टाटसपछि सामाजिक सञ्जालमा आयोजक 'फ्लाई नेपा' माथि प्रश्न मात्रै उठेन, आयोजक संस्थाको दाबी भन्दै सामाजिक सञ्जालमा एलिनामाथि पनि प्रश्न उठाइएका छन्। कतिपयले यही मेसोमा एलिनाको व्यक्तिगत जीवनका अप्रासंगिक कुरामा टिप्पणी समेत गरिरहेका छन्।
फ्लाइ नेपा ट्राभल नामक कम्पनीको आयोजनामा १७ अगस्टदेखि अमेरिकाको विभिन्न सहरमा हुने कार्यक्रममा एलिनासहित गायक बद्री पंगेनी, प्रताप दास र कला लम्साल अमेरिका पुगेका थिए । लम्साल भने कार्यक्रमकै क्रममै स्वास्थ्यमा समस्या आएपछि फर्केकी थिइन् । आफू फर्केपछि लम्सालले आयोजकमाथि विभिन्न प्रश्न तेर्स्याएकी थिइन् ।
गत भदौ २६ मा उनले सामाजिक सञ्जाल फेसबुकमा ह्विलचियरमा बसेको फोटो सार्वजनिक गर्दै लेखेकी थिइन्, ‘मनमा ठूलो उत्साह र ऊर्जा बोकेर म साङ्गीतिक कार्यक्रमको लागि अमेरिका पुगेकी थिएँ, केही प्रस्तुतिहरू पनि राख्ने मौका मिल्यो । तर दुर्भाग्यवश मेरो स्वास्थ्य अवस्था जटिल बन्न पुग्यो र उपचारको लागि पहल गर्न आयोजक विनोद अधिकारीसँग आग्रह गरेँ । तर दुःखको कुरा, मेरो अनुरोधलाई खासै वास्ता गरिएन । अमेरिका जस्तो ठाउँमा पनि मेरो उपचार सम्भव नहुने देखेपछि र ४–५ महिना लाग्छ भनेपछि मलाई मेरो ज्यानभन्दा ठुलो केही लागेन । म बाध्य भएर नेपाल फर्किन ‘हस्’ भन्नु बाहेक विकल्प केही रहेन ।’
उनले अमेरिका यात्राका क्रममा आफ्ना शुभचिन्तक र आफन्तसँग एक पटक बिरामी छु भनेर बोल्न पनि नदिइएको आरोप लगाएकी थिइन् । लम्सालले ६ वटा तीजको कार्यक्रम सकेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यति बेला उनी न्यु ह्ययाम्सोरमा थिइन् । लम्सालले एक महिनाअघि सञ्चारकर्मी राधिका कँडेलसँग गरेको अन्तर्वार्तामा आफू बिरामी हुँदा अपमानजन्य व्यवहार गरिएको र अहिलेसम्मकै दुखद यात्रा भएको बताएकी थिइन् ।
लम्सालको यस्तो आरोप सार्वजनिक भएपछि आयोजक संस्थाले भदौ २७ मा विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेको थियो । कान्तिपुरसँगको कुराकानीमा पनि कलाले सोही कुरा दोहोर्याइन् । ‘मैले आयोजकबाट पीडा भोगेको सत्य हो । त्यति बेला बिरामी हुँदा मैले धेरै असहयोग भोगेँ । तर आफ्नो कुरा भन्दा उल्टै मलाई नै अप्ठ्यारोमा पारियो,’ कला भन्छिन् ।
सोही कार्यक्रममा सँगै रहेकी अर्की कलाकार एलिना चौहानले पनि उस्तै शैलीमा आयोजकमाथि प्रश्न गरेपछि आयोजक संस्थाका निर्देशक विनोद अधिकारी थप विवादित बनेका छन् । एलिना र कलासँगै गएका गायक प्रताप दास र बद्री पंगेनी भने अहिले पनि अमेरिकामै छन् ।
अमेरिका यात्राका क्रममा भएको के थियो ? गायिका चौहानले कान्तिपुरसँगको कुराकानीमा आयोजक माथि केही गम्भीर आरोपहरू लगाएकी छिन् । उनले यात्रामा आयोजकले दुःख दिनुका साथै आफ्नो अपमान गरेको गुनासो मात्रै गरिनन्, आयोजक अधिकारीले दास र कैदीजस्तो व्यवहार गरेको पनि दाबी गरिन् ।
उनले डेढदेखि दुई महिनाको यात्रामा २५ वटा कार्यक्रम हुने आयोजकले बताए पनि एकदमै कम पैसामा अफर गरेको बताउँदै भनिन्, 'कार्यक्रमको पनि पैसा आउने र सबै ठाउँमा होटल र फ्लाइट टिकट हुने बताएपछि म जान सहमत भएँ।’
उनले कलाकारहरूलाई होटलमा राख्ने पूर्व सहमति विपरीत सुरुमै आफूहरूलाई घरमा लगेर राखिएको बताइन् । एलिनाले यस्तो दाबी गरे पनि कान्तिपुरले प्राप्त गरेको कलाकार र आयोजक संस्थाबीचको सम्झौताको चौथो बुँदामा आयोजक संस्थाले यात्रा र बसोबासको खर्च ब्यहोर्ने कुरा उल्लेख गरिएको छ ।
एलिनाले यात्राका क्रममा आफूहरूलाई व्यक्ति-व्यक्तिका घरमा राख्ने काम भएको गुनासो पनि गरिन् । उनले भनिन्, 'यात्रामा फरक-फरक व्यक्तिका घरमा राख्ने काम भयो । दिउँसोको खाना खान एउटा घरमा, बेलुकाको खाना खान अर्को घरमा । यसरी घर घरै कुदाउने काम भयो । जुन हाम्रो पूर्व सहमतिअनुसार थिएन ।’
उनले यात्रामा समय तालिका अनुसार काम नभएको र झर्किने र थर्काउने जस्तो व्यवहार बारम्बार भोग्नुपरेको बताइन् ।उनले कतिपय बेलाआफूहरू निरीह महसुस गरेको बताउँदै भनिन्, ‘एक पटक उहाँले मलाई गाडीमा जबरजस्ती घोक्राएर भित्र ठेल्नुभयो । मान्छेको अगाडि मेरो बेइज्जत भयो ।’
एलिनाले आयोजक र यसका प्रमुख अधिकारीमाथि लगाएका केही आरोपहरू गम्भीर खालका पनि छन् । एलिनाले आफू सुतेको कोठामा रातिको समयमा नचिनेका मान्छेहरूले ढोकामा लात्तीले हान्ने काम भएको र त्यति बेला आफूले हेल्प माग्दै म्यासेज नै गर्नुपरेको कुरा पनि सुनाइन् । उनले यसको प्रमाण आफूसँग रहेको भन्दै कमजोर व्यवस्थापनका कारण यो सबै भएको बताइन् ।
आयोजक संस्थाले एलिनाले एक ठाउँमा नियम विपरीत २५ सय डलर उठाएको आरोप लगाइरहेका छन् । यसमा के भएको हो ? भन्ने प्रश्न गर्दा उनले मनमुटाव बढ्दै गएपछि एक ठाउँमा आफूले कार्यक्रम नगर्ने बताएको तर स्थानीय आयोजकले कार्यक्रममा आउनेहरूको मन राख्न पनि गीत गाउन अनुरोध गरेपछि आफूले पैसा दिनुपर्ने सर्त राखेर २५ सय डलर पारिश्रमिक लिएको बताइन् ।
स्थानीय आयोजकसँग एलिनाको बाझाबाझ भएको एउटा अडियो क्लिप पनि सामाजिक सञ्जालमा फैलिरहेको छ । एलिनाले भने उक्त अडियो त्यतिबेलैको भएको तर त्यसको केही भाग काटेर मात्रै बाहिर ल्याइएको बताइन् । उनले दाबी गरिन्, 'मलाई धम्क्याएको भाग काटेर त्यसमा मैले आक्रोश पोखेको कुरा मात्रै बाहिर ल्याइएको छ । एलिनाले त्यति बेला स्थानीय आयोजकसँग पैसा लिएकोबारे 'फ्लाई नेपा'लाई त्यति बेलै जानकारी भएको पनि दाबी गरिन् । उनले कार्यक्रम सकिएपछि आफैँले टिकट काटेर नेपाल फर्केको बताउँदै आफूमाथि अनावश्यक आरोप लगाइएको बताइन् ।
एलिनाका आरोपहरूबारे बुझ्न हामीले आयोजक 'फ्लाई नेपा' का निर्देशक विनोद अधिकारीलाई पनि सोध्यौँ। उनले सबै आरोपको खण्डन गर्दै एलिना विरुद्ध आफ्नो पक्षबाट कानुनी प्रक्रिया अगाडि बढाउने बताए ।
अधिकारीले स्थानीय आयोजकसँग एलिनाले २५ सय डलर अवैध रूपमा मागेपछि विवाद चर्किएको बताए । कलाकारहरूलाई पूर्व सर्त अनुसार होटलमा किन नराखिएको हो भन्ने प्रश्नमा भने उनले कोठा उपलब्ध गराउने अनलाइन प्लेटफार्म एअर बीएन्डबी मार्फत घरहरू लिइएको र त्यही राखेको बताउँदै हरेक ठाउँमा बस्दाको शुल्क तिरेको रसिद आफूसँग भएको दाबी गरे ।
त्यसो भए कुनै बिल प्रमाणका रूपमा पठाउन सक्नुहुन्छ ? यसको उत्तरमा भने उनले आनाकानी गरे । अधिकारीले जबरजस्ती गाडीभित्र राखेको कुराको पनि खण्डन गरे ।
यही कार्यक्रमका लागि अमेरिका पुगेर बीचमै फर्केकी कला हुन् वा एलिना दुवैले आयोजकमाथि लगाएका आरोपहरू गम्भीर प्रकृतिका छन् । कलाले स्वास्थ्यमा समस्या भएपछि त्यहाँ उपचारको चाँजो नमिलाइएको बताएकी छिन् । कान्तिपुरले चारै जना कलाकारसँग आयोजकले गरेको सम्झौतामा स्वास्थ्य बिमाको विषय उल्लेख भएको देखिएन ।
आयोजक संस्थाले पनि कलाकारहरूको स्वास्थ्य बिमा गरेको देखिएन । एलिनाले आयोजकले पनि स्वास्थ्य बिमा नगरिदिएको र कलाकारहरू आफैँले पनि नगरेको बताइन् । एलिना र आयोजकबीचको विवादपछि हामीले फ्लाइ नेपाको आयोजनामा यस अघिका कार्यक्रममा अमेरिका पुगेका अन्य कलाकारसँग पनि कुराकानी गर्यौँ ।
ती कलाकारहरूले नाम उल्लेख नगर्ने सर्तमा एलिनाकै जस्तो अनुभव आफूहरूले पनि भोगेको, तर विवादमा परिने र अन्य परिस्थितिका कारण प्रतिवादमा उत्रिन नसकेको बताए । ती सबै कलाकारहरूले कान्तिपुरसँग गरेको कुराकानीको रेकर्ड सुरक्षित छ । विस २०८० मा भएको अब हाँस्छ अमेरिका कार्यक्रममा ८ जना हास्य कलाकारहरू अमेरिका पुगेका थिए ।
त्यो यात्रामा थिए- सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा । आठ मध्ये ४ जना सँग हामीले कुरा गर्यौँ । उनीहरूले कलाकारहरूसँग व्यावसायिक व्यवहार नभएको र व्यक्तिका घर-घरमा खाना खुवाउन र बसाउन लैजाने र कतिपय घरमा कलाकारहरूलाई प्रस्तुति दिन बाध्य पार्ने जस्ता काम भएको बताए ।
हामीसँग कुरा गरेका एक कलाकारले आफूहरूलाई थाहै नदिई एक जनाको घरमा लगिएको र त्यहाँ जन्मदिनको पार्टी भएको कुरा पुगेपछि मात्रै थाहा भएको बताए । उनले भने, 'खाना खाएपछि कमेडी गर्न दबाब दिएका थिए । हामी थाकेका छौँ भनेर पन्छिन खोजेपछि थाहा भयो, कलाकार ल्याउने भन्दै पहिल्यै पैसा उठाउने काम भएको रहेछ । त्यसपछि हामी झगडा गरेर निस्कियौँ।’
उक्त यात्रामा सहभागी अर्का कलाकारले पनि त्यति बेला आफूलाई गरेको व्यवहार सम्झिँदै एलिनाका कुरामा सहमति जनाए । ती कलाकारले यात्राका क्रममा हृयारिसवर्ग पुग्दा एक जना कलाकार बिरामी परेको तर आयोजकले अस्पताल लैजान नखोजेको कुरा सुनाए ।
आयोजक विनोद अधिकारीसँग अमेरिका पुगेका कलाकारहरू एलिना चौहान, प्रताप दास र बद्री पंगेनी। तस्बिर : विनोद अधिकारीको फेसबुकबाट।
केही कलाकारले भने सम्झौतामा अमेरिकाभित्र हवाई यात्रा हुने कुरा भए पनि १८ घण्टासम्मको गाडीमा यात्रा गर्न आफूहरूलाई बाध्य पारिएको बताए । यी र यस्ता तीता अनुभव धेरै भएकाले आफूहरूले त्यही प्रतिवाद समेत गर्नुपरेको दुखेसो हामीसँग कुरा गरेका सबैजसो कलाकारहरूले साँटे ।
फ्लाई नेपा ट्राभल कम्पनीका निर्देशक रहेका अधिकारीले नेपाल, दुबई, अमेरिका, क्यानडा लगायत विभिन्न देशमा कम्पनी चलाउँदै आएका छन् । उनले २०८० सालयता ‘अब हाँस्छ अमेरिका’, ‘अब गाउँछ अमेरिका’, र ‘अब सुन्छ अमेरिका’ जस्ता कार्यक्रम गरेर नेपालबाट कलाकारहरू लैजाँदै आएका छन् ।
कान्तिपुरसँगको कुराकानीमा अधिकारीले कलाकारहरूले गुनासो गरेजस्तो व्यवहार आफूहरूले नगरेको र बिरामी परेका कलाकारलाई अस्पताल लगेको दाबी गरे । उनले भने, 'हामीले त हाँस्य कलाकारहरूको ब्रान्ड स्थापित गरिदियौँ ।’
हामीले उनीसँग कलाकारहरूलाई कहाँ राख्ने भन्ने कुरा सम्झौतामा प्रष्ट उल्लेख थियो कि थिएन भनेर पनि सोध्यौँ। उनले सम्झौतामा 'स्टे'मात्र उल्लेख भएको बताए। तर सम्झौता पत्र भने गोपनीयताका कारण शेयर गर्न नसकिने बताए । कान्तिपुरलाई प्राप्त सम्झौता पत्रमा भने यात्रा र बसोबासको खर्च आयोजकले व्यहोर्ने उल्लेख भएको देखिन्छ ।
हाँस्य कलाकारहरुलाई कसैको घरमा आयोजित जन्मदिन विशेष कार्यक्रममा लगेर पैसा लिएको हो भन्ने प्रश्न पनि हामीले अधिकारीलाई सौध्यौं । उनले स्थानीय आयोजकका एक जनाको घरमा आफू कलाकार लिएर गएको स्वीकार्दै भने, 'उहाँहरूले भनेको असत्य हैन । तर पैसा दिएको वा नदिएको भने चाँहि थाहा छैन । किनकि त्यहाँ सबैले मदिरा सेवन गरेका थिए । परिस्थिति फरक भएपछि हामी मोटल बुक गरेर फर्किएका थियौँ।’
