फिल्म मंसिर १२ देखि प्रदर्शनमा आउँदै
काठमाडौँ — एकापट्टी वर्षा राउत, अर्कोपट्टी खगेन्द्र लामिछाने । अनि बीच्चमा एक बालक । शुक्रबार सार्वजनिक गरिएको फिल्म 'हर्ष'को पोस्टरमा यी तीन पात्रलाई एक परिवारको रुपमा चित्रित गराइएको देखिन्छ ।
पारिवारिक कथामा बनेको यो फिल्म मंसिर १२ देखि प्रदर्शनमा आउँदैछ । निर्माण टिमले फिल्मको प्रचारको रुपमा यो पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा बीचमा उभिएका बालकलाकार साइमान वादी हुन् । एकता पौडेलको यही फिल्ममार्फत निर्देशनमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही लघु फिल्म निर्माण गरेकी छन् ।
फिल्ममा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।
