कात्तिक २१ देखि प्रदर्शनमा आउने फिल्म 'मन बिनाको धन'को ट्रेलरमा अशोक दर्जीको सडकदेखि सांगीतिक सफलता समेटिएको छ ।
काठमाडौँ — कात्तिक २१ देखि प्रदर्शनमा आउने फिल्म 'मन बिनाको धन'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अशोक दर्जीको सडकदेखि सांगीतिक सफलता समेटिएको छ ।
सडकमा गीत गाउँदै हिँड्ने अशोक दर्जीलाई संगीतकार टंक बुढाथोकीले 'मन बिनाको धन ठूलो'बोलको गीत गाउने मौका दिए । यो गीत यति चर्चामा आयो कि अहिले गीतकै शीर्षकमाथि उनै दर्जीको कथामा फिल्म बनेको छ ।
अशोक अहिले कक्षा ९ मा अध्ययनरत छन् । टंककै निर्माण तथा निर्देशनमा बनेको फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् । पटकथा र संवाद भने शिवम् अधिकारीको लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनले निर्माण गरेको यो फिल्ममा गायक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा संगीत पनि निर्देशक बुढाथोकीकै छ । सौरभ लामाले खिचेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।
