फिल्म कात्तिक ६ देखि प्रदर्शनमा आएको हो ।
काठमाडौँ — प्रदर्शनरत फिल्म 'वरिष्ठ बलराम'ले दुई करोड कमाएको छ । प्रदर्शनको पाँचौं दिनमा फिल्मले दुई करोड कमाएको निर्माण टिमले जनाएको हो ।
'फिल्मले अहिलेसम्म २ करोडको ग्रस कलेक्सन गरेको हो,' निर्माता आशिष एच तामाङले जानकारी दिए, 'फिल्मले दर्शकबाट सकरात्मक समीक्षा बटुलेको छ ।' सुरेन्द्र पौडेल निर्देशित यो फिल्म कात्तिक ६ देखि प्रदर्शनमा आएको हो । मध्यम परिवारको कथा समेटिएको यो फिल्ममा अभिनेता दयाहाङ राई र विजय बरालको मुख्य भूमिका छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा दया र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायतको अभिनय छ ।
फिल्मको कथा निर्देशक पौडेलले नै लेखेका हुन् । फिल्मको सम्पादन पनि निर्देशक स्वयंले गरेका हुन् । पटकथा लेखन भने महेश दवाडीले लेखेका हुन् । कृष्ण महर्जनले खिचेको यो फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन छ ।
