यो पाली अनलाइनबाटै प्रस्तुति हेर्न पाइने व्यवस्था पनि गरिएको छ ।
काठमाडौँ — नेपालयको 'आरशाला'मा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम 'पलेँटी'मा यो पटक ज्ञानु राणा गुञ्जँदैछिन् । अंग्रेजी महिनाको अन्तिम शुक्रबार प्रसिद्ध लोक कलाकार धर्मराज थापाको सम्झना पनि गरिने जनाइएको छ ।
गायिका राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुन् । गायिका राणाको सुपुत्र विकाश जङ्ग राणाले समेत पलेँटीमा सहभागी जनाउँदै धर्मराजका लोकप्रिय गीतहरू सुनाउनेछन् ।
गायिका राणाले नारायण गोपालसँग सह गायन गरेका 'मान्छेको माया यहाँ' र 'सिरीमा सिरी नि कान्छा' आजसम्म पनि कालजयी छन् । गोपाल योञ्जनको तामाङसेलो 'च्याङ्बा होए च्याङ्बा'मा पनि उनकै स्वर छ । गायिका राणाले नारायण गोपाल र गोपाल योञ्जनका साथै अनेकन लोक गायकसँग थुप्रै गीतहरूमा स्वर दिइसकेकी छन् । पलेँटीको प्रस्तुतमा उनलाई युगल गीतमा गायक रूपक चौधरीले साथ दिने छन् । उनले 'चौतारीमा मै बसे होला कि', 'भिज्यो तिम्रो रातो पछ्यौरी’, 'आज मादल बजेको किन', 'साइँली रिमै चौँरी गाई','हरियो डाँडामाथि' जस्ता डेढ दर्जन गीतमाथि प्रस्तुति दिनेछिन् ।
उनी दसैँअघिदेखि नै पलेँटीको तयारीमा जुटेकी हुन् । पलेँटीमा प्रत्यक्ष कार्यक्रम हेर्न नमिल्नेका लागि 'पे पर भ्यु प्लेटफर्म'मार्फत अनलाइनबाटै निश्चित रकम तिरेर प्रस्तुति हेर्न मिल्ने व्यवस्था पनि गरिएको छ ।
