'परान'ले ल्यायो नौलो प्रतियोगिता

'परान' फिल्म कात्तिक १४ देखि प्रदर्शनमा आउने

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

'Paran' brings a new competition

काठमाडौँ — कात्तिक १४ देखि प्रदर्शनमा 'परान'ले नौलो प्रतिस्पर्धा घोषणा गरेको छ । 'मेरो परान' शीर्षकमा लेख्दै तस्विरसहितको उक्त पोस्टलाई निर्माण टिमको अफिसियल पेजमा ट्याग गर्नेलाई एक लाख नगद पुरस्कार पनि घोषणा गरिएको हो । 

उक्त पोस्टमा परानका रुपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवं दिदीबहिनीमध्ये जोकोहीसँगको फोटो पोस्ट गर्न पाउने जनाएका छन् । त्यसरी पोस्ट गर्दै सामाजिक सञ्जालमा लेख्नेमध्येबाट गोला प्रथा गरी विजेता घोषणा गरिनेछ । प्रतियोगितामा सहभागी सय जनाले फिल्मको विशेष शोको टिकट पाउने पनि बताइएको छ । 

गोल्छा अर्गनाइजेसनका शेखर गोल्छासमेतको प्रत्यक्ष सहभागितामा निर्माण भएको यो फिल्ममा बुबा र छोराको कथालाई प्रस्तुत गरिएको छ । फिल्मको प्रमुख भूमिकामा अभिनेता नीर शाह देखिएका छन् । 'सक्किगोनी'का दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेको यो फिल्मको ट्रेलर केही दिनअघि सार्वजनिक गरिएको थियो । 

फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्य, आरभजंग अधिकारीको अभिनय छ । 

कान्तिपुर

Link copied successfully