१० औं दिनमा 'जेरी अन टप'ले कमायो १२ करोड 

फिल्म त्रिकोणात्मक प्रेममा आधारित ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

'Jerry on Top' earns Rs 120 million on 10th day

काठमाडौँ — असोज ३१ बाट प्रदर्शनमा आएको फिल्म 'जेरी अन टप'ले प्रदर्शनको दशौं दिन १२ करोडको व्यापार गरेको छ । अनमोल केसी अभिनीत यो फिल्मले नेपाल र विदेश प्रदर्शनबाट यो व्यापार गरेको निर्माण पक्षले जनाएको छ । 

निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शनको नवौं दिन एकैपटक १ करोडमाथिको व्यापार गरेको थियो । निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँको व्यापार गरेको हो । फिल्मले प्रदर्शनको दोस्रो सातामा पनि हाउसफूल दर्शक प्राप्त गर्दा निर्माण टोली दंग देखिन्छ । 

'१० दिनमा १२ करोड । खास उपलब्धि त हजुरहरूबाट प्राप्त प्रेम नै हो । जेरी अन टपलाई विशेष बनाइदिनु भएकोमा धन्यवाद,' अनमोलले खुसी हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'यो खासमा तपाईंहरूकै अटुट साथ र आशीर्वादकै उपहार हो ।' 

प्रेमकथामा आधारित यो फिल्ममा अनमोलसँगै आँचल शर्मा र जसिता गुरुङ, अभिनेता भुवन केसी, चर्चित हास्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारको अभिनय छ । फिल्मलाई दुलिप रेग्मीले खिचेका हुन् ।

कान्तिपुर

Link copied successfully