राष्ट्रिय लघु चलचित्र महोत्सव : ‘संगिनी’ उत्कृष्ट फिल्म, राज सरगम उत्कृष्ट निर्देशक

महोत्सवमा नौ लघु चलचित्र प्रतिस्पर्धी थिए ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

National Short Film Festival: 'Sangini' Best Film, Raj Sargam Best Director

What you should know

काठमाडौँ — हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको 'राष्ट्रिय लघुत्तम् चलचित्र महोत्सव'मा उत्कृष्ट लघु फिल्म 'संगिनी' भएको छ भने उत्कृष्ट निर्देशक 'कलर अफ टी'का निर्देशक राज सरगम भएका छन् ।

बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको हो । महोत्सवमा नौ लघु चलचित्र प्रतिस्पर्धी थिए ।

प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिस्पर्धाका लागि नौ चलचित्र छानिएको हो । उनले भने, 'गुरु हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरिएको हो । यो महोत्सवले नयाँ भाइबहिनीलाई इनकरेज गर्नेछ।'

उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित 'संगिनी', राज सरगम निर्देशित 'कलर अफ टि', सुरेश पोर्तेल निर्देशित 'अन्तिम राप' भएका छन् । जसलाई प्रतिष्ठानले नगद १ लाख, ५० हजार र २५ हजार र सम्मान—पत्रले सम्मान गरेको हो । त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मान पत्र दिएको थियो ।

रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठको निर्णायक टोलीले निर्णय गरेको थियो । त्यसैगरी प्रतिष्ठानले नाट्यसंगीत तथा पत्रकारितामा योगदान पुर्‍याउन स्रष्टालाई सम्मान गरेको थियो ।

प्राध्यापक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मिरा राणा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्रले सम्मानित गरेको हो । मन्त्री खरेलको व्यक्तित्वमाथि लेखक, निबन्धकार दीपक सापकोटाले व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्षबारे चर्चा गरे । उनले भने, 'पत्रकार जगदीश खरेलले चलाउने 'हट सिट' कार्यक्रमले नेपाली समाजमा बहस सिर्जना गरेको थियो । राज्य सञ्चालन गर्नेहरुलाई गम्भरी तयार गर्न बाध्य बनाउँदै आएको थियो ।'

त्यसैगरी गायक धिरज राई, गायिका मिरा राणाको व्यक्तित्वमाथि कलाकार तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटा र कलाकार रवीन्द्र खड्का प्रष्टाएका थिए । गायक राई युरोपका सहरमा 'बुद्ध वाज बर्न' भन्दै विश्वमा बुद्ध चिनाउन हिँडिरहेका अभियन्ता हुन् । उनका दर्जनौं गीत हिट छन् ।

पाँच दशकदेखि सांगीतिक क्षेत्रमा बिताएकी राणाले विभिन्न भाषा र नेपाली चलचित्रका लागि पनि गाएकी छन् । पुरस्कार ग्रहण गरिसकेपछि मन्त्री खरेलले आफूले गलत काम नगर्ने प्रतिबद्धता गरे । उनले भने, 'मैले जानेर बुझेर कुनै काम गर्ने छैन । तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन । मलाई नागरिक सरकारले मन्त्री बनाएको हो । तपाईंहरूले डोर्‍याएको बाटो हिँड्ने छु ।' उनले कार्यक्रममा तीन महिनापछि त जाने दिन नै हुन्छ भन्दै जोडे, 'जेन–जी आन्दोलनले दिएको म्यान्डेट पूरा गर्नुछ ।' मन्त्री खरेलले आफू गायक कलाकार बन्न नसके पनि पत्रकारितामार्फत कल्याणी रिमालको विरासतलाई पछ्याएको बताए । मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुन अगाडि नै गरेको थियो ।

असोजको २ गते गरिने भनिएको कार्यक्रम जेन–जी आन्दोलनका कारण पछाडि सरेको थियो । प्रतिष्ठानको अवस्थाको बारेमा प्रयागराज भट्टराई वशिष्ठले प्रष्टाएका थिए । आजसम्म सरकारी तबरबाट सहयोग नपाएको बताउँदै भने, 'प्रतिष्ठानले अहिले पनि कसैसँग पैसा लिएको छैन । हरिप्रसाद रिमालले पाएको पुरस्कारहरूबाट पाएको पैसालाईं कोषका रूपमा उभ्याएर प्रतिष्ठान स्थापना गरेको हो।'

भाषा साहित्य क्षेत्रमा लामो योगदान पुर्‍याएका प्रध्यापक डाक्टर वासुदेव त्रिपाठी यस्ता प्रतिष्ठानहरूलाई बचाईराख्न नयाँ पुस्तालाई पनि सँगसँगै लैजानु पर्ने बताए । उनले पुरस्कृत स्रष्टा तथा प्रतिस्पर्धाका लागि सहभागी चलचित्र निर्देशक, कलाकारलाई शुभकामना तथा बधाई दिए । उनले भने, 'हरिप्रसाद रिमाल र कल्याणी रिमालको नाममा स्थापित यो प्रतिष्ठानले नयाँ पुस्तालाई हौसला दिने काम गरेको छ ।' कार्यक्रममा ९४ वर्ष लागेकी हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो ।

कान्तिपुर

Link copied successfully