शाहरुख, विक्रान्त र रानीको यो पहिलो नेशनल अवार्ड
काठमाडौँ — अभिनेता शाहरुख खान, विक्रान्त मेस्सी र अभिनेत्री रानी मुखर्जीले भारत सरकारले प्रदान गर्दै आइरहेको राष्ट्रिय फिल्म अवार्ड प्राप्त गरेको छ । भारतको यो प्रतिष्ठित अवार्ड यी तीन कलाकारको पहिलो अवार्ड हो ।
सन् २०२३ मा प्रदर्शनमा आएका फिल्ममार्फत 'अभिनय'को विधामा यी तीनले अवार्ड जितेका हुन् । अभिनेता खानले ३३ वर्षको अभिनय करिअरमा पहिलो पटक राष्ट्रिय 'नेसनल अवार्ड' जितेको भन्दै थुप्रैले उनको उपलब्धिको तारिफ गरेका छन् । खानले फिल्म 'जवान'बाट यो अवार्ड जितेका हुन् ।
त्यस्तै, अभिनेता विक्रान्तले निकै चर्चित फिल्म 'टुवेल्थ फेल'बाट यो अवार्ड जितेका हुन् । अभिनेत्री मुखर्जीले भने 'मिसेस च्याटर्जी भर्सेस नर्वे'बाट अभिनय विधाबाट राष्ट्रिय अवार्ड जितेकी हुन् । 'जवान'मा भारतको बेरोजगारी र किशानका मुद्दा उठाइएको थियो ।
रानी अभिनीत 'मिसेस च्याटर्जी भर्सेस नर्वे' भने सत्य घटनामा आधारित फिल्म हो । फिल्ममा आप्रवासी भारतीय दम्पती र उनीहरुका सन्तानको कथा समेटिएको छ ।
विधु विनोद चोपडा निर्देशित 'टुवेल्थ फेल'ले आईपीएस अफिसर मनोजकुमार शर्माको कथा समेट्छ । विक्रान्त फिल्ममा मनोज बनेका छन् । गरिब परिवारमा जन्मेका मनोजले भारतीय प्रहरी सेवाको अधिकृत बन्न कस्ता संघर्ष सामना गर्छन् भन्ने भूमिकामा विक्रान्तले गरेको अभिनयको निकै प्रशंसा भयो ।
