गत चैतमा यो गीतको अंश नेपाली दर्शकबीच सुनाइएको थियो ।
काठमाडौँ — उस्ताज गुलाम अली खानका तीन पुस्ताले गाएको नेपाली गीत 'गजल उनकै गीत उनकै' सार्वजनिक भएको छ । गीतमा गुलामसहित छोरा आमिर र नाती नाजिर अली खानको स्वर छ ।
गत चैतमा काठमाडौंमा प्रस्तुति दिँदै गर्दा अलीको तीन पुस्ताले मञ्चबाट यो गजलको छोटो अंश नेपाली दर्शकलाई सुनाएका थिए । हालै काठमाडौंमा कार्यक्रम गर्दै यो गीतसँग जोडिएका संगीतकर्मीले 'गजल उनकै गीत उनकै' बोलको गीतसहितको म्युजिक भिडियो सार्वजनिक गरेका हन् ।
गीतमा मनोज खड्काको शब्द छ भने मिलन मोक्तानको संगीत छ । किरण खरेलले एरेन्ज गरेको गीतमा कलाकारहरु दिपक घिमिरे र वर्षा कुँवरको अभिनय छ ।
गीतको भिडियोलाई संगीतकार मिलनले नै निर्देशन गरेका हुन् । सुवास लोकेन्द्रले खिचेको भिडियोमा अर्जुन खड्काको सम्पादन छ । लामो समयपछि उस्ताज अलीले नेपाली गीतमा स्वर दिएका हुन् । यसअघि उनले स्वर दिएको नेपाली गीत 'गाजलु ती ठूला ठूला', 'किन किन तिम्रो तस्बिर' दर्शकबीच चर्चित बनेको थियो ।
