यस पटक सिफारिस गरिएको फिल्म ‘अञ्जिला’ देश संकटमा हुँदा छानिएकाले नेपालको अस्कर छनोट समितिको यो चयनमाथि समीक्षा गर्दै नयाँ आवेदन पारदर्शी रूपले खुलाउन उजुरी पेस गरिएको हो ।
काठमाडौँ — सक्रिय फिल्मकर्मीको समूहले अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म समितिलाई नेपालको तर्फबाट यो वर्ष सिफारिस गरिएको फिल्मलाई रोक्दै त्यसमाथि समीक्षा गर्न उजुरी दिएको छ ।
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा आयोजित प्रतिष्ठित अस्कर अवार्डको ९८ औं संस्करणमा यस पटक सिफारिस गरिएको फिल्म ‘अञ्जिला’ देश संकटमा हुँदा छानिएकाले नेपालको अस्कर छनोट समितिको यो चयनमाथि समीक्षा गर्दै नयाँ आवेदन पारदर्शी रूपले खुलाउन उजुरी पेस गरिएको हो ।
यो उजुरी अस्करको अन्तर्राष्ट्रिय फिचर हेर्ने समितिलाई मात्रै नभई नेपाल चलचित्र विकास बोर्ड र नेपालको विदेशी अन्तर्राष्ट्रिय फिल्म छनोट समतिमा पनि पेस गरिएको छ । प्रस्ताव गरिएको उजुरीमा देश राष्ट्रिय संकटमा हुँदा, कर्फ्यु र सार्वजनिक सम्पत्तिमाथिको आक्रमणदेखि देशको प्रधानमन्त्रीले राजीनामा दिँदै गर्दाको क्षण निष्पक्ष प्रतिस्पर्धाका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ । ‘आवेदन दिने समय निकै छोटो थियो । धेरै फिल्मकर्मीले आवेदन बन्द भएपछि मात्रै यसबारे जानकारी पाए,’उजुरीमा लेखिएको छ,’समितिको भोटिङ सदस्यका रूपमा जीवन पराजुली छन्, जो अञ्जिला फिल्मको मिडिया कोर्डिनेटर पनि हुन् ।अर्का सदस्य चिरञ्जीवी गुरागाईंले त फिल्म पनि हेरेका छैनन् । त्यस्तै यो समितिको ६ जना सदस्य पनि सक्रिय फिल्मकर्मी होइनन् ।‘
समिति चयनकै नीतिमाथि छानबिन गर्दै नेपालको फिल्म सिफारिसका लागि ३० दिनको थप म्याद माग गरिएको छ । यो उजुरीमा फिल्मकर्मी दीपक रौनियार, समुन्द्र भट्ट, विनोद पौडेल, जोस्लिन ब्रायन्स, अभिनेता नाजिर हुसेन, निर्माता रामकृष्ण पोखरेल, समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमल्सिना, अभिनेत्री आशा मगराती, फिल्मकर्मी पूर्णसिंह बराइली, निर्देशक दीपेन्द्र लामा, निर्माता आमोद राई, निर्देशक नवीन सुब्बा, फिल्म विश्लेषक मनोज पण्डित, फिल्मकर्मी राजन कठेत, मनोजबाबु पन्तलगायतको हस्ताक्षर गरिएको छ ।
'राजागञ्ज' निर्देशक दीपक रौनियारले हालको निर्णय खारेज गर्न र नयाँ आवेदन खुलाउन आफूहरुले सम्बन्धित निकायमा उजुरी दिएको बताए । 'हाम्रो माग स्पष्ट छ—समितिले हालको निर्णय खारेज गरोस्, नयाँ आवेदन खुलाओस्, र पारदर्शी प्रक्रियामार्फत योग्य सबै फिल्महरू हेरेर निर्णय गरोस,'उनले भने ।
यसअघि नेपालको अस्कर छनोट समितिले 'अञ्जिला'लाई अन्तर्राष्ट्रिय फिचर फिल्मका लागि चयन गर्दा फिल्मकर्मीबीच चर्को आलोचना भएको थियो । 'गुन्योचोलो: द ड्रेस'की निर्देशक समुन्द्र भट्टले त पत्रकार सम्मेलन गर्दै गुनासो पोखेकी थिइन् ।
