'अभिमन्यू' पनि फूलपातीमै !

यो फिल्म आगामी फूलपाती अर्थात असोज १३ देखि प्रदर्शनमा आउने भएको निर्माण पक्षले सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । 

भाद्र ३१, २०८२

रीना मोक्तान

'Abhimanyu' is also in Phulpati!

What you should know

जेन-जी आन्दोलनका कारण प्रदर्शन स्थगन गरिएको फिल्म 'अभिमन्यू: च्याप्टर वान' प्रदर्शन आउने भएको छ । यो फिल्म आगामी फूलपाती अर्थात असोज १३ देखि प्रदर्शनमा आउने भएको निर्माण पक्षले सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ । 

भदौ २७ देखि प्रदर्शनमा आउने भनिएको यो फिल्म आन्दोलन र त्यसपछि विकसित राजनैतिक घटनाक्रमका कारण स्थगन गरिएको थियो । 

'भदौ २७ गते प्रदर्शनमा ल्याउने पूर्वनिर्धारित मिति तय गरिएको भए पनि देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै हामीले प्रदर्शन स्थगित गरेका थियौं । तर अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर हाम्रो चलचित्र उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यका साथ हामीले नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ,'विज्ञप्तिमा लेखिएको छ,’नेपाली भाषामा असोज १३ गते (फूलपातीको दिन)देखि देशभर तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन हुनेछ ।'

यो फिल्मको हिन्दी भर्सन भने असोज १७ देखि भारतमा तथा विश्वव्यापी रूपमा एकैसाथ प्रदर्शन आउने जनाएको छ । निर्माता विनोद पौडेल निर्धारित मितिमा फिल्मलाई प्रदर्शनमा ल्याउन नसक्दा फूलपातीमा आउने निर्णय गरिएको सुनाउँछन् । ‘हामी सोच विचार गरेर नै फूलपातीमा आउने निर्णय गरेका हौँ । कसैसँग जुध्ने र जुधाउने हाम्रो उद्देश्य होइन । हामी भदौ २७ मा आउँदा सोलो रिलिजको मौका पाएका थियौं । तर, परिस्थितिले हामीलाई असोज १३ मा ल्याइपुर्‍याएको हो,'उनले भने ।

यो फिल्मसहित बाँकी अन्य तीन नेपाली फिल्म पनि फूलपाती प्रदर्शन पर्खँदैछन् । यसबीच प्रदर्शन स्थगन गरिएको 'जारी २'ले भने नयाँ मितिबारे केही जानकारी गराएको छैन । आन्दोलनकै कारण प्रभावित प्रदर्शनरत नेपाली फिल्महरू हल खुलेसँगै आजदेखि प्रदर्शनमा आएका छन् । 

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully