हलहरू भोलिदेखि खुल्ने, दसैंमा आउँदैछन् यी फिल्म

क्षतिग्रस्तबाहेकका सञ्चालनमा ल्याउन मिल्ने हल भोलिदेखि नै सञ्चालनमा आउने तयारी छ । हलको छाता संगठन चलचित्र संघले भोलिदेखि नै हल सञ्चालनमा ल्याउने जनाइसकेको छ ।

भाद्र २९, २०८२

रीना मोक्तान

काठमाडौं — ‘बलिदान’ निर्देशक सन्तोष सेन नेपालमा जेन-जी आन्दोलन सुरु हुने एक दिनअघि मात्रै, पोस्ट प्रोडक्सनको काम फत्ते गर्न मुम्बई पुगेका थिए । तर, मुम्बई पुगेको भोलिपल्टै नेपाली युवाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा वास्तविक अर्थमा बलिदान दिएको खबरले सन्तोषलाई व्याकुल बनायो ।

यसबीच फिल्मको काम छाडेर, शोकमग्न देशको पीडामा उनी सरिक भए । फूलपातीको दिनदेखि ‘बलिदान’ प्रदर्शनमा आउँदैछ भन्ने भव्य चर्चा चलिसकेकै बेला, फिल्मको कथानक जसरी देशमा आन्दोलन र राजनीतिक घटनाक्रम बढ्न थाल्यो । देशको दिशा कता अगाडि बढ्ला ? अन्य नेपालीलाई झैं सन्तोषका लागि पनि प्रतीक्षाको विषय थियो । तर, अब भने देशले प्रधानमन्त्रीका रूपमा सुशीला कार्की प्राप्त गरेको छ । अन्तरिम सरकार पाएसँगै जनजीवन सामान्य दिशातिर फर्किएको छ ।

क्षतिग्रस्तबाहेकका सञ्चालनमा ल्याउन मिल्ने हल भोलिदेखि नै सञ्चालनमा आउने तयारी छ । हलको छाता संगठन चलचित्र संघले भोलिदेखि नै हल सञ्चालनमा ल्याउने जनाइसकेको छ । सामान्य दैनिकीतर्फ ढल्किरहेको अवस्थालाई मध्यनजर गर्दै निर्मातासमेत रहेका सेनले ‘बलिदान’लाई पूर्वनिर्धारित समयमै प्रदर्शनमा ल्याउने निर्णय गरेको छ ।

‘देशमा आन्दोलन भइरहँदा, फिल्म प्रदर्शनको कुरा गर्नु नै बेकार थियो । त्यतिबेला त देश नै कहिले सामान्य हुने हो भन्ने प्रतीक्षा थियो । फिल्म भन्दा त पहिले देश बन्न पर्‍यो, अनि मात्रै फिल्म बन्छ भन्ने थियो । तर, अहिले देशले राम्रो नेतृत्त्व पाइसकेपछि आशा जागेको छ,’निर्देशक सेनले भने,’अब देश पनि राम्रोसँग अगाडि बढ्छ । चलचित्र क्षेत्रलाई अगाडि बढाउनुपर्छ भन्ने जिम्मेवारीसहित हामीले निर्धारित समयमै बलिदानलाई ल्याउँदैछौं ।‘ 

यसबीच थुप्रै व्यवसायले आफूहरू भग्नावशेषबाट  उठ्ने घोषणा गरिसकेको हुँदा फिल्म क्षेत्रले पनि सो बाटो समाएको सेनले बताउँछन् । ‘अहिलेको दुर्घटना बिर्सनै नसकिने शोक हो । तर, अब पीडामै अलमलिएर हुँदैन । व्यवसायतिर पनि फर्कनुपर्छ । अन्यायमा परेकाले न्याय पाउनुर्छ । देश सामान्य दैनिकीमा फर्कँदा फिल्म क्षेत्रलाई चलायमान बनाउन पनि हामीले फिल्म प्रदर्शनमा ल्याउने सोचेका हौं । हामी नै पछाडि हट्यौं भने फिल्म क्षेत्र कसरी चलायमान बन्ला ?,’प्रश्न गर्दै सेनले भने ।

अन्य व्यवसायीले जनतालाई सेवा सुविधा दिने प्रतिबद्धता गरिसकेको हुँदा मनोरञ्जन दिने जिम्मेवारी बोधसहित आफूहरूले फिल्म प्रदर्शनको तयारी थालेको सेन थप्छन्,’हाम्रो जिम्मेवारी फिल्मको माध्यमबाट मनोरञ्जन दिनु हो । हामीले त्यही मनोरञ्जन दिने सुविधालाई सुरु गर्ने सोचेका छौं ।‘

सेनले भने अनुसार ‘बलिदान’को पोस्ट प्रोडक्सनको काम अब ४/५ दिनमै सकिन्छ। निर्माण टोलीले फिल्मको ट्रेलर यही हप्ता सार्वजनिक गर्दैछ । ‘बलिदान’सँगै एउटै मितीमा प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ले पनि हलमा फिल्म लगाउने योजनासहित ट्रेलरलाई यही हप्ता बजारमा ल्याउँदैछ । देशको अवस्था अस्थिर देखिए पनि अन्योलबीच पनि फिल्म सञ्चालनमा ल्याउने तयारी चलिरहेको निर्माता रोहित अधिकारीले सुनाए ।

‘अब सबैले आ-आफ्नो क्षेत्रलाई चलायमान त बनाउनै पर्‍यो । त्यसैले हामीले पनि फिल्मलाई पूर्वनिर्धारित समयमै प्रदर्शनमा ल्याउने तयारी गरेका हौं । दसैंको यो ठूलो चाडमा फिल्म ल्याउने भनेर हामीले डेढ वर्षदेखि नै सोचेका थियौं । त्यसैले हामी फिल्मलाई फूलपातीमै ल्याउँदैछौं,’निर्माता अधिकारीले भने,’देश अहिले शोकमा पनि छ । शोकमा डुबेको बेला मनोरञ्जनलाई चासो नदेलान् भन्ने हो । तर, दसैंजस्तो चाडमा मनोरञ्जन त चाहियो । शोकबाट माथि पनि उठ्नु पर्‍यो ।‘ रोहितका अनुसार फिल्मको सबै पोस्ट प्रोडक्सनको काम सकिसक्यो ।

फूलपाती आउन मात्रै १४ दिन बाँकी छ । यो अवधिमा अन्य फिल्मको व्यापार, दर्शकको चहलपहल हेर्ने रोहितको तयारी रहेछ । यसबीच फूलपाती लक्षित फिल्मले मात्रै होइन, घटस्थापनामा प्रदर्शनमा आउने तयारी रहेको फिल्मले प्रचार थालिसकेको थियो । तर, घटस्थापनादेखि प्रदर्शनमा आउने भनिएको ‘जारी २’ले देशको वर्तमान अवस्था नियाल्दै प्रदर्शन स्थगन गर्‍यो ।

जेन-जी आन्दोलन मात्रै नभई सामाजिक सञ्जालले यसबीच प्रदर्शनमा आउने तयारी गरिरहेका फिल्मलाई असर पुर्‍याएकै थियो । तर, प्रदर्शनको ३ दिनअघि आन्दोलन सुरु हुँदा कामेश्वर चौरसियाको फिल्म ‘अभिमन्यू’ले पनि स्थगनकै बाटो समायो । यसबीच हलमा प्रदर्शनरत फिल्म रोकिए । आन्दोलनमा बिराटनगरको भाटभटेनीमा रहेको क्यूएफएक्सदेखि काठमाडौंको लोत्से मलमा रहेको आइएनआई, भक्तपुरको क्युएफएक्स, अष्टनारायणलगायत बुटवलकै हलमा क्षति पुग्यो । विराटनगरको हल त, भाटभटेनीसँगै कुनै अवशेष नरहने गरी जल्यो । हल मात्रै नभई प्रदर्शनको तयारीमा रहेको फिल्मलाई पनि आन्दोलनले असर पुर्‍याएको निर्माता अधिकारी बताउँछन् । 

‘हाम्रो फिल्मलाई पनि धेरै नै असर पुर्‍यायो । एक हिसाबले फिल्मको प्रचार धेरै नै भइसकेको थियो । हलदेखि बजारमा होर्डिङ बोर्ड लगाइसकेका थियौं । महानगरपालिका र विधुत प्राधिकरणलाई ठूलो रकम तिरेर काठमाडौंका २ सय ५० पोलमा पोस्टर टाँसिसेका थियौं । लगभग ३० लाख जति प्रचारमा मात्रै खर्चिसकेका थियौं,’अधिकारीले भने,’प्रचार व्यापाक चलिरहेकै बेलामा देशमा यस्तो आन्दोलन भयो । आन्दोलनले गर्दा त्यो होर्डिङ बोर्ड, फिल्मको प्रचार सामाग्रीबाट दर्शकको ध्यान अन्तै मोडिदियो । तर, हामी फेरि जुर्मुरिएका छौं ।‘ फिल्म प्रदर्शन हुनुअघिको यो २ हप्तालाई प्रचारकै लागि रोहितको टिमले छुट्याएको छ । 

यो वर्ष फूलपातीमा ‘बलिदान’ र ‘माइतीघर’सँगै अर्को फिल्म पनि प्रदर्शनमा आउँदैछ । त्यो हरिवंश आचार्य अभिनित ‘हरिबहादुरको जुत्ता’ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले पनि ‘फूलपाती’लाई नै प्रदर्शनको मिति तय गरेका छन् । जनजीवन सामान्य बन्दै जाँदा निर्माण टोलीले फिल्मलाई फूलपातिमै ल्याउने तयारी गरिरहेको निर्माता सरोज ओलीले सुनाए ।

‘हल खुल्ने भइसक्यो । हामीले फिल्मलाई तय गरेको मितिमै ल्याउँदैछौं । हामीले यसअघि पनि फिल्मलाई यहि मितिमा ल्याउने तयारी सहित प्रचार गर्न थालिसकेका थियौं,’निर्माता ओलीले भने,’अब त फिल्म प्रदर्शन गर्न पनि १४ दिन बाँकी छ । यो बीचमा जनता घर जान थाल्छन्, यो दु:खलाई पनि बिर्सँदै जानुहुनेछ । त्यसैले हामीले फिल्म तोकिएको समयमै प्रदर्शन गर्दैछौं ।‘  

ओलीका अनुसार ‘हरिबहादुरको जुत्ता’, पोस्ट प्रोडक्सनको सबै काम सकेर प्रदर्शनको लागि तयार अवस्थामा छ । ‘फिल्मको काम लगभग सकिसकेको थियो । हामी त पहिल्यैदेखि फिल्म तयार गरेर प्रदर्शन पर्खिरहेका थियौं,’सरोजले भने,’माहोल आजबाट सामान्य बनिसक्यो । हो, आन्दोलनमा कतिका कोख रित्तिए, रक्तपात भए । त्यसले हामीलाई पनि दुखायो । तर अब त दर्शक पनि सामान्य जीवनमै फर्कनुहुन्छ । त्यो घट्नाबाट राहत खोज्न पनि उहाँहरु हलसम्म आउनुहुन्छ भन्ने लागेको छ ।‘ 

प्रदर्शनरत फिल्म पुन: हलमा लाग्ने

nnnजेन-जी आन्दोलन सुरु हुँदै गर्दा भदौ १३ देखि प्रदर्शनमा आएको फिल्म ‘गुन्योचोलो: द ड्रेस’ हलमै प्रदर्शनरत थियो । तर, आन्दोलन चर्किँदा फिल्मको प्रदर्शन ठप्प बन्यो । हल संचालनमा आउने भएपछि फेरि नाजिर हुसेनको मुख्य भूमिका रहेको फिल्म प्रदर्शनमा आउने भएको छ । ‘मलाई त आन्दोलनमा कलिला नानीहरु बन्दुकले ढलेको दृश्य देख्दा हलमा फिल्म छ भन्ने पनि ध्यान भएन,’गुन्योचोलोका निर्देशक समुन्द्र भट्टले भनिन्,’कति दिनसम्म देशकको अवस्थाले पिरलिरह्यो । हिजो मात्रै फिल्म वितरकले हलमा फिल्म फेरि लगाउने भन्नु भयो । अब हामीले फेरि फिल्मलाई हलमा लगाउने भएका छौं ।‘

फिल्मले दर्शकबाट सकरात्मक प्रतिक्रिया बटुलिरहेकै बेलामा जेन-जी आन्दोलन हुँदा प्रदर्शनरत ‘गुन्योचोलो: द ड्रेस’ मात्रै नभई, ‘माग्ने राजा’देखि ‘मोहर’, ‘कोशेढुङ्गा’को प्रदर्शन प्रभावित बन्यो । तर, अब यी फिल्मलाई पनि पुन प्रदर्शनमा ल्याउने तयारी चलेको छ । ‘माग्ने राजा’का लेखक एवं समीक्षक समाजका अध्यक्ष सामिप्यराज तिमेल्सिना फिल्मलाई हलमा ल्याउने तयारी रहेको सुनाउँछन् ।

‘अब आन्दोलनले फिल्म असर गरेन भन्नै मिल्दैन । खासमा हलमा फिल्म हेरिरहेको दर्शकको फ्लो यो बीचमा टुट्यो । अहिले त देशमै के होला भन्ने चिन्ता छ । अहिले मनोरञ्जनका लागि हलमा जाने मूड छैनजस्तो लाग्छ,’तिमेल्सिनाले भने,’तर अब हामी फिल्मलाई पुन: प्रदर्शन गर्दैछौं ।‘ उनका अनुसार प्रदर्शनको १४औं दिनमा ‘माग्ने राजा’को प्रदर्शन हल बन्द भएसँगै बन्द भएको थियो । त्यतिबेलासम्म पनि फिल्मले ५८ सो प्राप्त गरिरहेको थियो । तर, आन्दोलन र विकसित घटनाक्रमले प्रदर्शनरत आफ्नो मात्रै नभई अन्य फिल्मलाई पनि असर गरेको लखेक तिमल्सेनाले बताए । 

प्रदर्शनको तेस्रो दिनमै प्रदर्शन ठप्प भएको फिल्म ‘रिमै’ पनि प्रदर्शनमा आउँदैछ । ‘फिल्म हलमा लाग्दा त यस्तो होला भनेर सोचेकै थिएन । एकदमै राम्रो प्रतिक्रियासहित हलमा फिल्म चलिरहेको थियो। पोखरा, चितवन, बुटवलका दर्शकले फिल्मलाई निकै रुचाइरहनु भएको थियो,’रिमैका निर्देशक खिलबहादुर गुरुङले भने,’तर, बीचमा आन्दोलन भयो । माहोल नै अर्कै भयो । देशको अवस्था पनि यस्तो छ । यस्तो दु:ख अवस्थामा पनि आफ्नो कर्म त गर्नै पर्‍यो । त्यसैले हाम्रो फिल्म भोलिदेखि हलमा लाग्दैछ ।‘

निर्देशक गुरुङका अनुसार रिमैमा डेढ करोडको लगानी भएको छ । अब आन्दोलनको प्रभावसँगै पुन: प्रदर्शनमा आउँदा फिल्मको लगानी उठ्ने हो/होइन टुंगो छैन । ‘हामी हाम्रोतर्फ बाट फेरि दर्शकलाई हलसम्म ल्याउने तयारी गर्दैछौं । अस्तिकै फ्लोमा दर्शक आउनु भएको भए लगानी पनि उठ्ने थियो । आशा गरौं,’निर्देशक गुरुङले भने । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully