चलिरहेका फिल्हरू बन्द, 'जारी-२' पनि सर्‍यो

आगामी असोज ३ बाट रिलिज हुने भनिएको उपेन्द्र सुब्बा निर्देशित 'जारी २' पनि अहिलेको माहोलका कारण स्थगित भएको छ ।

भाद्र २८, २०८२

समर्पण श्री

काठमाडौं — nयतिबेला देशभरका हलहरूमा फिल्हरू ठप्प छन् । गत भदौ २३ को जेनजी आन्दोलन र त्यसपछिको कर्फ्युपछि नेपालमा प्रदर्शन भइरहेका नेपाली फिल्महरू समेत रोकिए । २० गतेबाट देशभर प्रदर्शन आएको खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’ प्रदर्शनको तीन दिनमै प्रदर्शन रोकियो । प्रदर्शन रोकिंदा फिल्मको व्यापारमा समेत क्षति पुगेको छ ।

फिल्मका अभिनेता दयाहाङ राईले अब फिल्म कहिलेबाट पुनः रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ‌। 'फिल्म आन्दोलन र देशको पछिल्लो माहोलका कारण कारण रोकिएको छ । अब रि रिलिज कहिले गर्ने भनेर छलफल भइरहेको छ,' उनले भने । 

सन्तोजनक व्यापार गरिरहेको ऋषि लामिछाने निर्देशित फिल्म 'माग्ने‌ राजा' पनि रिलिजको १४औं दिनमा प्रभावित बन्यो । फिल्मका लेखक सामिप्यराज तिमल्सेनाका अनुसार फिल्मले १४औं दिनमा पनि व्यापार राम्रो गरिरहेको थियो । ' हाम्रो अझै ५०/६० शो थियो । रोकिएपछि बक्स अफिसको व्यापार पनि बन्द भयो,' उनले भने । 'माग्ने राजासँगै रिलिज भएको फिल्म 'जनै हराएको मान्छे'ले पनि ५०/६० शो पाइरहेको थियो । 

एकै दिन रिलिज भएका दुई फिल्म 'गुन्युचोलो' र सरोज पौडेल निर्देशित 'कोसेढुंगा' पनि प्रभावित बने । प्रदर्शन मै आइरहेको फिल्म 'मोहर' पनि आन्दोलनका कारण प्रभावित भयो । 

'अभिमन्यु' र 'जारी २' पनि सरे

nयदि अवस्था सामान्य हुन्थ्यो भने गत शुक्रबारबाट फिल्म 'अभिमन्यु' प्रदर्शनमा आउने थियो । तर देशमा जारी निषेधाज्ञा र कर्फ्युका कारण फिल्म प्रदर्शन हुन सकेन ।  केही दिनअघि  निर्माता कम्पनी सेभेन सिज सिनेमाले विज्ञप्ति जारी गर्दै  तोकिएको समयमा फिल्म प्रदर्शनमा नआउने जनाएको थियो ।  ‘यस दुःखद घडीमा चलचित्र सार्वजनिक गर्नु नैतिक र भावनात्मक दृष्टिले उचित नहुने ठानेर हाम्रो आगामी चलचित्र पूर्वनिर्धारित मितिमा ल्याउन नसक्ने निर्णय गरेका छौं,' निर्माता विनोद पौडेलले भनेका थिए । अब फिल्म कहिले रिलिज गर्ने भन्नेबारे टुंगो लागिसकेको छैन ।

आगामी असोज ३ बाट रिलिज हुने भनिएको उपेन्द्र सुब्बा निर्देशित 'जारी २' पनि अहिलेको माहोलका कारण स्थगित भएको छ । फिल्मका निर्माता रामबाबु गुरुङका अनुसार तोकिएको मितिमा फिल्म नआउने निश्चित भएको छ । 'हाम्रो फिल्मको उद्देय दर्शकलाई मनोरन्जन दिनु हो । अहिले सिर्जित यो माहोलमा कोही पनि फिल्म हेर्ने अवस्थामा हुँदैनन् । हामी वितरकसंग छलफल गरेर उपयुक्त समयमा फिल्म रिलिजको मिति तोक्छौं, ' निर्माता गुरुङले भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully