सरकारले जेन–जीको भ्रष्टाचारविरुद्धको लडाइँलाई सम्बोधन गर्दै वार्तामार्फत समाधान खोज्नुपर्ने जरुरी भएको कलाकारले धारणा राखेका छन् ।
काठमाडौँ — कलाकार हरिवंश आचार्य राजनीतिदेखि कर्मचारीतन्त्रमा भएको भष्ट्राचारी, देशको विद्यमान बेरोजगारीले जेन-जीलाई आन्दोलन गर्न बाध्य बनाएको धारणा राख्छन् ।
आन्दोलनलाई सम्बोधन गर्न देशमै रोजगारी सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । 'आफ्नै देशमा टिक्नका लागि रोजगारी चाहियो । विदेश जान कडाइ हुँदै गएको छ, बस्न त सबैलाई आफ्नै देशमा बस्न मन हुन्छ । सरकारले देशमै काम पाइन्छ भनेर विश्वास दिलाउनु पर्यो,' उनी भन्छन्, 'रोजगारी अभिवृद्धि, कृषिमा आकर्षण कसरी गराउने ? नेपाली किसान दुब्लाउने र विदेशी किसानी मोटाउने काम कसरी बन्द गर्ने भन्नेतर्फ सरकारले ध्यान दिनुपर्यो ।’ कुनै चिज धेरै हेरिसकेपछि वाक्क लाग्ने प्रसंग जोड्दै उनी थप्छन्, ‘३५ वर्षसम्म एउटै अनुहार हेर्नुपर्ने भयो । जेनजी यही पात्र परिवर्तन भएको हेर्न चाहन्छन् ।’
सरकारले भष्ट्राचार न्यूनीकरणमा कदम चाल्नुपर्ने उनको ठम्याइ छ । 'अबको दिनदेखि भष्ट्राचारीहरुको मोरल डाउन कसरी गर्न सकिन्छ ? सरकारले सोच्नुपर्छ । भष्ट्राचार न्यूनीकरण गर्छौं भनेर सरकारले जेनजीलाई विश्वास दिलाउनुपर्छ,' उनी भन्छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई पनि तुरुन्तै खुलाउनुपर्नेमा उनले जोड दिए । 'सामाजिक सञ्जालमा आस्रित १० औं हजार बेरोजगार भएका छन् । सामाजिक सञ्जाल यसरी बन्द गर्नुको साटो विकल्प दिनु पर्थ्यो । चाडबाडको बेलामा बन्द गर्दा त्यसले त व्यवसायदेखि सबैलाई असर पार्छ । त्यसैले सञ्जाल सूचीकरण गर्न पहलको कदम सरकारले नै चाल्नुपर्छ,' हरिवंश भन्छन् ।
अभिनेता दयाहाङ राईले जेन–जी आन्दोलनलाई सम्बोधन गर्न सरकारले वार्ताको बाटो समात्नुपर्ने बताउँछन् । 'सबैभन्दा ठूला सम्भावना नै वार्ता हो । नेतृत्त्वसँग वार्तामा बस्ने, आफ्नो मागहरु टेबलमा राख्ने अनि समन्वय गरेर अगाडि बढ्नुपर्छ । यो व्यवस्थालाई व्यवस्थित गर्ने, भष्ट्राचार व्यवस्थित गर्ने उनीहरुको कुरा छ । नेताको मात्रै नभइ व्यापारी, कर्मचारीभित्रको भष्ट्राचार कसरी व्यवस्थित गर्ने भन्ने जेनजीको चासो सही हो,' उनी भन्छन्, 'त्यसलाई व्यवस्थित गर्न नेतृत्त्व सजक हुनुपर्यो ।' आन्दोलनमा भएको वितण्डा जेनजीको चाहनाविपरीत भएको पनि दया सुनाउँछन् । 'आज जुन डिजास्टर भयो, सायद यो उनीहरुको चाहना थियोजस्तो लाग्दैन,'दया थप्छन्, 'त्यसैले सरकारले उनीहरुको मागलाई चासो दिनुपर्यो ।'
अभिनेत्री सुरक्षा पन्त हरेक कालखण्डमा वितृष्णासहित युवा आन्दोलनमा उत्रने गरेको बताउँछिन् । प्रजातान्त्रिक व्यवस्थामा जेन–जीले प्रगतिशील व्यवस्था चाहने गरेको उनको धारणा छ । 'हरेक कालखण्डमा एउटा-एउटा वितृष्णा बोकेर एउटा-एउटा समूह आउनु सामान्य कुरा हो । पहिला पनि एउटा पुस्ता आएको थियो, सायद त्यतिबेला सामाजिक सञ्जाल थिएन । भष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको मुद्दा बोकेर उहाँहरु हिँड्नुभयो । तर, योजना, नेतृत्त्व नहुँदा घूसपैठ हुने सम्भावना हुन्छ,' उनी भन्छिन्, 'एउटै दिनमा विफल हुने भन्ने होइन, सडकमा आउँदैमा सफल हुन्छ भन्ने पनि होइन । जेनजीलाई नआत्तिन सल्लाह दिन चाहन्छु ।'
वार्ताका लागि सरकारले बोलाउँदा आफ्नो मुद्दालाई सही ढंगले पेस गर्न पनि सुरक्षा जेनजीलाई अनुरोध गर्छिन् । 'भष्ट्राचारको कुरा एकदमै भेग छ । भष्ट्राचार त जहाँतहीँ छ । व्यवस्थाकै कुरा मात्रै गरेर भएन । मनोवैज्ञानिक स्तरमा छिरिसकेको भष्ट्राचारी स्वभावलाई परिवर्तन गर्न सक्नुपर्यो,' उनी भन्छिन्, 'जेनजीको पियोर इनर्जी, इम्प्योर हुनु भएन ।'
अभिनेता खगेन्द्र लामिछाने जेन–जी पुस्ताले गरेको माग सरकारले यथाशीघ्र पूरा गर्नुपर्ने बताउँछन् । ‘हामीले लडेर ल्याएको लोकतन्त्र भ्रष्टाचार युक्त होस् भनेर हैन, भ्रष्टाचार मुक्त हुनुपर्छ भन्ने हो । अहिलेके जेनजीले यही कुरामा विद्रोह गर्नु एकदम जायज छ,’ उनी भन्छन् । अहिलेको राजनीतिक पार्टी र शासनबाट कोही पनि खुसी नभएको र नयाँ पुस्तामा व्यापक वितृष्णा फैलिएको उनको बुझाइ छ । ‘सत्ताबाट पोषित भएकालाई मात्र यो शासन ठीक छ । त्यसकारण आवाज उठ्नु नै थियो । यो पुस्ताले उठाएको छ । अहिलेको युगमा सामाजिक सञ्जाललाई बन्देज लगाएर शासन गर्न सम्भव पनि छैन,’ उनी थप्छन् ।
