दर्शकको मागसँगै नाटक ‘कर्तव्य’को नियमित शो थपियो

गुरुप्रसाद मैनालीको चर्चित कथा 'कर्तव्य'मा आधारित नाटक मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर) रातोपुलमा मञ्चनरत छ । दर्शकको मागअनुसार भदौ २१ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन बेलुकी ५:३० बजे नियमित शो थपिएको हो।

भाद्र २०, २०८२

कान्तिपुर संवाददाता

Due to the demand of the audience, the regular show of the drama 'Kartavya' was added

What you should know

काठमाडौँ — कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथामा बनेको नाटक 'कर्तव्य' को नियमित शो थपिएको छ । अक्षर र पानामा सीमित 'कर्तव्य' रंगमञ्चमा पुनर्जीवत आउँदा दर्शकहरुको माग बढेको हो । यससँगै नाटकको नियमति शो थपिएको नाटकका निर्देशक रंगमकर्मी पुष्पराज अवस्थीले जानकारी दिए ।

शनिबार (भदौ २१) गतेदेखि भदौ ३१ गतेसम्म बेलुका साढे ५ बजेको शो नियमित थपिएको हो । नाटक १ घन्टा १५ मिनेट अवधिको छ । यो नाटक यसअघि बुकिङका आधारमा विद्यालय एवं संघसंस्थाहरुलाई देखाइएको थियो । यसका साथै नियमति शोमा अफरसमेत राखिएको अवस्थीले जानकारी दिए । उनले भने, 'नाटकमा दाजुभाइको कथा छ । नियमित शोमा दाजुभाइ तथा दिदीबहिनी सँगै नाटक हेर्न आउनुभएमा एउटा टिकटले दुवै जनाले हेर्न पाउनुहुनेछ ।'

मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाइका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई रंगकर्मी पुष्पराज अवस्थीले नयाँ स्वाद दिएका छन् । त्यो हो–सुदूरपश्चिमको सेटिङ । नाटकका परिकल्पनाकार तथा निर्देशक अवस्थीले मैनालीको कथाका पात्र र परिवेशलाई टपक्क टिपेर सुदूरको डोटी पुर्‍याइदिएका छन् । उतैको जीवनशैली, उतैको रहनसहन । चाडबाडदेखि बोलीचाली पनि उतैको । गौरा गाउने महिलादेखि नेपथ्यमा बज्ने सुदूरका गीत-संगीतले नाटकलाई विशेष बनाएको छ । विद्यालयको पाठ्यपुस्तकमा कथा पढेका पाठकलाई नाटकले पक्कै पनि आनन्दित एवम् अचम्मित तुल्याउने छ ।

निर्देशक अवस्थी भन्छन्, 'यो नाटकमा मैले सुदूरपश्चिमको संस्कृति, गीत–संगीत र रीतिरिवाजलाई समेत समेटेको छु । विद्यार्थीहरूले किताबमा पढ्ने 'कर्तव्य'लाई मञ्चमा हेरेर अझै स्पष्ट बुझ्न सकून् भन्ने मेरो चाहना हो ।'

मैनालीको 'कर्तव्य' कथामा बाबुको देहवसान पछि दाजुभाइ पात्रहरूले आफ्नो व्यक्तिगत सुखलाई त्यागेर परिवार र समाजप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता अहिले उत्तिकै प्रासंगिक छ । यो चर्चित कथालाई नाटकमा ढाल्ने जिम्मा पाएका हुन् पुरु लम्सालले । उनी भन्छन् – 'मैनालीका कथाहरूको सहजता तिनको यथार्थमा छ । तर यही यथार्थलाई संवाद, अभिनय र मञ्च–शिल्पमार्फत प्रकट गर्नु नै ठूलो चुनौती थियो ।'

Due to the demand of the audience, the regular show of the drama 'Kartavya' was added

मञ्चमा कलाकारहरु रुविन सुनार, प्रदीप विश्वकर्मा, अन्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं, सविता तामाङ, सन्तोष ढकाल, अर्जुनहाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धिरेन कार्की, रश्मी गुरुङ र हिमा जिसीको अभिनय देख्न पाइनेछ । नाटकमा गायक भुवन दाहाल र जनक ताम्राकारको गीत-संगीत समावेश छ । नाटकमा भेषभूषाको काम अन्जना दुलालले गरेकी छन् भने प्रकाश व्यवस्थापनको काम सविता तामाङले गरेकी छन् । कोरियोग्राफी श्याम कार्कीको र संगीत परिचालनमा प्रदीप विश्वकर्मा र गोविन्दराज खड्का जुटेका छन् भने मञ्च व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएका छन् ।

१९५७ सालमा जन्मिएका मैनाली नेपाली कथालाई काल्पनिकता र उपदेशात्मकताबाट मुक्त गराएर यथार्थको धरातलमा उभ्याउने पहिलो साहित्यकार मानिन्छन् । उनका कथामा गाउँघरका पात्र, गरिबी, अन्धविश्वास, सामाजिक कुरीतिहरू र मानवीय संवेदनाहरूको यथार्थ चित्रण पाइन्छ ।

आदिइत्यादि, मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर)को संयुक्त प्रस्तुति स्वरूप यो नाटक भदौ ११ गतेदेखि मोनस्टर फिल्म एण्ड ओजस थिएटर(शैली थिएटर) काठमाडौंको रातोपुलमा मञ्चन भइरहेको हो ।

कान्तिपुर

Link copied successfully